काठमाडौं । कात्तिक १५ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा समावेश गीत ‘रैया चाँदीको’ यतिबेला चर्चामा छ । यसैसाता युट्युबमा रिलिज भएको यो गीतलाई ६ लाखभन्दा बढी पटक हेरिएको छ ।
आशिष अविरलको संगीत र नवराज पन्तको शब्द रहेको गीतमा आशिष र मेलिना राईको स्वर छ । गीतले सामाजिक सञ्जालमा प्रशंसासँगै चोरीको आरोप पनि खेपिरहेको छ ।
चार दशकअघि सुनिल चित्रकारको शब्द तथा संगीत, राम थापा र सुनिता सुब्बाको स्वर रहेको हिट गीत ‘रेलै घुमेर’बाट गीत चोरी गरिएको आरोप कतिपयले लगाएका छन् । यी दुई गीतबीच शब्द भिन्न रहेपनि लय र भाव करिब उस्तै सुनिन्छ ।
पुरानो गीत ‘रेलै घुमेर’का सर्जकले यसबारे केही उल्लेख गरेका छैनन् तर सामाजिक सञ्जालका प्रयोगकर्ताले यसबारे टिप्पणी गरिरहेका छन् । आइतबार काठमाडौंमा आयोजित फिल्मको पत्रकार सम्मेलनमा पनि संगीतकार आशिषले चोरीको आरोपको खण्डन प्रयत्न गरे । उनले लोकभाकामा कुनै व्यक्तिको प्रतिलिपि अधिकार नरहने बताए ।
पत्रकार सम्मेलनका क्रममा गायक तथा संगीतकार आशिष अविरलसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
चोरीको आरोपबारे के भन्नुहुन्छ ?
लोकगीतको भाका उस्तै उस्तै हुनु र बाउछोराको अनुहार उस्तै उस्तै हुनु एउटै कुरा हो जस्तो लाग्छ । किनभन्दा लोकगीतको भाका, त्यसको छनक लोकगीत जस्तो भएन भने लोकगीत नै भएन । लोकगीतको परिभाषा नै पहिल्यैदेखि चलिआएको व्याप्त, त्यहाँ मान्छेले त्यहाँका कुनाकन्दरामा, चौतारीमा गुञ्जाइरहने भन्ने हो नि त । यदि गुञ्जिनरहने भन्दा अलग्गै बनाए त त्यो लोकगीत नै भएन नि । लोकगीत हुनु पनि त निश्चित तत्व हुनुपर्छ । ती एलिमेन्ट हुनु भनेको लोकगीतजस्तो हुनु हो ।
त्यहाँ पहिले प्रचलित भएजस्तो हुनु हो । यसैमा पनि लोकगीत नयाँ होइन, नौलो चाहिं हुनसक्छ । यो गीत नौलो छ कि छैन भन्ने दृष्टिकोणबारे हेरिनुपर्छ । नचल्दाखेरि त फरक पर्दैन, जब चल्न थाल्यो, राम्रो भयो भने यस्ता खालका आरोप, लाञ्छना आउन गर्छन् । यो चाहिं एकदमै निन्दनीय छ । मलाई निर्माताले ३० देखि ४० सालभित्रको नोस्टाल्जियामा लैजान सक्ने एउटा भाका चाहियो भन्नुभयो । त्यो पेरिफेरीलाई त छुनुपर्यो नि मैले । आरोपमा एक प्रतिशत पनि सत्यता छैन । यसो हो भने त हामीले लोकगीत रेकर्ड गर्नै छाड्नुपर्छ ।
मैले ‘तिमी विनाको जीवन’, ‘माया लुकी लुकी’जस्ता गीतलाई यो लोकगीत हो भनेर दिन त मिलेन नि । ‘सालैजो’ भन्दा त्यसको एउटा रहनी हुन्छ । ‘कौडा’ भन्दा ‘सै सै’ भन्ने हुन्छ । त्यतिबेलाको दोहोरी गीत यस्तै टाइपको हुन्छ, ‘नरोऊ मायालु’, ‘रेलै घुमेर’ टाइपको । लोकभाकामा कसैको कपीराइट हुँदैन भन्ने कुरा कानुनले नै व्यवस्थित गरेको कुरा भयो । दुरुस्तै गरे त उहाँहरुले पनि त यो फलानो गीत रहेछ भन्नुहुन्छ नि । लोकभाकामा कसैको कपीराइट हुँदैन ।
गाउँदा पनि उस्तै छैन, संरचना पनि फरक छ । त्यतिबेलाको समयावधिमा जान गर्नैपर्ने हुन्छ । बाध्यता पनि त हुन्छ नि ।
फिल्मबाट गीत म्युट गर्ने सम्भावना के छ ?
यस्तो हुने सम्भावना त छँदै छैन । यो लेभलको कपी पनि त होइन नि । यसको भाव र फ्लेवर आयो, त्यो त लिनैपर्ने थियो । हामी त्यो नोस्टाल्जियामा पुग्नैपर्ने थियो । मान्छेलाई लाञ्छना लाग्ने गरी, मानमर्दन हुने गरी, बदनियतपूर्ण तरिकाले चोर भन्ने कार्य निन्दनीय छ । मलाई मात्र थुप्रै कलाकारलाई चोर बनाइसक्नुभयो । बरु, यो मान्छे यति सिर्जनशील रहेछ कि हामीलाई त्यो पेरिफेरीमा पुर्याएर हामीलाई त्यो सुगन्ध फेरि महसुस गर्ने बनायो भन्नुपर्ने हो नि ।
‘रैयाँ चाँदीको’ गीत
राम थापा र सुनिता सुब्बाले गाएको ‘रेलै घुमेर’
प्रतिक्रिया 4