१८ कात्तिक, पोखरा । सारी ब्लाउजमा सजिएर निधारमा तिहारको सप्तरंगी टीका सजाएपछि जर्मन नागरिक लिसा ह्यारीलाई बिछट्टै खुसी मिल्यो । उनी केही दिनअगाडि एक महिनाका लागि स्वयंसेवी भूमिकामा पढाउन एक गैरसरकारी संस्थामार्फत पहिलोपटक पोखरा आइपुगेकी थिइन् ।
यहाँबाट देखिने हिमाल, ताल र प्रकृतिको बखान सुनेरै पोखरा आइपुगेकी लिसाका निम्ति तिहार चाडबारे जानकारी नै थिएन । तिहार सुरु भएसँगै भएको झिलीमिली बत्ति, समूह मिलेर देउसे–भैलो खेल्ने रमाउने संस्कृतिले उनको मनै हरेको थियो । त्योभन्दा पनि भिन्न अनुभव उनले भाइ टीकामा गरिन् ।
‘समूहमा मिलेर खेल्ने, रमाउने, एकले अर्कालाई सम्मान र आर्शिवाद दिने यो खालको चाड सायदै अन्त होला । यस्तो सामूहिक र पारिवारिक चाड अन्त छैन होला,’ लिसाले सुनाइन्, ‘दाजुभाइ, दिदीबहिनी र परिवारमात्र होइन, एकसाथ सिंगो समाजनै रमाउने कस्तो सामूहिक चाड ? मलाई त अद्भूत लाग्यो ।’
उनीसँगै उनका ६ जना विदेशी साथीले अहिले पोखरामा स्वयंसेवा गरिरहेका छन् । उनीहरू पनि भाइटीकामा निधारमा सप्तरंगी टीका लगाएर शुभकामना साटिरहेका थिए । लिसासँगै टानिया, कृस्टिअन, थोमस, ओलिवरलगायत साथीहरुले यो तिहारमा देउसेभैलोका समूह–समूहसँग मिसिएर नाचे, खुसी साटे र भाइटीका पनि लगाए ।
उनीहरुले तिहारमा सिंगो गाउँसहरमात्रै झिलीमिली नभएर अर्कालाई गर्ने प्रेम र सत्कारसहितको संस्कृतिले मनै झिलिमिली बनाउने बताए । उनीहरूले तिहारलाई पारिवारिक तथा सामूहिक रुपमा मनाउने प्रेम र सम्मानले भरिएको संस्कृतिका रुपमा चित्रण गरे ।
अस्ट्रेलियाका टम १० औं पटक नेपाल आइसके । त्यसमा पनि तिहारकै मौका पारेर आएको यो उनको चौथो पटक हो । तिहारमा टीका लगाउन र रमाउनकै लागि उनी यही मौका पारेर पोखरा आइपुगेको सुनाए । ‘पोखरा त मेरो दोस्रो घर भइसक्यो र पोखरामा मेरो अर्को परिवार पनि छ, जहाँ म आएर रमाउँछु, खुसी साट्छु,’ टमले सुनाए, ‘तिहारमा झनै मजा आउँछ, पारिवारिक रूपमा मिलेर टीका लगाउने, एकलेअर्कालाई सम्मान गर्ने, खेल्ने यत्तिको रमाइलो अर्को चाड लाग्दैन ।’
११ जनाको चिनियाँ नागरिकको टोली सँगै मिलेर तिहारको सप्तरंगी टीकामा सजिएर रमाएरहेका थिए । उनीहरु पोखरामा स्वयंसेवाका रुपमा चिनियाँ भाषा पढाउनका लागि आएका हुन् । उनीहरुले नेपालीसँग भिज्न, भाषा जान्नका लागि नेपालीकै नाम राखेका छन् । दुर्गा, लिला, रिक्की, टीना, रजनी, शान्ति, मीना, निर्सना लगायत नाम राखेर नेपाली संस्कार र संस्कृतिसँग भिज्न खोजिरहेका उनीहरू भाइटीकामा खुबै रमाइरहेका थिए ।
‘सबै जना मिलेर खेल्ने, खाने, रमाउने र एकले अर्कालाई यति धेरै माया र सम्मान गर्ने चाड निकै नै सुन्दर लाग्यो,’ स्वस्ती नेपाली नाम राखेकी एक चिनियाँ नागरिकले भनिन्, ‘विभिन्न रङको टीका लगाएर पाएको शुभकामना र सम्मान जीवनकै एक सम्झिरहने पल हुनेछ ।’
यसरी उनीहरुजस्तै पोखरा आइपुगेका धेरै विदेशी नागरिक तिहारको रमझम र भाइटीकामा रमाएका छन् । कतिपय विदेशी नागरिकले आफू बसेको होटल, रिसोर्टमै टीका लगाएर रमाएका थिए भने कतिपय विदेशीलाई सामूहिक भाइटीका लगाउने कार्यक्रम पनि पोखरामा भएको थियो ।
होटल संघ गण्डकी पोखराले सत्रौं भाइ टीका महोत्सव आयोजना गरेको छ । जहाँ १२ देशका ५६ जना विदेशीले सामूहिक भाइटीका लगाएर सेलरोटी, फिनी, अचारलगायत नेपाली मौलिक खाना–खाजामा रमाएका छन् ।
होटल संघको आयोजनामा भएको भाइटीका महोत्सवमा रेन्बो चिल्ड्रेन होम पोखराका बालिकाहरुले टीका लगाइदिएका थिए ।सप्तरंगी टीका, सयपत्री फूलको माला र ढाका टोपीमा सजिएर देउसेभैलोमा रमाएका विदेशी नागरिक खुसी हुँदै नेपाली तिहार संस्कृतिको खुलेर प्रशंसा गरे ।
‘घरमा हामीले जसरी दिदीबहिनीको हातबाट टीका लगाउँछौं, त्यसरी नै हाम्रो कल्चरको बारेमा जानकारी दिने र हामी पनि रमाउने उद्देश्यले भएका पर्यटकको बसाइ लम्ब्याउने र अरु पनि आउन् भनेर १७ वर्ष अगाडि भाइटीका महोत्सवको थालनी गरेका थियौं,’ होटल संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘बीचमा २ वर्ष कोरोनाका कारण मनाउन पाइएन, अघिल्लो सालबाट फेरि यसलाई निरन्तरता दिएका हौं ।’
यसरी सामूहिक रूपमा भाइटीका मनाउनु सांस्कृतिक पर्वको आदान–प्रदान पनि भएको अध्यक्ष सुवेदीको भनाइ छ । भाइटीका लगाएर गएका धेरै जना फेरि अर्को पटक पनि लगाउन आएकाले यो पनि पर्यटक बोलाउन, बसाइ लम्ब्याउन उपयुक्त ब्रान्ड बनेको सुवेदीले बताए ।
‘यो पर्यटक आउने सिजनमा भाइटीका के हो भनेर धेरैले जानकारी पनि प्राप्त गर्नुहुने छ, थप पर्यटक र उहाँहरु अर्को पटक पनि आउँदा यहीबेला आउनुहुनेछ भनेर सामूहिक रुपमा मनाएका छौं,’ सुवेदीले भने, ‘जुनसुकै धर्म, संस्कृतिका व्यक्ति भएपनि नेपालीसँगै रमाइरहेको र यसलाई धर्मसँगभन्दा पनि धेरैले संस्कृतिसँग जोडेर हेर्ने गरेका छन् ।’
महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । संस्कृति बचाऔं, पर्यटन प्रबर्द्धन गरौं भन्ने नाराका साथ भएको भाइटीका महोत्सवमा पर्यटकले नेपाली संस्कृति निकै आत्मिय, पारिवारिक र सामूहिक रहेको ढकालले बताए ।
तस्वीरहरूः अमृत सुवेदी/अनलाइनखबर
प्रतिक्रिया 4