+
+
ब्लग :

ट्रम्पलाई मैले किन भोट दिने ?

अमेरिकाजस्तो कडाइका साथ कानुनको परिपालना गरिने देशमा मुद्दाको चाङ लागेका व्यक्तिको हैसियत के हुन्छ ? यो भनिरहनुपर्दैन। तर, यसै देशमा ३४ वटा गम्भीर प्रकृतिका मुद्दा लागेको व्यक्ति अहिले राष्ट्रपतिको चुनावी दौडमा छन्।

पूण्य भण्डारी पूण्य भण्डारी
२०८१ कात्तिक १८ गते ८:२६

मतदान एउटा यस्तो प्रक्रिया हो । जसमा हरेक व्यक्तिको हैसियत बराबर हुन्छ । समान हुन्छ । एक व्यक्ति एक मत । यसर्थ अमेरिकाको आसन्न निर्वाचनका लागि म पनि एक मत हुँ । जसरी कमला र डोनाल्ड पनि एक, मात्र एक मत हुन् ।

राष्ट्रपति पदको लागि यसपटक पनि ब्याटल ग्राउन्डमा दुई चिरप्रतिद्वन्द्वी पार्टीका दुई महारथिबीच प्रतिष्पर्धा हुँदैछ । तुलनात्मक रुपमा उदार मानिएको डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस् र अर्को परम्परावादी भनेर चिनिएको रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प छन् । उम्मेद्वार पार्टीको प्रतिनिधि भए पनि पछिल्लो समय पार्टी छान्ने भन्दा पनि व्यक्ति छान्ने प्रवृत्ति देखापरिरहेको छ । तसर्थ यसपटक पनि ट्रम्प जिताउने कि ह्यारिस ? मुख्य चासो यसैमा छ ।

अबको चार वर्ष शासनको बागडोर सम्हाल्न प्रतिष्पर्धा गरिरहेका यी दुई नेताको मूल्यांकन उनीहरुका नीति, अभिव्यक्ति र यसअघिको कार्यशैलीका आधारमा हुनेछ । आन्तरिक तथा बाह्य सुरक्षा समेत, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको समग्र विकाससम्बन्धी उनिहरुले तयार पारेको ब्लु प्रिन्ट अमेरिकी जनताले अहिले नियालिरहेका छन् ।

कथनी र करणी फरक हुने भएकाले त्यसको विश्वासशिलो प्रतिबद्धता पनि खोजिरहेका छन् । यिनै आधार तथा आस्थाका आधारमा कसलाई मत दिने हो प्रायः सबैले निर्क्योल गरे होलान् ! र, मैले पनि गरिसकेको छु । कयौंले त अर्ली भोटमार्फत आफ्नो अभिमत जाहेर गरिसकेका छन् ।

यस सन्दर्भमा, भोट जस्तै मेरो विचार पनि आफ्नै छ । मूलतः भोट भन्दा पहिले विचार वा दृष्टिकोण बन्छ । पहिलो पटक राष्ट्रपतिको प्रत्यासी भएका डोनाल्ड ट्रम्पलाई मैले मत दिएको थिएँ । यद्पि म डेमोक्र्याटिक पार्टीको रजिष्टर्ड भोटर हुँ ।

अमेरिकामा जन्मिएका जो कोही बालबालिका अमेरिकी नागरिक हुन पाउने कानुनी व्यवस्था छ । तर, उसका गैरनागरिक आमाबाबुलाई देश निकाला गर्दा बच्चाको अवस्था के हुन्छ त्यो विचार गरिएन ।

मलाई मनपर्ने पार्टीको उम्मेद्वार छोडेर अर्को व्यक्ति छान्नुका पछाडि केही कारण थिए । जस्तो कि गैरकानुनी आप्रवासन नियन्त्रण र अहिलेको भन्दा उन्नत अमेरिका निर्माणको मुद्दा र त्यसमाथि केही गरिछाड्ने उनको हुट्हुटी । त्यसबेलाका ट्रम्पमा मैले अनौठो जोस र अनुहारमा तेज देखेको थिएँ । यी र यस्तै कुराले मैले मन बदलेँ र हिलारी क्लिन्टनलाई मत दिइनँ ।

तर, चार वर्ष ट्रम्पलाई व्यहोरेपछि मलाई पश्चाताप भयो-गलत मानिसलाई समर्थन गरिएछ । उनी यति कच्चा र अव्यावहारिक भएर प्रस्तुत भए कि कुरै छाडौं । सत्ता सम्हाल्नासाथ उनले केही मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाए ।

तर, पछि त्यसको औचित्य पुष्टि गर्न सकेनन् । गैरकानुनी आप्रवासन रोक्ने मामलामा पनि उनी असफल भए । सीमानामा पर्खाल लगाउने र त्यस्को लागत मेक्सिकोबाट भराउने कुरा केवल गफमै सीमित भयो । न त पर्खाल बनाउने काम पूरा भयो न त बनाइएको पर्खालले गैरकानुनी रुपमा अमेरिका छिर्नेहरुलाई नै रोक्नसक्यो ।

उनी अहिले फेरि लार्जेस्ट डिपोर्टेसनको कुरा उठाइरहेकाछन् । तर, पहिलेको डिपोर्टेसनका बेला गैरकानुनी रुपमा बसोबास गर्ने मानिसका परिवार खासगरी केटाकेटीहरुमाथि भएको ज्यादति सायदै कसैले बिर्सेका होलान् !

अमेरिकामा जन्मिएका जो कोही बालबालिका अमेरिकी नागरिक हुन पाउने कानुनी व्यवस्था छ । तर, उसका गैरनागरिक आमाबाबुलाई देश निकाला गर्दा बच्चाको अवस्था के हुन्छ त्यो विचार गरिएन । केटाकेटी बालिग नहुन्जेल आमाबाबुसँग बस्न पाउने नैसर्गिक अधिकारमाथि घात गरियो ।

र, हजारौं बालबालिकालाई आफ्ना आमाबाबुबाट अलग पारेर सेल्टरमा राखियो । ट्रम्पको यो दोहोरो नीति र कार्यशैलीको सर्वत्र आलोचना भयो ।

कोभिडकालमा त उनी सामाजिक सञ्जालका लागि राम्रो ट्रोलमात्र बने । उनमा विज्ञहरुको कुरा सुन्ने र त्यसअनुरुप काम गर्ने गराउने धैर्यता देखिएन । उनी समाधान आफैं सुझाउँथे । उनले एन्टिइन्फेक्टिड केमिकल (जुन सामानहरुबाट रोग नसरोस् भनेर पुछ्न प्रयोग गरिन्छ) त्यो केमिकल मानिसलाई इन्जेक्ट गर्न पाए कोभिड नलाग्ने तर्क गरेर जग हँसाए । त्यस समय अमेरिकाले मानवीय क्षतिको रेकर्ड बनायो । तर, उनी यस महामारीलाई चाइनिज भाइरस भनेर बसे ।

उनको प्रेसमाथिको रवैयाले यो क्षेत्र हैरान भयो । जसले उनको गलत काम औंल्याउँथ्यो त्यो व्यक्ति वा संचार संस्थालाई उनी गाली गरिहाल्थे । ‘फेक मिडिया’ त उनको मुखमै थियो । आफूसँग विचार नमिल्नेलाई उनले सधैं अपमान गरे । उदाहरण दिइसाध्य छैन ।

संसद्मा एकपटक आफ्नो भाषण सकेर सभामुखलाई त्यसको कपी बुझाउन जाँदा तत्कालीन सभामुख नान्सी पोलेसीले उनीसँग हात मिलाउन खोजेकी थिइन् । तर, ट्रम्प थाहा नपाएजसो गरेर हिंडे । यस्तो अस्वभाविक दृश्य अमेरिकी संसद्मा सायदै देख्न पाइन्छ होला ! उनले राष्ट्रसेवक र आफ्ना सल्लाहकारहरु सयौंलाई बिनाकारण बर्खास्त गरे । पछि उनी तिनीहरुबाटै आलोचित पनि भए ।

अन्तर्राष्ट्रिय सम्बन्ध र शक्ति सन्तुलन कायम राख्न राष्ट्रपति ट्रम्पले चालेका कदम फलदायी भएनन् । उत्तरकोरियाका राष्ट्रपतिलाई भेटेको विषयलाई गम्भीर रुपमा उठाइयो । विरोधी शक्ति त्यसमाथि एउटा कम्युनिष्ट तानाशाहालाई आफैं अघि सरेर भेट्नु गलत भएको आम अमेरिकीको बुझाइ थियो । चिनलाई कहिले अर्थहीन प्रशंसा त कहिले कटु आलोचना गरेर विरोधाभास प्रकट गरे ।

मुख्य कुरा उनको बहुचर्चित चुनावी नारा मेक अमेरिका ग्रेट अगेन (मागा) अन्त्यसम्म आइपुग्दा अर्थ न बर्थको भयो । टिप्पणीकारहरुले प्रश्न गरिरहे अमेरिका कहिले ग्रेट थियो र फेरि ग्रेट हुनुपर्ने हो ? अमेरिका जस्तो थियो त्यस्तै छ । न यो कुनैबेला निम्छरो थियो न त महान् । अमेरिका सर्धै अमेरिका नै भएर रहेको छ । नारा त केवल जनतामाथि भ्रम छर्न ल्याइएको थियो ।

अमेरिका कथित् एउटा वर्ग, समुदाय र भाषाभाषीको मात्र हो, पछि आएर बसोबास गरेकाहरुका लागि यहाँ स्थान छैन भन्ने उनको घुमाउरो सन्देश बुझ्न बाँकी छैन । यो चरम राष्ट्रवादी नाराबाट खुसी हुने धेरै छन् यहाँ । तर, यो फगत चुनावी कार्ड हो र उनले चाहेर पनि त्यो अभीष्ट पूरा हुन सम्भव छैन भन्ने कतिले महसुस गरेका छन् थाहा छैन ।

ट्रम्पले सबैभन्दा ठूलो हर्कत त राष्ट्रपति बाइडेनसँगको प्रतिष्पर्धामा पराजित भएपछि देखाए । उनले निर्वाचनको परिणामलाई अस्वीकार मात्र गरेनन् मत चोरिएको आरोपसमेत लगाए । त्यसपछि जनवरी ६ को घटनासम्म आइपुग्दा मेरा लागि राजनीतिक रुपमा ट्रम्पको अवसान नै भयो ।

चुनाव हारेको झोकमा उनले क्यापिटल हिल गएर प्रदर्शन गर्न कार्यकर्तालाई उक्साए । परिणामतः जनताको आवाज बुलन्द गर्ने जनप्रतिनिधिको थलो तोडफोड गरियो । त्यहाँ एउटा राष्ट्रिय धरोहर मात्र भत्काइएन सभ्य र सुसंस्कृत अमेरिकी इतिहास नै धूलिसात पारियो । ठूलो मात्रामा धनजनको समेत क्षति भएको त्यो कालो दिन बिर्सन लायक छ ।

यी त भए केही पुराना कुरा । तर, अहिलेको चुनाव प्रचारका बेला ट्रम्पले आफूलाई केही परिवर्तन गर्छन्, पूर्वराष्ट्रपतिको मर्यादा ख्याल गरेर आफ्नो भाषाशैली र प्रस्तुति बदल्छन् भनेर आश गरेका जनतालाई उनले फेरि निराश बनाए । उनले समाजिक सद्भाव भड्काउने, विभाजन ल्याउने र घृणा फैलाउने खालका अभिव्यक्ति दिइरहेका छन् ।

अमेरिका कथित् एउटा वर्ग, समुदाय र भाषाभाषीको मात्र हो, पछि आएर बसोबास गरेकाहरुका लागि यहाँ स्थान छैन भन्ने उनको घुमाउरो सन्देश बुझ्न बाँकी छैन । यो चरम राष्ट्रवादी नाराबाट खुसी हुने धेरै छन् यहाँ । तर, यो फगत चुनावी कार्ड हो र उनले चाहेर पनि त्यो अभीष्ट पूरा हुन सम्भव छैन भन्ने कतिले महसुस गरेका छन् थाहा छैन ।

कुनैबेला सुनिन्थ्यो, अमेरिकामा उम्मेद्वारले लगाएको टाइको गाँठोसमेत हेरिन्छ चुनावका बेला भनेर । टाइको गाँठोलाई समेत योग्यता, क्षमतासँग जोडेर मूल्यांकन गर्ने जनताले उसको बोलीवचन, व्यवहार र कार्यशैलीलाई कति महत्व दिँदा हुन भन्ने लाग्थ्यो ।

तर, आँखै अगाडि त्यो कुरा गलत सावित भयो । जब न्यूर्योर्कको पछिल्लो चुनावीसभामा बक्त धारणा  सुनियो । त्यहां वक्ताहरुले अमेरिकाको औपनिवेशिक टेरिटोरी पोर्टोरिकोलाई फ्लोडिं आइल्यान्ड अफ गार्बेज इन मिडिल अफ द ओसन भने । अर्थात् समुन्द्रको बीचमा तैरिरहेको फोहोरको टापू । यसले स्वयं पोर्टोरिकन् अनि अमेरिका आएर बसोबास गरिरहेका त्यहाँका मानिसलाई कति चोट पुर्‍यायो होला !

एकजनाले उपराष्ट्रपति ह्यारिसलाई डिभिल (शैतान) भनेर सम्बोधन गर्‍यो । कसैले अमेरिका इज द वन्ली अफ अमेरिकन्स् भनेर आप्रवासी नागरिकलाई अमेरिका विरोधीको संज्ञा दियो । द ल्याटिनो लभ मेकिङ बेबिज अर्थात अमेरिकामा बस्ने ल्याटिनोहरु बच्चा जन्माउन मन पराउँछन् भन्ने बेतुकको कुरा पनि त्यहाँ उठाइयो । यो व्यंग पनि प्रष्टै छ बच्चा जन्माएपछि त्यही नाताले यहाँ बस्न पाइन्छ भनेर त्यसो गरेका हुन् भन्ने ।

अब ट्रम्पप्रति उनकै दल रिपब्लिकनका नेताहरुको धारणा हेरौं । राष्ट्रपति ओबामासँग पराजित उम्मेदवार तथा उटा राज्यका बर्तमान सिनेटर मिट रम्नी र ४६ औं उपराष्ट्रपति डिक चेनी लगायत दुई सय भन्दा बढि नेताहरु ट्रम्प विरुद्ध खुलेर लागेका छन् ।

रम्नीले एक कार्यक्रममा बोल्दै भनेका छन्- ‘आइ डन्ट वान्ट डोनाल्ड ट्रम्प टु वि द नेक्स्ट प्रसिडेन्ट अफ द युएसए ।’ डिक चेनीकी श्रीमती लीन चेनी त सुरुदेखि नै कमला ह्यारिसको प्रचारमा सक्रिय छिन् । समाचार संस्था युएस टुडेका अनुसार यस अभियानमा पछिल्लो समय राष्ट्रपति जर्ज डब्लु बुस पनि जोडिएका छन् ।

वेव साइटमा खोज्ने हो भने एन्टी ट्रम्प मुम्मेन्टमा लाग्ने धेरै भेटिन्छन् । र, ट्रम्पको अज्ञानता र अहंकारले कसरी अमेरिकालाई कमजोर र बद्नाम गर्नेछ भनेर उनिहरुले दाबी गरिरहेका छन् थाहा हुन्छ ।

आप्रवासनको पहिलो पुस्ताको नाता र यसै मुलुकमा आफ्नो र सन्ततिको भविष्य सुरक्षित देख्न चाहाने मजस्ताको लागि अहिले उपयुक्त उम्मेद्वार को होला ? अल्पसंख्यक, फरक भाषा संस्कृति, फरक वर्ण भएका हामी जस्ताको हक अधिकार कस्को पालामा संरक्षण होला ?

काम, अवसर, ज्यालादारी र सामाजिक तथा शारीरिक सुरक्षाका मामलामा कस्ले हाम्रो पक्षमा निर्णय गर्देला आजै विचार गरौं । बाहिरी हाहाहुहु र लहैलहैमा लागेर आफ्नै खुट्टामा बन्चरो नहानौं । गम्भीर भएर मनन गरौं अरब, कतार, मलेसिया जस्तो अल्पकालका लागि हैन, हामी यहाँ स्थायी बसोबास गर्न र यहीं मर्न आएका हौं ।

अमेरिकाजस्तो कडाइका साथ कानुनको परिपालना गरिने देशमा मुद्दाको चाङ लागेका व्यक्तिको हैसियत के हुन्छ ? यो भनिरहनुपर्दैन। बिना लाइसेन्स सवारी चलाए प्रहरीले टिकट दिन्छ र, जरिवाना तिर्न अदालत जानुपर्छ । त्यसको सम्पूर्ण प्रक्रिया पूरा नगरे कानुनी झमेलामा परिन्छ। तर, यसै देशमा ३४ वटा गम्भीर प्रकृतिका मुद्दा लागेको व्यक्ति अहिले राष्ट्रपतिको चुनावी दौडमा छन्।

र, अन्त्यमा, शिक्षित तथा सचेत मतदाता भएको अमेरिकामा यसपटक राष्ट्रपतिका उम्मेद्वारले अघिसारेका कार्यक्रम हेरिन्छ कि फगत नारा ? राजनीतिक संकल्प र प्रतिबद्ता हेरिन्छ कि बासी कामको रटान् । प्रेम सद्भाव, आपसी मेलमिलाप र भाइचाराको मान्यता रुचाइन्छ कि द्वेश, घृणा, गाली र वैरभाव? संसारभरका आप्रवासीको साझा घर अमेरिकालाई सबैको र एकिकृत हो भन्ने भावनाको कदर गरिन्छ कि तेरो र मेरोमा विभाजन गराउने ?

यी र यस्तै यावत प्रश्नको उत्तर खोजिन्छ भन्ने अपेक्षा छ । यद्यपि आजको दिनसम्म सार्वजनिक मतसर्वेक्षण अनुसार दुवैजना जितनजिक देखिएका छन् । व्यक्तिगत तवरका आंकलन र अनुमान पनि यसै सेरोफेरोभित्र छन् ।

र, यो क्रम नोभेम्बर ५ को लगभग साँझसम्म चल्नेछ । त्यसपछि कुनै एकले जित्ने छन् र राष्ट्र तथा सरकार प्रमुखको रुपमा चार वर्ष शासन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?