+
+

अपाङ्गताकै कारण जागिरबाट वञ्चित भएका सिजन राई (भिडियो)

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ कात्तिक ६ गते ८:००

काठमाडौं । खोटाङका सिजन राई स्नातक तहमा पढ्दै थिए । पढाइ खर्च जुटाउन उनी कामको खोजीमा थिए । तर उनले काम पाइरहेका थिएनन् । यस्तोमा एक दिन उनले साथी मार्फत नेपाल कृषि अनुसन्धान केन्द्रले आवेदन खुलाएको थाहा पाए ।

सिजनले त्यसमा आवेदन दिने निर्णय गरे । नेपाल कृषि अनुसन्धान केन्द्रमा आवेदन दिएर लिखित परीक्षा पनि कटाए । त्यसपछि पालो थियो अन्तर्वार्ताको । अन्तर्वार्ताका लागि उनले धेरै मेहनत गरेर राम्रै तयारी गरिरहेका थिए ।

अन्ततः अन्तर्वार्ताको दिन आयो । तयारी राम्रो गरेको हुनाले उनी आत्मविश्वासका साथ कृषि अनुसन्धान केन्द्र पुगे । अन्तर्वार्ता कक्षमा पसे, उनको अन्तर्वार्ता सुरु भयो ।

त्यहाँ अन्तर्वार्ता लिन बसेका एक जना पुरुषले उनलाई एक-दुईवटा प्रश्न सोधे । उनले त्यसको राम्ररी उत्तर पनि दिए । अन्तर्वार्ता लिने त्यस व्यक्तिले एकछिन रोकिएर सिजनलाई एक पटक तलदेखि माथिसम्म हेरे र भने- ‘यहाँ त खेतमा काम गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, कुटो कोदालो पनि गर्नुपर्छ । तपाईंले यो काम गर्न सक्नुहुन्न होला । अरु नै काम गर्नुस् ।’

अन्तर्वार्ता लिने मान्छेले भनेको कुरा सुनेर सिजन छाँगाबाट खसे झैं भए । शारीरिक रुपमा अशक्त भएकै कारण आफूले काम नै गर्न सक्दैन भनेको सुनेर उनी साह्रै निराश भएर त्यहाँबाट फर्किए । त्यो घटनाले उनलाई यति निराश बनायो कि त्यसपछि उनले सरकारी जागिरका लागि कहिले पनि आवेदन नै दिएनन् ।

सिजनले भोगेको यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । शारीरिक रुपमा अपाङ्ग भएकै कारण सिजन जस्ता धेरैले निकै समस्या भोग्नु परेको छ ।

जन्मेको लगभग डेढ महिनापछि सिजनको दुई खुट्टाको बीचमा पिलो आयो । पिलो पाकेर त्यसको घाउ बढ्दै गयो उनी ओछ्यानमा थला पर्दै गए । लगभग ६ महिनासम्म उनी ओछ्यानमा थला परे । त्यसपछि उनको विकास सामान्य बच्चाहरूको जस्तो भएन । अन्य बालबालिका लगभग दुई वर्षमा हिंड्न सुरु गर्छन् । तर सिजन भने चार वर्षको उमेरमा पनि चार हातखुट्टा टेकेर हिंड्न थाले ।

उनी ६ महिना ओछ्यानमा थला परेकै कारण उनको खुट्टाको विकास राम्ररी हुन पाएन । उनको खुट्टा लुलो र बाङ्गो हुँदै गयो । उनलाई हिंड्न असहज भएकै कारण उनले गाउँमा पढ्न सकेनन् । त्यसैले पढ्नका लागि काठमाडौंको कपनस्थित मामाघर आए । खुट्टाको समस्या निको हुन्छ कि भनेर उनको मामाले उनलाई विभिन्न अस्पताल पुर्‍याए । तर समस्याको समाधान भएन ।

पहिले गाउँमा हुँदा त अलि अलि भए पनि बल गरेर हिंडडुल गर्थे उनी । काठमाडौं आएर पढ्न थालेपछि त विद्यालय र घर नजिकै भएकाले हिंडडुल एकदमै कम हुँदै गयो र शारीरिक गतिविधि पनि एकदमै कम हुँदै गयो । हिंडडुल र शारीरिक गतिविधि कम भएका कारण उनको खुट्टा झन् झन् खुम्चिंदै गयो र बाङ्गो हुँदै गयो ।

विद्यालयमा सानो सानो कक्षा त भुईं तल्लामा नै हुने भएकाले उनलाई खासै समस्या भएन । तर उनी ठूलो कक्षामा पुग्दै गए कक्षाहरू पनि माथिल्लो तल्लामा सर्दै गए । दुई-तीन तल्ला उक्लिएर जान उनलाई साह्रै सकस हुन्थ्यो । विद्यालयको भौतिक संरचना अपाङ्गमैत्री नभएकाले उनलाई साह्रै असहज हुन्थ्यो ।

विद्यालयमा साथीहरूले उनलाई जिस्काउने गर्थे राम्ररी हिंड्न सक्दैन भनेर । साथै हेयको नजरले हेर्ने गर्थे । त्यसले उनलाई थप पीडा थप्थ्यो । यी विभिन्न परिस्थितिको सामना गर्दै जसोतसो मेहनत गरेर उनले एसएलसी उत्तीर्ण गरे ।

त्यसपछि उनलाई पत्रकारिता पढ्न मन लाग्यो । त्यसैले प्लस टुमा पत्रकारिता पढ्ने निर्णय गरे । तर परिवारले भने उनलाई पत्रकारिता नपढ्नु भनेका थिए । परिवारले भनेका थिए ‘पत्रकारिता गर्न सजिलो छैन, जनसुकै बेला बाहिर फिल्डमा निस्कनुपर्छ तिमीलाई हिंड्न नै गाह्रो छ । त्यसैले पत्रकारिता नपढ अरू नै विषय पढ’ । तर उनलाई पत्रकारितामा नै रुचि थियो त्यसैले त्यही विषय रोजे ।

सार्वजनिक यातायातमा यात्रा गर्न गाह्रो

खोटाङबाट उनको परिवार भक्तपुरमा बसाइँ सरेर आयो । अब उनी पनि परिवारसँग भक्तपुर कमलविनायक बस्न थाले । अब उनले आफ्नो बाँकी पढाइ पनि घर नजिक नै पढ्ने विचार गरे । तर भक्तपुरमा उनलाई पायक पर्ने कलेज भेटेनन् ।

त्यसैले उनी मित्रपार्कको पशुपति बहुमुखी क्याम्पसमा बिहानको सत्रमा स्नातक पढ्न भर्ना भए । भक्तपुर तेलकोटबाट आएको गाडीमा चढेर उनी कलेज पुग्नुपर्थ्यो । तर तेलकोटबाट नै कलेजका विद्यार्थीहरूले गाडी भरिएको हुन्थ्यो । त्यसैले गाडी एकदमै कोचाकोच भएर आएको हुन्थ्यो । त्यसैले धेरैजसो गाडीले त उनलाई देखेर रोक्दैन थिए । गाडी नरोकेर कलेज जान ढिलो हुँदा कहिलेकाहीं लिफ्ट माग्न मोटरसाइकल वा गाडीलाई हात दिंदा उनीहरूले पनि रोक्दैन थिए ।

भक्तपुरको एक-दुईवटा चिनेको गाडीले मात्र मलाई चिनेर गाडी रोक्थे । तर त्यो गाडी कुर्दा कुर्दा ढिलो भएर मेरो एउटा कक्षा नै छुटिसकेको हुन्थ्यो सिजन निराश हुँदै सुनाउँछन् ।

‘दैनिकजसो एउटा वा दुईवटा कक्षा छुटेको कारण शिक्षकहरूको गाली खानुपर्थ्यो । साथै कक्षा छुट्दा पढाइमा पनि असर पर्ने भइहाल्यो’ उनी सुनाउँछन्, ‘जहिल्यै आफ्नो एउटा कक्षा छुट्दा मलाई आफ्नो शारीरिक स्थिति देखेर साह्रै खिन्नता महसुस हुन्थ्यो ।’

अन्य बेला पनि कतै यात्रा गर्न वा कामको सिलसिलामा सार्वजनिक यातायात चढ्नु पर्दा समस्या नै हुन्छ । ‘कतिपय गाडीले त चढ्न समय लाग्छ भनेर हामीलाई देखेर गाडी नै रोक्दैनन् । कतिपयले गाडीले रोके पनि त्यहाँ सहज तरिकाले यात्रा गर्न मिल्दैन’ सिजन सुनाउँछन् ।

‘हाम्रो नेपालका धेरै बसहरू अपाङ्गमैत्री छैनन् । बसमा चढ्नका लागि खुड्किला उक्लिनुपर्छ । म जस्तो अलि अलि हिंड्न सक्ने व्यक्तिलाई त त्यसमा उक्लिन गाह्रो हुन्छ । झन् ह्वीलचेयर प्रयोग गर्नेहरूलाई कति गाह्रो हुन्छ होला’ उनी भन्छन् ।

यातायात अपाङ्गमैत्री नहुँदा त्यसले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, रोजगारी, मनोरञ्जन, स्वास्थ्य उपचार, मनोरञ्जन लगायत विभिन्न क्षेत्रमा असर गरेको हुन्छ ।

सिजन भन्छन्, ‘सामान्य व्यक्तिले जस्तै हामीलाई पनि पढ्न जानुपर्छ, काममा जानुपर्छ, कहिलेकाहीं घुम्न जान मन लाग्छ । अपाङ्गता भएको कारण हामी आफैं सवारी साधन चलाउन सक्दैनौं । यस्तोमा सार्वजनिक यातायात पनि चढ्न गाह्रो हुँदा हाम्रो दिनचर्यामा ठूलो असर गरेको हुन्छ । त्यसैले सरकारको ध्यान यो विषयमा जान जरुरी छ ।’

पछिल्लो समय साझा यातायातको बिजुली गाडी भने अपाङ्गमैत्री छ, ह्वीलचेयर प्रयोग गर्नेहरू पनि सजिलै चढ्न सक्छन् । साझा यातायात जस्तै अन्य गाडी पनि अपाङ्गमैत्री हुन जरुरी रहेको सिजन बताउँछन् ।

पारिवारिक भेदभाव

शारीरिक रुपमा अपाङ्ग हुँदा समाज र साथीभाइले गर्ने व्यवहार फरक भएको सिजनले महसुस गरेका छन् । कतिपय अवस्थामा भने परिवारले गर्ने व्यवहार पनि फरक हुन्छ । ‘हुन त अभिभावकलाई पनि सबल बच्चामा खर्च गर्न पाए यसले पछि मलाई पाल्छ, अशक्त बच्चामा खर्च गर्‍यो भने यसले केही गर्न सक्छ कि सक्दैन भन्ने लाग्छ होला । परिवारमा नै सन्तान बिच भेदभाव हुँदा झन् धेरै चित्त दुख्छ’ सिजन भन्छन् ।

अपाङ्गता भएका व्यक्तिलाई यसै पनि सामान्य व्यक्तिलाई भन्दा बढी परिवारको साथ र सहयोग चाहिन्छ । परिवारले साथ र सहयोग गरेको खण्डमा उनीहरूले पनि आफ्नो क्षमता अनुसारको काम गर्न सक्छन् । तर परिवारले नै केही गर्न सक्दैन भन्दा उनीहरूमा निराशा भरिन्छ ।

सिजन भावुक हुँदै सुनाउँछन्, ‘सबल छोराछोरीमा भोलिको भविष्य आजैदेखि देख्ने आमाबाबाले अपाङ्ग सन्तानको भविष्य नै देख्दैनन् । कमजसोले बुझ्लान् तर अधिकांशले बुझ्ने कोसिस समेत गर्दैनन् । के म अपाङ्ग भएर जन्मनु मेरो दोष हो ? मलाई मेरो जीवन जिउने अधिकार कसरी सुनिश्चित होला कसरी म मेरो जीवनलाई सुरक्षित बनाउन सकूँला ? मैले पढे तर मलाई मिल्ने काम पो कहाँ पाइएला ?’

समाजले हेर्ने दृष्टिकोण र भेदभाव

कोही पनि व्यक्ति चाहेर अपाङ्ग भएको हुँदैन । उसको अशक्तताले उसलाई पीडा दिइरहेको हुन्छ, त्यसमा झन् पीडा थपिदिने काम समाजले गरेको हुन्छ ।

सिजन सुनाउँछन्, ‘म गाउँमा हुँदा आफन्त तथा छिमेकीहरूले पूर्व जन्ममा पाप गरेका कारण यस्तो भएको भन्ने गर्थे । त्यो सुन्दा झन् धेरै ग्लानि महसुस हुन्थ्यो ।’

खुट्टा बाङ्गो भएका कारण सिजनलाई हिंड्न अप्ठेरो हुन्छ । अप्ठेरो गरी हिंडेको देखेर मान्छेहरू उनलाई अनौठो तरिकाले हेर्छन् । त्यसले थप अफ्ठेरो अवस्था सिर्जना गर्ने सिजन बताउँछन् । कतै कामका लागि जाँदा पनि पहिले नै के गर्न सक्छ होला र भन्ने गरेको पनि उनले धेरै सुनेका छन् ।

नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १८ को उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् भनिएको छ भने उपधारा (२) मा पनि उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा भेदभाव गरिने छैन भनिएको छ ।

भौतिक संरचना अपाङ्गमैत्री छैन

नेपालको धेरै भौतिक संरचना अपाङ्गमैत्री छैनन् । विद्यालय, अस्पताल, कार्यालय सबै सामान्य व्यक्तिका लागि उपयुक्त हुने किसिमका छन् । दैनिक कामकाजीका लागि घर बाहिर निस्कनैपर्ने अवस्था रहेपनि सडकदेखि लिएर सरकारी कार्यालय, शैक्षिक संस्थासम्म पुग्दा अनेक समस्या खेप्नुपर्ने बाध्यता छ । त्यसले पनि अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने सिजन बताउँछन् ।

बाटो पनि अपाङ्ग मैत्री छैन । हिंड्नका फुटपाथ राम्रो छैन जसले गर्दा हिंड्न नै समस्या हुन्छ । फरक क्षमता भएका व्यक्तिलाई पनि आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकार रहे पनि उनीहरूलाई मध्यनजर गरी सेवा सुविधा उपलब्ध गराउने वातावरण नहुँदा दैनिक जीवनयापनमा समस्या भोग्नुपरेको छ ।

ह्विलचेयर प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता, कृत्रिम अङ्ग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहीन, होचापुड्का लगायत अपाङ्गता भएका व्यक्तिको पहुँच पुर्‍याउन भौतिक संरचना भवन अपाङ्गमैत्री बनाइनुपर्ने सिजन बताउँछन् ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?