११ कात्तिक, गुल्मी । सम्झौता भएको ८ वर्षपछि कालीगण्डकीमा गुल्मी र पर्वत जोडने पक्की पुल बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बिहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा पुल बनेको हो ।
तत्कालीन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौंबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख रुपैयाँमा पुल बनाउन सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण ब्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।
पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजनाहरु हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यन्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समय पछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताए । सार्वजनिक खरिद नियमवालीको १२ औँ संसोधन अनुसार २०८१ साल असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने व्यवस्था थियो ।
पुल निर्माण भएपछि गुल्मी र पर्वतको यात्रा सहज हुने भएको छ । पहिले घुमेर लामो समय लगाएर जानुपर्ने अवस्थाको अन्त्य हुनुका साथै गुल्मी र पर्वतबीचको सम्बन्ध पनि थप विस्तार हुने स्थानीयहरुले जनाएका छन् ।
पुल सम्पन्न भएपनि निर्माण व्यवसायीले चार करोड भुक्तानी लिन बाँकी रहेको छ । निर्माण व्यवसायीका साइड इन्चार्ज अच्युत लम्सालका अनुसार चार करोड भुक्तानी दिन बाँकी रहेको र समयमै भुक्तानी नपाउँदा समस्या भएको बताए ।
राज्यले समयमै भुक्तानी नदिँदा कामदार र निर्माण सामग्रीको भुक्तानी दिन नपाएको उनको भनाइ छ । पहिले कोभिड र निर्माण सामग्रीको अभावका कारण पुल निर्माणमा समस्या भएको लम्सालले बताए ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताए । बजेटका लागि विभागमा माग गरिएको र बजेट आउनासाथ भुक्तान गरिने उनको भनाइ छ ।
प्रतिक्रिया 4