
कात्तिक ११, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनुरजोडा मुसहर बस्तीका ठकाई सदा जेठो र माइलो छोराको बिहे गरी बुहारी भित्र्याउन चाहन्छन् । उनका ९ सन्तानमध्ये ३ जना छोरा २० पारि भइसकेका छन्, त्यसैले पनि उनी घरमा बुहारीको पर्खाइमा छन् ।
जेठो छोरो २४ वर्ष, माइलो २२ वर्षीय अशोक र साइँला २० वर्षीय सरोज । ठकाईकी श्रीमती ४६ वर्षीया राजोदेवी सदा बेलाबेला बिरामी परिरहन्छिन् । चारवर्षदेखि जेठो छोरा रोशनको बिहे गर्न चाहेपनि कुनै मुसहरले उनको घरमा छोरी दिन चाहेका छैनन् । कारण हो–एक त साँघुरो घर, त्यसमाथि छोराहरुको नागरिकता नहुनु ।
‘म बिरामी परिरहन्छु । खाना पकाउन, घरधन्दा गर्न समस्या हुन्छ । खाना पकाउन सकिरहेको हुँदिन तर पनि जसोतसो मलाई नै गर्नुपर्छ’, राजो सदा दुखेसो सुनाउँछिन्, ‘छोराहरुको बिहे गर्न चाहन्छु । बिहेको कुराकानी चल्छ, अगाडि बढ्छ । तर अन्तिममा छोराहरुको नागरिकता नै छैन भन्ने थाहा पाएपछि बेटीबाला पछाडि हट्छन् । घरको समस्या त छँदै छ ।’
गत वर्ष मात्र १८ वर्षीया छोरी आशाको बिहे भयो । उनी आफ्नो घर गइन् । राजोले जेठो छोरा रोशनको बिहे गर्न चाहेको चार वर्ष भयो । उनको डेढधुर ऐलानी जग्गामा माथि जस्ता हालेको साँघुरो पक्की घर छ ।
राजोका अनुसार यो घर पनि चार वर्षअघि रेडक्रसले बनाइदिएको हो । वर्षासँगै आएको हावाहुरीले फुसको घर उडाएपछि परिवार संकटमा परेको थियो । हिलोमा बालबच्चाहरूको बिजोग देखेर दया लागेपछि सपहीकी पुनम भन्ने व्यक्तिको पहलमा रेडक्रसले पक्की घर बनाइदिएको राजो बताउँछिन् । उहिलेदेखि उनको परिवारलाई ठूलो राहत महसुस भयो । त्यसमै छ अन्नपात, लताकपडा, भान्छा । तर, बालबच्चाहरु बढ्दै जाँदा घर साँघुरो बन्यो ।
घरमा सबै अटाउँदैनन् । त्यस कारण ठकाई र तीन ठूला छोरा नजिक रहेको सार्वजनिक ढलान अथवा छिमेकीको घरमा ओत लागेर रात काट्छन् । ६ जनाको परिवार साँघुरो घरमै गुटुमुटु परेर रात बिताउने गरेको राजो बताउँछिन् ।
‘सानो घर छ । यसमै सबै सामान छ । बालबच्चा ठूलो हुँदै गएपछि सुत्न सबैजना अँट्दैनन् । त्यस कारण तीनजना छोरा र पति छिमेकको घर र सामुदायिक ढलानमा गएर सुत्नु पर्छ । ६ जना यसमै जसोतसो सुत्छौं’, राजो भन्छिन् ।
जेठो रोशन र माहिलो अशोक भारतको मद्रासमा मजदुरी गरिरहेका छन् । रोशन चैतमा र अशोक रक्षाबन्धनमा मद्रास पुगे । त्यहाँ पनि नेपाली भएको प्रमाणपत्र खोज्दा उनीहरु समस्यामा पर्ने गरेको ठकाईको भनाइ छ । ठकाइ र उनका साइँलो छोरा गाउँमै बनिबुतो गर्छन् । ठकाइ र तीन छोराको कमाइले उनको परिवारको छाक टर्छ ।
६ छोरा र ३ छोरीसहितको ९ जनाको परिवारको पालनपोषण र भविष्यको चिन्ताले ठकाइ र राजोलाई सधैं पिरोलिरहन्छ । उनीहरु कसैको जन्मदर्ता र नागरिकता छैन । गरिबी, विपन्नता र अशिक्षाको चपेटामा त ठकाइको परिवार पहिलेदेखि नै पिल्सिएका छन् ।
छोराहरु रोशन, अशोक, सरोज र छोरी आशा बाहेक उनका अन्य पाँच सन्तानहरू छोराहरु १६ वर्षीय लक्ष्मी, १२ वर्षीय उत्तिम, ८ वर्षीय राजेश, छोरीहरु ६ वर्षीया सुनैना र ४ वर्षीया कान्छी प्रीति छन् ।
मुसहर बस्तीमै दलित राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालय छ । सबैका छोराछोरी विद्यालयमा पढ्छन् । तर ठकाईका छोराछोरीहरु पढ्न पाएका छैनन् । पढ्ने उमेरकाले जन्मदर्ता अभावमा विद्यालयले भर्ना नलिँदा खेलेर दिन बिताउन बाध्य छन् ।
बालपोषण भत्ताबाट समेत सबै छोराछोरी वञ्चित भए । अन्यका छोराछोरी पढेको देख्दा ठकाई र राजोलाई पनि आफ्नो बालबच्चा पढून् भन्ने चाहन्छन् । तर विद्यालयले भर्ना नलिँदा छोराछोरीको भविष्यको चिन्ताले पिरोलिएका छन्, ठकाई दम्पती ।
‘छोराछोरीलाई पढाएर राम्रो भविष्य बनाइदिने कुन आमाबुबाको चाहना हुन्न र ? तर स्कुलमा जाँदा भर्ना लिन जन्मदर्ता खोज्छ । त्यसैले कसैले पढ्न पाएका छैनन्’, ठकाई सुनाउँछन् ।
जन्मदर्ता भएको भए छोराछोरी पढ्थे, छोराहरुको नागरिकता भए विदेश जान पाएर घरको आर्थिक स्थिति सुधार हुन्थ्यो भन्ने चाहना राजोको छ । आफ्नै नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र नागरिकताविहीन हुनुपरेको छ ।
***
बसिरहेको घर भएको बस्ती राजोको माइत हो । १५ वर्षकै उमेरमा राजोको बिहे धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३, पर्सा पकडियाका ठकाईसित भयो । बिहे हुँदा ठकाईको बुबा बुधन सदा र आमा बितिसकेका थिए । राजोलाई माइतले डेढधुर ऐलानी घडेरी बस्न दियो । त्यसमै छाप्रो बनाएर ठकाई र राजो बस्न थाले । त्यसपछि ९ छोराछोरीको जन्म भयो ।
ठकाइका अनुसार आफ्नो बुबा बुधन सदाको नागरिकता थियो । तर घरमा खोज्दा भेटिएन । आफ्नो नागरिकता बनाउन उनले प्रयास नगरेका होइनन् । बुबाको नागरिकता विवरण जिल्ला प्रशासन कार्यालय धनुषामा होला ठानेर ठकाइ कयौंपटक त्यहाँ धाए । तर, कर्मचारीहरूले वास्ता नगरेको उनको दाबी छ ।
‘ढड्डामा नाम छैन’ भन्दै कयौंपटक निराश फर्काएको ठकाई गुनासो गर्छन् । ‘मेरो बुबाको नागरिकता थियो । विवरण खोज्न धेरै दिन सीडीओ कार्यालय गएँ । कर्मचारीसित हात जोडेर बुबाको नाम खोज्न हारगुहार गरें । तर कर्मचारीले भेटेन भनेर फर्काइरहे । अन्तमा थाकेर जान छाडिदिएँ’, ठकाइको गुनासो छ ।
यता राजोको माइत पक्षले पनि उनको नागरिकता बनाउन चासो नदेखाएको स्थानीयहरु बताउँछन् । राजोको बुबा घुरन सदा र आमा घुरनी सदाको नागरिकता थियो । माइतले चाहेको भए राजोको कुमारी नागरिकता बन्न सक्थ्यो । ‘चाहेको भए राजोको नागरिकता माइती पक्षबाट बन्थ्यो । तर यताबाट कसैले ध्यान दिएनन्’, वीरेन्द्रले भने ।
जन्मदर्ता र नागरिकता अभावले राजोको परिवारको अवस्था देखेर उनका छरछिमेकहरु पनि चिन्तित छन् । ‘नागरिकता र जन्मदर्ता नहुँदा राजोको परिवारलाई दुखैदुःख छ । बालबच्चाहरू पढ्न पाएका छैनन् । छोराको बिहे भइरहेको छैन । तर कसैले उनको समस्याप्रति ध्यान दिँदैनन्’, छिमेक देवकी सदा भन्छिन् ।
स्थानीय गुजरीदेवी सदाका अनुसार बस्तीमा सरकारी स्तरबाट केही राहत आउँदा राजोको परिवारलाई मुख ताक्नु पर्छ । नागरिकता नहुँदा सेवासुविधाबाट वञ्चित हुन्छन् । जनप्रतिनिधिहरु पनि चुनावको बेला मात्र बस्ती छिर्छन् । अन्य दिनमा बिरलै मुसहर बस्तीमा देखिने गरेको गुजरी देवीको गुनासो छ ।
वडा नम्बर २ का वडाध्यक्ष लालजी साह तेली ठकाई सदा जन्मदर्ता र नागरिकता सम्बन्धी समस्या लिएर आफ्नो सम्पर्कमा नआएको बताए । ‘ठकाई म समक्ष जन्मदर्ता नागरिकताको विषय लिएर अहिलेसम्म आएकै छैन । आएपछि न यो विषयमा के कसो छ बुझेर केही गर्छु’, उनले भने, ‘ठकाईको नागरिकता छैन भने पहिलेको ठाउँबाट सिफारिस गराएर ल्याउनु प¥यो ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया ठकाइ आए उनको पहिलाको विवरण खोजेर अथवा नभेटिए उनको काका पर्नेमा पनि कसैको नागरिकता भए त्यसलाई नै आधार बनाएर नागरिकता दिन सक्ने बताए ।
प्रतिक्रिया 4