२८ असोज, गुल्मी । दशैंका बेला खेलिने काठेपिङ हराउदै जान थालेको छ । काठबाट तयार गरिएको पिङ पछिल्लो समय आधुनिकतासँगै हराउदै जान थालेको हो ।
मेला महोत्सवमा ठूला खालका पिङहरु ल्याउने गर्नाले गाउँमा स्थानीय स्तरमै तयार पारिएको काठेपिङ हराउदै जान थालेको हो । तर पछिल्लो समय गुल्मी जिल्लाका केहि स्थानमा भने अझै पनि काठेपिङ देख्न सकिन्छ ।
गुल्मीको पश्चिम इस्मा, मालिका मदाने तिर अझै पनि काठबाट तयार गरिएको काठेपिङ भेटिन्छन् । यो पिङ दशैंका बेला खेलिने सराय नाच हुने स्थानमा खेल्ने गरिन्छ ।
यतिबेला गुल्मी जिल्लाका विभिन्न स्थानमा दशैंको टिकापछि सराय नाँच भइरहेका छन् । ती स्थानहरुमा व्यवसायीक रुपमै काठेपिङ लिएर हिड्ने गर्दछन् ।
दशैंका बेला हुँने रमाइलो मेलाहरुमा पछिल्लो समय काठेपिङ पनि पर्ने गर्दछन् । सराय नाँच हुने स्थानमा आयोजकले पनि काठेपिङ राख्ने व्यवस्था मिलाउने गरेका छन् ।
पुराना कलासंस्कृतिको संरक्षण गर्नु पर्छ भनेर केही ठाउँमा देख्न सकिन्छ । मौलिक कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएपनि यसप्रति चासो भएको पाइदैन।
अहिलेका पीडिले काठेपिङ भन्ने सुनेपनि धेरै जसोलाई यसबारेमा थाहा नभएकाले यसको संरक्षण गर्नुपर्ने इस्मा २ का अर्जुन नेपालीले बताए । उनले आधुनिकता सँगै हाम्रा पुराना मौलिका पनि हराउदै जान थालेको बताए।
काठेपिङ खेल्नेहरुले प्रति व्यक्ति पचास रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठेपिङ व्यवसायीहरुले दशैंको समयमा मात्रै चलाएर राम्रो आम्दानी गर्ने गर्दछन् ।
यो पिङ चलाउन आवश्यक जनशक्ति पनि चाहिन्छ । वर्षको एक दिन पिङ खेल्नु पर्छ भन्ने मान्यता पनि रहि आएको छ भने रमाइलोका लागि पनि पिङ खेल्ने गरिन्छ ।
प्रतिक्रिया 4