+
+
यात्रा संस्मरण :

पैदलैपैदल बडिमालिका

ट्रेडमिल र जिमखानामा बगाउने पसिना प्रकृतिको काखमा पनि बगाऊँ । प्रकृतिले दिने उपहार अनुपम छ । प्रकृतिलाई माया गर्नुस् । प्रकृतिले तपाईंलाई असीम आनन्द दिन्छ ।

प्रकाश ज्ञवाली प्रकाश ज्ञवाली
२०८१ कात्तिक ११ गते १६:३२

व्यायामका लागि साइकल कुदाउने, ब्याडमिन्टन खेल्ने मेरो आदतमा बडिमालिका यात्राले नयाँपन ल्याइदियो । कहिलेकाहीं मुस्किलले जुर्ने छोटा–छोटा ट्रेकिङले ताजगी दिने गरे पनि नेता तथा पारिवारिक नातामा मेरा अंकल प्रदीप ज्ञवालीसँग बडिमालिका ट्रेकिङ गरेर फर्केपछि म प्रकृतिलाई नयाँ ढंगले बुझ्ने ठाउँमा पुगेको छु ।

धेरै वर्षपछि एउटा रोमाञ्चक अनुभव गर्ने मौका जुरेर म फटाफट यात्राको तयारीमा लागें । बेला न कुबेला सक्रिय भएको मनसुनले तर्साउन खोज्यो । तर यो यात्रा गर्ने दृढताको अगाडि मनसुनको ताण्डव खासै बलियो हुन सकेन । यात्रा अवधिभर गाडी दुर्घटना, बाढी पहिरोको समाचारले मन दुखिरह्यो । बाटोमा खिचेका फोटोहरू, मीठा अनुभवहरू सबैलाई कतिखेर देखाऊँ, सुनाऊँ झैं हुन्थ्यो । देशमा आएको विपत्तिको खबरले मन खिन्न बनाउँथ्यो । मेरो यात्राको बारेमा थाहा पाएका आफन्त शुभचिन्तकहरूलाई थप चिन्तित बनाएँ कि भन्ने यदाकदा आत्मग्लानि पनि भयो ।

यो यात्रा न कोलम्बसले अमेरिका पत्ता लगाए जस्तो थियो, न जीवा लामिछाने अन्टार्कटिका गए जस्तो पहिलो थियो (नेपालीमध्ये) । पुष्कर शाह साइकलमा विश्व भ्रमण गरे झैं विशाल नभए पनि मेरो लागि यो निकै भव्य अनुभव रह्यो । देशभित्र र बाहिरका यस्तो धेरै जना डुलुवाहरूको कथाले मनमा यस्तै रहरको बीजारोपण उहिल्यै गर्दिएका थिए । यो यात्राबाट यति चाहिं गर्वसाथ भन्न सकिन्छ, रोमाञ्चक अनुभवका लागि कम्तीमा हामीले अरु देशसँग भिसा लगाइदिन अनुनय गरिराख्नु पर्दैन । शरीरमा अलिअलि तागत बाँकी छ भने आउनुहोस्, अलिकति डाँडा उक्लिऔं र प्रकृतिको सुन्दरताको मनोरम सुवास फोक्सोभरि भरौं ।

****

नेपालगञ्जबाट अत्तरिया त धेरैजना हिंडेकै बाटो हो, त्यहाँबाट साँफेबगर जाँदै गर्दा आनन्दको अनुभव हुन सुरु हुन्छ । त्यो १० घण्टाको यात्रामा दायाँ हेरौं कि बायाँ हेरौं झैं हुन्छ । करिब १२ वर्षअघि पोखरा-टीकापुर रात्रिबसको यात्रा गरेको थिएँ । गर्मीको समय दिउँसो ११ बजेतिर त्यहाँ पुग्दाको धुलो, घाम र उराठलाग्दो वातावरण नै मेरो मनमा सुदूरपश्चिमको छविको रूपमा बसेको थियो । उहिले पोखराबाट बस चढेर टीकापुर पुग्दा र अहिले अत्तरियाबाट मिनीबस चढेर साँफेबगर पुग्दा मेरो पश्चिमलाई हेर्ने पहिलेको दृष्टिकोण पूरै बदलियो । अत्तरियाबाट साँफेतर्फ उक्लिंदै गर्दा मैले मनमनै पश्चिम नेपालसँग माफी मागें । यतिका वर्ष मैले यस्तो सुन्दर ठाउँको यस्तो छवि मनमा बोकेर बसेको रहेछु ।

पश्चिम नेपाल सुन्दर छ भन्ने सुनेको थिएँ तर आफैंले अनुभव गर्न पाउँदा फुरुङ्ग भएँ । नेपालगञ्जबाट बाजुरा कोल्टीमा जहाजमा जाने चाँजोपाँजो नमिलेको ठीक भयो भन्ने लाग्यो ।

गाडीमा सुनिने यात्रुहरूको लवज, पाकापुस्ताको भेषभूषा, पृष्ठभूमिमा बज्ने देउडाले आफ्नै देशमा पनि कुनै बेग्लै ठाउँमा आइपुगे झैं भान हुन्थ्यो । ‘चल गोविन्दे पाइला मिला…..’ देउडामा भने जस्तो खेतबारी त्यति बाँझा पनि देखिएनन् । अगाडि-पछाडि सिटमा बस्ने बज्यैहरूको आभूषण हेरिराखौं जस्तो थियो । साथमा सिटमा भेटिएका एकजना डोटेली भाइसँग मित्रता गाँसेर नम्बर साटासाट गर्न भ्याइयो । यात्राका प्रत्येक साँझ मेरो हालखबर सोधिरहे । उनीसँगको आत्मीयता मनमा गढ्यो ।

साँझको साँफेबगर टाढैबाट झलमल देखियो । गुल्मीको यात्रा गरेकालाई डडेल्धुरा, डोटीको यत्तिको बस यात्रा आरामदायी नै मानें ।

मौसम ठिक्कको र होटल पनि सुविधाजनक नै थियो । केही अनपेक्षित व्यक्तित्वहरू भेट भए । अपेक्षा नगरिएको कुरा हुनु पनि आफैंमा एउटा सानोतिनो उपलब्धि हो । त्यसपछि साँफेबगरबाट मार्तडी बिहान जीपमा तीन घण्टा गुडेपछि त्यस दिनको गन्तव्य त्यहींसम्म भयो । त्यहाँ पार्टीका अग्रज नेता कर्ण थापा, जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली बडिमालिकाका मेयर अमर खड्का, पोखरामा विद्यार्थी राजनीति गर्दादेखिकै चिनजानका दाजु तथा बूढीनन्दाका मेयर जनक बोहोरा, सुन्दर लामिछाने, कृष्ण खड्का लगायतसँग भेटघाट र छलफल भयो ।

साँझ मार्तडी डुल्दा हरिया डाँडा र खेतका पाटाका सुन्दरता मात्र देखिएन, ती डाँडाले मागेका अतुल परिश्रम, त्यसले वर्षौंदेखि त्यहाँका मानिसहरूको शरीरमा पारिरहेको छाप पनि स्पष्ट देखिन्थे । घामपानीको प्रवाह नगरी निरन्तरको खटाइले उमेरभन्दा बढी पाका देखिएका वयस्क र कुपोषणका कारण स्याहारको कमीले कलिलैमा हिस्सी खोसिएका बच्चाहरू देख्दा गम्भीर भएँ ।

मार्तडीबाट दुई घण्टा जीपमा गएपछि मोटरबाटोको यात्रा टुङ्गिन्छ र पहरामुनिको पहिरोबाट हिंडाइ सुरु हुन्छ । त्यहाँबाट डेढ घण्टा उकालो चढेपछि फूल चढाउने चुचुरोमा पुगिन्छ । फूल चढाएपछि तीन घन्टा हिंडेर स्वतापाटनमा पुगेर खाना खान रोकिन्छौं । अब उचाइ र थकाइ सँगसँगै खानाको र यात्राको पनि स्वादको ग्राफ उक्लिंदै जान्छ । भौगोलिक उचाइ चढ्दै गएपछि मनले पनि उच्चताको महसुस गर्दोरहेछ, ठूलै पराक्रम गरे झैं ।

बिहान लालबहादुर सरको घरको मेजमानीपछि गाडी यात्रा मात्र नभई भात खाने नियमितता पनि टुङ्गियो । बडिमालिकाको यात्रामा भात खान नहुने अनौठो चलन रहेछ । भात खानु जुठो मानिंदो रहेछ । त्यही भएर रोटी मात्र खानुपर्ने रहेछ । म जस्तो भातप्रेमीलाई यो झसंग बनाउने खबर थियो । तीन दिनसम्म दिनको तीनै छाक रोटी मात्र खाँदा आजित भएर ग्लुकोजपानी र जीवनजलको पनि सहारा लिएँ । यस्ता पुराना चालचलन र संस्कृतिलाई समयअनुसार सरल बनाएर आधुनिक पर्यटन प्रवर्द्धन गर्न सके पो पर्यटक आउँथे भन्ने मनमनै लाग्यो । यात्रामा विभिन्न प्रसंगमा गफगाफ हुँदै गए । धेरैजसो राजनीतिक व्यक्तित्वहरु भएकाले विकास निर्माणका प्रसंग बढी चले ।

त्यो रात हामी भित्तोचिन्ने भन्ने ठाउँमा गोठमा बास बस्यौं । गोठ पनि, स्लिपिङ ब्यागको सुताइ पनि मेरो लागि पहिलो अनुभव थियो । मलाई गोठको धुवाँले सजिलै निदाउन दिएन । यो रुटमा गोठ बाहेक घरहरु त थिएनन्, होटल त परैको कुरा । प्रदीप अंकल लगायत हामी सबै गोठमा रोटी खाएर भुईंमा लस्करै सुत्यौं । अंकलको सरलता, सादगी, ऊर्जा देखेर मनबाट झनै श्रद्धा बढेर आयो । गोठमा धुलोमैलो पर्वाह भएन र यात्रामा कहीं लुगा धुनेबारे सोच्ने अवस्था नै रहेन । जति नै धुलो भए पनि फड्कारेरै लगाउने हो ।

भोलिपल्ट बिहानै हामी त्रिवेणीपाटनतिर लाग्यौं । सुन्दर र खुला घाँसेभूमि, मसिना बुकी फूलहरू, स्वच्छ हावा, नीलो आकाशका दृश्य थकाइ बिर्साउने ओखती भए । बूढीमाईका थान हुँदै त्रिवेणी पुग्दा थप चार घण्टा हिंडे पनि मनोरम दृश्यले मन थाकेको थिएन । दूधकुण्डमा नुहाएर अगाडि बढ्न चलन रहेछ । तर चिसो यस्तो थियो कि आँट कत्ति थिएन । स्थानीय नेता चतुर्भुज दाइ र प्रदीप अंकलले पनि स्नान गरेपछि मलाई लाजमर्नु हुने भो भनेर नुहाउन हाम फालें । नुहाइसकेपछि चाहिं असीम आनन्द आयो । यो स्नानलाई माथि बडिमालिका जान शरीर शुद्धताका लागि अनिवार्य मानिंदोरहेछ । र, त्यहाँका स्थानीय सबैले, साथै युवाहरूले समेत यो चलनलाई निकै श्रद्धाका साथ पालना गर्दा रहेछन् ।

त्रिवेणीपाटनमा अनगिन्ती घोडा र खच्चडका बथान चरिहेको भिडियोहरु पोखरा छँदै हेरेको थिएँ । हामी त्यहाँ असोजको दोस्रो साता चल्दै थियो । चिसो बढिसकेकाले घोडा र खच्चडका बथान धेरैजसो फर्किसकेका रहेछन् । हाम्रो आँखामा केही थान बथान मात्रै परे । जता हेर्‍यो पाटन नै पाटन । लमतन्न पाटनहरुमा बुर्कुसी मारेर दौडिरहूँ झैं लाग्ने, लडिबुडी खेलिरहूँ झैं लाग्ने । हरियाली बिच्छ्याइएका घाँसे पाटन देख्दा मनभित्र चित्रकार जाग्ने । चिटिक्कका बुकीफूल कल्पनाकी प्रेमिकालाई लगाइदिऊँ झैं हुने । भेंडा र खच्चडलाई सुसेली हाल्दै धपाऊँ झैं लाग्ने ।

क्यामराले फोटाहरू खिच्दा चित्तै बुझेनन् । सकेको फोटोग्राफी सीप लगाएँ तैपनि अझै मन मानेन, अनि झलक्क एकजना फिल्म समीक्षकको भनाइ याद आयो- बलिउड अभिनेत्री मधुबालाको सौन्दर्यलाई ‘जस्टिफाई’ गर्ने कुनै फोटो नै छैनन् । त्यही त यो मेसिनले आकृति पो निकाल्छ, सौन्दर्य कहाँ समेट्न सक्छ र ? अनि बुकीफूलहरूको नाम सोध्दै अघि बढ्यौं ।

वर माग्ने ठाउँमा पुगेर सबैले वर माग्यौं । दौडेर वर माग्ने चलन रहेछ, दौडियौं । जिन्दगीमा जे–जति पाएको छु सबै कुराको निम्ति धन्यवाद टक्र्याएँ र मनमनै वर पनि मागें । प्रदीप अंकलले चाहिं सबैले सुन्ने गरी नै वर माग्नुभयो, ‘नराम्रो कसैका लागि गरिने छैन, राम्रो गर्ने अवसर पटक-पटक पाइरहूँ ।’ उहाँले वर मागेको सुन्दा उहाँ साँच्चिकै म र आफूबाट माथि उठेको महसुस भयो । यो दृश्य मनमा अमिट बनेर बसेको छ ।

त्रिवेणीबाट भिर्कीफोड्ने बासुधारा हुँदै ६ घण्टा हिंडेपछि बडिमालिका दर्शन गर्न सफल भयौं । डाँडाको माथि रहेकी बडिमालिका यो भेगका मात्र नभई धेरै हिन्दुहरूको पूज्य रहिछन् । सतीदेवीको बायाँ कुम पतन भएकाले आँटेको, इच्छाइएको कुरा पूर्ण हुने विश्वास राख्दारहेछन् भक्तजनले । होम गरेको तरेखु (तिलक) लगाइँदो रहेछ । हामीले पनि टीका र तिलक लगायौं । अनेक प्रसंग, किम्वदन्ती र केही प्रचलनहरू पनि चाखलाग्दा थिए । फर्किएर त्रिवेणीको निर्माणाधीन धर्मशालामा बास बस्यौं । त्यहाँ काम गर्ने मजदुरहरु भात पकाउँदै थिए । एक कचौरा दाल मागेर पिएँ अनि सुतें । भोलिपल्ट बिहान त्रिवेणीपाटन घुम्यौं । पारिपट्टिको खेतीबेती भन्ने ठाउँको प्रसंग र भूगोल दुवै बेजोड लाग्यो ।

त्रिवेणीपाटनबाट स्वतापाटन आएर भात खान पाउँदा बल्ल जीउमा प्राण आए झैं भयो । खाना यति मीठो पनि हुनसक्छ र जस्तो । त्यहाँ खाएको कचिलाको स्वाद जिब्रोमा झुन्डिरह्यो । मजस्तो खानाको सौखिनलाई मार्तडीको मार्सी, स्वतापाटनको कचिला, कोदोको हलुवा, लट्टेको लड्डु, झुमरोको खीर, फापरको मफिन केक, राज्मा र सिमीको फरक स्वादको तरकारी आदि रैथाने खानाको स्वाद चाख्न पाउनु पनि नौलो भयो ।

चार घण्टा हिंड्यौं । दुई घण्टा गाडी चढ्यौं अनि मार्तडी पुग्यौं । भोलिपल्ट बाटोमा जनक बोहरा दाइको स्याउ फार्म हुँदै चार घण्टा गाडीमा हिंडेपछि कोल्टी भेटियो । कोल्टीमा आधारभूत अस्पतालमा अन्तरंग सेवा उद्घाटनलगत्तै जगन्नाथ गाउँपालिकामा १० शय्याको अस्पतालको उद्घाटन कार्यक्रममा सरिक भयौं । धुमधामको बाजागाजासहित कार्यक्रम भयो । त्यो दिन त्यही बस्यौं ।

भौगोलिक दूरी टाढा भए पनि सोचाइ र राजनीतिक चेतनाले हामी कैयौं सवालमा सँगै रहेको भान भयो । आँखाभरि पाटनको हरियाली र मनभरि आतिथ्यताको मिठास बोकेर कालीकोट, दैलेख, सुर्खेत हुँदै काठमाडौंका लागि जहाज चढें ।

****

यो यात्राले आफूभित्रको स्व जगाइदिएको महसुस गरें । पसिनाले जीउ निथ्रुक भिज्ने गरी हिंड्दा पनि थकाइ लागेको महसुस भएन, बरु स्वर्गीय आनन्द प्राप्त भए झैं लाग्यो । आफू स्वयं उपस्थित हुँदाको क्षण, अरुले खिचेका चित्र हेरेर ‘यस्तै रहेछ’ भनेजस्तो होइन । हिजोआज इन्टरनेटको जानकारी उपलब्धताले हामीलाई रहस्य खोतल्न अल्छी बनाइदिएको छ । त्यो दिव्य आनन्दको अनुभूति वर्णन गरी साध्य छैन ।

जडिबुटी र पशुपालनबाट मात्रै पनि यति जीविकोपार्जन गर्न सफल भएका बाजुराका जनतालाई यसको अझै व्यवस्थित र व्यावसायीकरण गर्न सके झनै जीवनस्तर उकासिन्थ्यो होला भन्ने मनमा लागिरह्यो ।

वास्तवमा गाउँपाखाबाट आएको यो मन अझै खाँटी गाउँले परिवेशमा पुग्न पाउँदा छुट्टै आनन्दित बन्ने रहेछ । हाम्रो नसा-नसामै त्यही छ । हातले भात खाँदाको स्वाद चम्चाले कहाँ दिन्छ ? जहाजको आवाज आउँदा थाहै नपाई टाउको आकाशतिर मोडिंदोरहेछ । उखुको जुसमा स्ट्र राखेर होइन, सिंगो लाँक्रा नै लुछेर चपाउन स्वाद लाग्छ ।

हामीले छोडे पनि हाम्रोपनले हामीलाई सजिलै छोड्दैन । ट्रेडमिल र जिमखानामा बगाउने पसिना प्रकृतिको काखमा पनि बगाऊँ । प्रकृतिले दिने उपहार अनुपम छ । प्रकृतिलाई माया गर्नुस्, प्रकृतिले तपाईंलाई असीम आनन्द दिन्छ ।

केही दिन मोबाइलको कैदबाट मुक्ति लिऊँ । सञ्जालबाट केही दिन टाढा भएर, फोन अफ भएर बस्दा फर्केर आउँदा आकाश खसेको हुँदैन, सबै साविक बमोजिम चलिरहेका हुन्छन् । डिजिटल डिटक्सिफिकेसन नभई भएको छैन । छिट्टै त्यहाँ नपुग्नेहरूले पनि थोरै पैदल यात्रामा यस्तै अनुभूति संगाल्न पाउन् । नुन, चिल्लो, अमिलो, पिरो विनाको आहार पनि कति मजाले खाइन्छ । भुईंमा विना डसना, गोठमा पनि कति मीठो निदाइन्छ । आफैंले भोग्नुहोस्, एकपटक बडिमालिका पुगौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?