म आजभोलि बेलायती प्राध्यापक ब्रायन कक्सका इन्टरनेटमा पाइने छोटा भिडियोहरू हेर्छु। भौतिकशास्त्र र खगोलशास्त्रको भुत्लोभाङ ज्ञान नभएको मलाई ब्रायनले सजिलो पारामा हाम्रो ब्रह्माण्ड कति विशाल छ र यसबारे हाम्रो ज्ञान कति सीमित छ भन्ने कुरा बुझाउँछन्। उनका भिडियो हेरेर केही कुरा सिक्छु र धेरै कुरामा छक्क पर्छु।
कक्सका भिडियोहरूमा मलाई घत पर्ने कुरा हो हाम्रो अस्तित्वको सीमितता। अनन्त (!) ब्रह्माण्ड र अनगिन्ती पिण्डका बीचमा एउटा सानो पिण्डमा झुण्डिएर हामी आफू र आफ्नो संसार अनि आफ्नो जीवनकालमा घट्ने घटनाहरूलाई अलि बढी महत्त्व दिइरहेका पो छौं कि ? कक्सले आजभोलि यसरी सोच्न बाध्य पार्छन् मलाई।
अब कक्सबाट डोनाल्ड ट्रम्पको अमेरिकातिर लागौं। अमेरिकाका उदारवादी र आफूलाई न्याय र लोकतन्त्रका हिमायती ठान्ने राजनीतिकर्मी र अभियन्ताले डोनाल्ड ट्रम्पलाई दिनुसम्म दुःख दिए। उनलाई जेल हाल्न सकेसम्म प्रयत्न भयो। डेमोक्रेटिक पार्टीका नेताहरूले त उनलाई समर्थन गर्ने मानिसहरूलाई रोगी र अज्ञानी समेत भने। राष्ट्रपतिको निर्वाचनमा उनको विजयलाई ‘कमनसेन्स’को पराजयका रूपमा व्याख्या, बयान गर्नेहरू प्रशस्त छन्।
तर, ट्रम्पले जितिछाडे। स्वतन्त्र र निष्पक्ष निर्वाचनमा उल्लेख्य बहुमत सहित उनी विजयी भए। ट्रम्पको विजयमा आश्चर्य मान्ने धेरै मानिसमध्ये एक म पनि हुँ। आश्चर्य यस अर्थमा होइन कि उनको विजय अप्रत्यासित थियो। आश्चर्य यस अर्थमा कि डोनाल्ड ट्रम्प जस्तो खुल्लमखुला रङ्गभेदी, विभिन्न गैरकानुनी काण्डहरूमा संलग्न र झुट बोल्न कत्ति पनि संकोच नमान्ने मानिसले अमेरिकाको राष्ट्रपतिको निर्वाचन कसरी जिते ?
एउटा मानिस जसले कोभिड-१९ को सङ्क्रमण निको पार्न घर सफा गर्ने ‘ब्लिच’को प्रयोग गर्न सल्लाह दिन्छ; आफ्नै छोरीको शरीरका बारेमा भद्दा यौनिक टिप्पणी गर्छ; र निर्वाचनको परिणाम स्वीकार नगरी आफ्ना समर्थकलाई हिंसामा उत्रिन आह्वान गर्छ त्यस्तो मानिसलाई अमेरिकी जनताले देश चलाउने जिम्मामा कसरी पत्याएका होलान् !?
निर्वाचित राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको सम्मान हुनुपर्छ। उनले पाएको मतको पनि सम्मान हुनुपर्छ। तर, सँगसँगै अमेरिकी निर्वाचन परिणामको अर्थ बुझ्न पनि प्रयास हुनुपर्छ। सन्दर्भ अमेरिकाको भए पनि यस परिणामको केही न केही प्रभाव नेपाल लगायत विश्वभर पर्नेछ। अमूर्त र सैद्धान्तिक मात्र नभएर यो परिणामले हाम्रो दैनिक जीवनमा अबका दिनमा ठोस असर पार्न सक्ने सम्भावना पनि छ।
डोनाल्ड ट्रम्पको पपुलिस्ट राजनीतिक आन्दोलन किन अमेरिकामा प्रभावशाली छ भन्ने विषयमा लेखिएका विभिन्न पुस्तक वा लेख–रचनामध्ये मलाई घत परेको पुस्तक माइकल सान्डेलको ‘टिरेनी अफ मेरिट’ हो। यस पुस्तकमा सान्डेलको मोटामोटी तर्क यस्तो छः
विगत ७-८ दशकयता आधुनिकता र समृद्धि हासिल गर्ने नाममा सीमित र चुनिएका मानिसले मात्र अवसर, सम्पन्नता र सम्मान पाएका छन्। एउटा ठूलो जनसङ्ख्या, जसको औपचारिक अध्ययन वा डिग्री उल्लेख्य छैन; पेशा सामान्य छ; र आम्दानी औसत छ, त्यो समाजबाट अपहेलना सहन बाध्य छ। टाठाबाठा कहलिएकाले औसत मानिसको पेशा र उसको योगदानको सम्मान गरिरहेका छैनन्। संकटका बेला सामान्य मानिसले रोजेका पेशा र व्यवसायलाई यथेष्ट सुरक्षा दिइएको छैन।
लोकतन्त्र र उदारवादलाई आदर्श बनाएको डेमोक्रेटिक पार्टीका यसअघि निर्वाचित राष्ट्रपति क्लिन्टन, ओबामा र बाइडेनले यस्तो प्रशासनलाई बढावा दिए जसले सामान्य मानिसका असन्तुष्टि र अपेक्षालाई बेवास्ता गर्यो र ठूला व्यापारी, पढेलेखेका र धनाढ्यहरूको स्वार्थ र उनीहरूका रणनीतिलाई मात्र प्राथमिकता दिइरह्यो।
जब एउटा मानिसले आफूले उत्पादन गरेको वस्तु वा सेवालाई समाजले महत्त्व र इज्जत दिएको अनुभूति गर्न सक्दैन त्यसबेला उसमा चरम निराशा र व्यग्रता उत्पन्न हुन्छ। सान्डेलको विचारमा अमेरिकी समाजमा यो असन्तुष्टि र व्यग्रताको थुप्रो लागेको छ।
यही परिवशमा डोनाल्ड ट्रम्प औसत मानिसका भरपर्दो सहारा बनेर उदाए। ट्रम्पको राजनीतिक अभियानमा संलग्न मानिसहरू बुद्धिहीन र मूर्ख होइनन्, तिनै सर्वसाधारण मानिस हुन् जो विद्यमान प्रणालीबाट सम्मान र त्यसमा आफ्नो स्थान चाहन्छन्।
ट्रम्प अमेरिकामा किन लोकप्रिय बने भन्नेमा सान्डेलको विश्लेषण निकै उपयोगी छ। तर, हामीले घोत्लिनुपर्ने प्रश्न अरू पनि छन्। पहिलो प्रश्न हो- के डोनाल्ड ट्रम्प वास्तवमै औसत मध्यम वर्गको श्रम र उनीहरूका अपेक्षाको सम्मान गर्ने नेता हुन् ? राष्ट्रपतिका रूपमा उनको विगतको चारवर्षे कार्यकालमा के-कस्ता काम भए जसबाट सामान्य मानिसले सम्मान र राहतको अनुभव गर्न सके ?
यसको जवाफ अमेरिकामा बसोबास गर्ने उनको प्रशासनलाई प्रत्यक्ष अनुभव गर्नेले राम्रोसँग दिन सक्लान्। बाहिर उपलब्ध सीमित सूचनाका आधारमा हेर्दा भने उनको प्रशासन अस्थिर र अराजक देखिएको थियो। प्रशस्त चर्चा भएको शरणार्थी रोक्ने पर्खालको उनको योजना असफल रह्यो। कोभिड-१९ को चुनौती सामना गर्नमा उनको प्रशासन प्रभावकारी देखिएन। जलवायु परिवर्तनको पेरिस सहमतिबाट बाहिर निस्किने उनको निर्णयले जलवायु परिवर्तनबाट उब्जिने सङ्कट सामना गर्ने विश्व प्रयत्न थप चुनौतीपूर्ण बन्यो। विश्वका अलोकतान्त्रिक, क्रूर, अराजक र तानाशाही शासकहरूसँग उनले सम्बन्ध सुधारे, तर लोकतान्त्रिक देशहरूसँगको सम्बन्ध र सहकार्य चेपुवामा पर्यो।
तर पनि, अमेरिका बाहिरको संसारमा डोनाल्ड ट्रम्पको लोकप्रियता जबर्जस्त नै छ। उनलाई मन पराउनेहरूमा कम पढेका र कम बुझेका मानिसहरू मात्र छैनन्। विद्वान्, चेतनशील र सम्पन्न मानिसहरूमाझ पनि ट्रम्प निकै लोकप्रिय छन्। ट्रम्पलाई खरो, स्पष्ट, दृढ, साहसी आदि विशेषण सहित उनको गुणगान गाउने विद्वान्हरूको संसारमा मात्र नभएर नेपालमा पनि कमी छैन।
यो लोकप्रियताको अन्तर्य के होला त ? मलाई भने यस्तो लाग्छ- अमेरिकाको समाजमा जे-जस्ता जटिलता छन् ती जटिलता नेपालमा छैनन्। भए पनि त्यो मात्रा वा तीव्रतामा छैनन्। नेपालको समाज, अर्थव्यवस्था र राज्य प्रशासनको चरित्र र भूमिका स्वाभाविक रूपमा फरक छ। त्यसैले, आफ्नो भूमिकाको सम्मान नपाएको र सम्भ्रान्त वर्गको सञ्जालमा जोडिन नसकेकाहरूको असन्तुष्टि नेपालमा ट्रम्प समर्थनको कारण नहुन सक्छ।
तर, यसको अर्थ नेपाली समाजमा गतिरोध छैन भन्ने होइन। नेपालको अर्थ–राजनीतिको अहिलेको अवस्थालाई सामान्य रूपमा हेर्दा प्रस्ट देखिने कुरा के हो भने यहाँ पनि आफ्नो प्रतिष्ठा, सम्मान र भूमिकामा आँच आएको अनुभूति गर्नेहरूको सङ्ख्या उल्लेख्य छ। नेपालका सन्दर्भमा त यो असन्तुष्टि अझ गाढा किन पनि छ भने नेपालको अहिलेको संविधानले दशकौं वा सदियौंदेखि आफूले ओगटेको स्थान र प्राप्त गरेको सम्मान गुमेको अनुभूति एउटा समुदायले गरिरहेको छ। उसले आफूलाई उपेक्षित महसुस गरेको छ र ‘नयाँ व्यवस्थाका कारण नोक्सानी बेहोर्नु परिरहेको पीडा’ मनभित्र पालेर बसेको छ। यो असन्तुष्टि राजनीति र निर्वाचनहरूमा पनि विभिन्न रूपमा प्रकट भइरहेको छ। यसको विश्लेषण गर्ने जिम्मा अहिलेलाई पाठकको।
अब लागौं डोनाल्ड ट्रम्पलाई साहसी वा दृढ ठान्ने मानसिकतापछिको अर्को सम्भावित कारणतर्फ। डोनाल्ड ट्रम्पको राजनीतिको चरित्रसँग जोडिएका केही विशेषता उल्लेख्य छन्। ट्रम्प विगतप्रेमी हुन्। उनी भन्छन्- अमेरिका पहिला सुन्दर र समृद्ध थियो, अहिले बिग्रियो, यसलाई सपार्नुपर्नेछ। त्यसैगरी, ट्रम्पको समग्र राजनीतिक दृष्टिकोण षड्यन्त्रको थ्यौरीमा आधारित छ। उनी ठान्छन्- अमेरिका बिगार्नमा निश्चित मानिस र संस्था (जस्तै, मूलधारे सञ्चारमाध्यम) ले नियोजित षड्यन्त्र गरिरहेका छन्। उनी त्यो षडयन्त्र विफल गराउन चाहन्छन्। ट्रम्पको राजनीतिको तेस्रो टेको हो जातीय विशिष्टता। उनी ठान्छन् अमेरिकी र त्यसमा पनि त्यहाँ लामो समय बसोबास गर्ने गोरा जातिहरू अन्य जाति वा समूहभन्दा विशिष्ट गुणले सम्पन्न छन् र अरूभन्दा बढी अवसर र सम्मानका लागि योग्य छन्।
विगतप्रतिको आसक्ति, षड्यन्त्रमाथिको विश्वास र आफ्नो जैविक सर्वोच्चतामा मानिसलाई आकर्षित गर्ने अचम्मको शक्ति हुन्छ। यो शक्तिलाई कम आक्न मिल्दैन। नेपालमा पनि विगत सम्झेर भावुक हुने, नेपाल कमजोर बनाउन विदेशी वा स्वदेशी षडयन्त्र गरिरहेका छन् भनेर दु:खी हुने र आफू वा आफ्नो समूहलाई अरूभन्दा स्वतः योग्य ठान्ने मानिसहरूको कमी छैन।
यी सबै भए विश्लेषणका कुरा। जसले देश चलाउने महत्त्वाकाङ्क्षा राखेको हुन्छ उसले यी गतिशीलता बुझ्न सक्नुपर्छ। आज डोनाल्ड ट्रम्पको राजनीति सफल भएकोमा दु:खी हुने अमेरिकाका जति पनि नाम चलेका नेता वा पूर्व शासक छन् तिनीहरूले यी सामान्य गतिशीलतालाई सही ढङ्गले सम्बोधन गर्ने प्रयत्न गरेनन् कि ?
अमेरिकामा सल्केको रोगबाट बच्न ट्रम्पको आलोचना गरेर बस्नु मात्र पर्याप्त हुँदैन। आफ्नो अधिकार, अवसर र सम्मान खोसिएको महसुस गर्ने, आजभन्दा ३० वा ५० वर्षअघिको नेपाल सुन्दर थियो भन्ने विश्वास गर्ने र कसैले नेपाल कमजोर बनाउन षड्यन्त्र गर्दैछ भन्ने समूहसँग राजनीति गर्ने मानिसहरूले संवाद गर्नुपर्यो र उनीहरूका जायज असन्तुष्टिको सम्बोधन गर्नुपर्यो।
बिट मार्ने क्रममा फेरि एकपटक ब्रह्माण्डको कुरा। पृथ्वी सम्भवत: १३ अर्ब वर्ष पुरानो हो। यसमा जीवको अस्तित्व सम्भवत: ५ अर्ब वर्षअघि सुरु भयो। १३ र ५ अर्बमा प्रशस्त शून्यहरू छन्। त्यसबीच केही हजार वर्षअघि सुरु भएका राज्य र राजनीतिले दैनिक जीवनमा महत्त्व त राख्छन्, तर आज हामीलाई महत्त्वपूर्ण लाग्ने सबै घटना सूक्ष्म र परिवर्तनशील हुन्।
त्यसैले, अमेरिकाको निर्वाचन परिणामबाट चिन्तित हुनु वा फुर्किनु भन्दा बढी बुद्धिमानी यसमा हुन्छ कि सकेसम्म यसका विभिन्न आयाम बुझौं र सम्भावित परिणामका बारेमा सतर्क रहौं ।
प्रतिक्रिया 4