+
+

स्वदेशी फूलले सकेसम्म धान्छ तिहार

फ्यानका अनुसार नेपालमा यसपालि स्वदेशी फूलले नै सकेसम्म माग धान्ने अवस्था छ । गत वर्ष फूलमाला खपत हेर्दा अहिले नेपालमा तिहारका लागि व्यावसायिक रूपमा खेती गर्नेको करिब ४५ लाख माला बिक्री हुन्छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ कात्तिक १५ गते १२:२५

१५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो समय फूल खेती बढ्दै गएको छ । तिहार लक्षित गरेर अहिले व्यावसायिक रूपमै फूल खेती बढ्न थाले पनि पर्याप्त भने छैन । यसपालि तिहारमा भारत तथा तेस्रो मुलुकबाट फूल आयात नहुने भएको छ ।

कृषि मन्त्रालयले भन्सारको प्लान्ट क्वारेन्टिन कार्यालयलाई फूल आयात गर्न १६ प्रजातिका किरो नलागेको फूल मात्रै नेपाल भित्र्याउने पाउने भन्दै परिपत्र गरेर नाकामा कडाइ गरेपछि नेपालमा फूल आयात गर्न सक्ने स्थिति छैन ।

‘अहिलेसम्म भारत सरकारले फूल निर्यात गर्न १६ विभिन्न फूलमा लाग्ने किरोमुक्त भएको पत्र नदिएकाले यसपालि भारतबाट एक थुङ्गा फूल पनि वैध आयात हुन पाउँदैन,’ पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का पूर्वअध्यक्ष मिनबहादुर तामाङले अनलाइनखबरसँग भने ।

तामाङका अनुसार नेपालमा यसपालि स्वदेशी फूलले नै सकेसम्म माग धान्ने अवस्था छ । गत वर्ष फूलमाला खपत हेर्दा अहिले नेपालमा तिहारका लागि व्यावसायिक रूपमा खेती गर्नेको करिब ४५ लाख माला बिक्री हुन्छ । ‘त्यसमा सयपत्रीको ३५ लाख, गोदावरीको ५ लाख र मखमलीको ५ लाख खपत हुन्छ,’ तामाङले भने ।

माला महँगिन सक्छ, तर स्वदेशी किसानलाई फाइदा

गत वर्ष भारतीय फूलका कारण वालछ्याल भएको माला यो वर्ष त्यस्तो हुने अवस्था छैन ।

‘विदेशी फूलमाला नआउँदा यसपालि स्वदेशी किसानले बजार पाउन सक्छन् तर केही कमी हुन भने सक्ने देखिन्छ,’ तामाङले भने, ‘व्यावसायिक खेतीले २५–३० लाख जति माला समेट्न सक्छ, अनौपचारिक रूपमा फूल खेती कत्तिको बढेको छ, तिहारमै थाहा हुन्छ ।’

उनले गत वर्ष भारतीय माला बजार आउँदा स्वदेशी किसान पलायन भएको भन्दै यसपालि उत्पादन घट्न पनि सक्ने आकलन गरे ।

‘पछिल्लो समय सहरमा पनि आफूलाई चाहिने फूल आफैं उत्पादन गर्ने, कौसीमा फूल रोप्ने र व्यावसायिक बाहेक पनि फूल उत्पादन गर्ने चलन बढेको छ,’ तामाङले भने, ‘अर्कातर्फ, गत वर्षभन्दा व्यावसायिक खेती किसान घटेका छन् । यसले बजारलाई प्रभाव पार्न कति सक्छ, तिहारमै थाहा हुन्छ ।’

कृषि मन्त्रालयले भने स्वदेशी फूलले मात्रै बिस्तारै माग धान्न सक्ने दाबी गर्दै आएको छ । ‘हामीले स्वदेशी फूललाई प्राथमिकता दिएका छौं, विदेशी माला नआउँदा केही अभाव त हुन्छ तर हाहाकार नै हुने अवस्था आउँदैन, यसापालि स्वदेशी किसानले राम्रो भाउ पाउँछन्,’ मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने ।

उनले नियम विपरीत फूलमाला आयात गर्न रोक लगाएको भन्दै क्वारेन्टिनमा रोकेर परीक्षणविना नेपाल प्रवेश नदिने बताए । खुला सिमानाका कारण अवैध पैठारी भएको मालामा पनि सरकारले कडाइ गरेको उनले बताए ।

के छ नेपालमा फूल खेतीको अवस्था ?

फ्यानका अनुसार २०११ सालमा पुष्प व्यवसाय सुरु भएको इतिहास छ । २०४९ साल ताकासम्म लगभग ८० हाराहारी मात्रै नर्सरी व्यवसायी थिए । हरेक वर्ष पुष्प व्यवसायको वृद्धिदर १० देखि १५ प्रतिशत हुने गरेको छ ।

गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भइरहेकोमा यो वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बर्दियाामा पनि पुष्प व्यवसाय सुरु भएपछि पुष्प व्यवसाय हुने जिल्ला संख्या ५२ पुगेको छ ।

नेपालमा हाल करिब २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने १ हजार १ सय ७४ भन्दा बढी व्यवसायी छन् । जसमा नर्सरीका ५ सय ३० व्यवसायी, कट फ्लावर उत्पादक ९०, कट फ्लावर खुद्रा व्यवसायी १ सय ५८, पुष्प थोक व्यवसायी ६, इनपुट सप्लायर्सका २५ व्यवसायी र र लुज फ्लावर उत्पादकका ३ सय ६५ व्यवसायी छन् ।

पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको फ्यानको भनाइ छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी अनुमानित ५१ हजार ५ सयभन्दा बढी जनशक्ति रोजगार छन् ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको छ भने २७ करोड ७९ लाख ५ हजार बराबर आयात भएको थियो ।

 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?