+
+

रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते ७:३१

१६ कात्तिक, काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ ।

बीबीसीका अनुसार रुसको अदालतले २८ अक्टुबरको दिन २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो ।

१ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ ।

यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । त्यतिमात्रै होइन यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुने अनुमान छ ।

अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।

रुसी अदालतले गन्न पनि गाह्रो हुने रकम जरिवानाको फैसला गुगलविरुद्ध चार वर्षसम्म चलेको कानुनी लडाइँ पछि गरेको हो । गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए । रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरुले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए ।

रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ ।

यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?