मेरो घर पचालझरना गाउँपालिका—८, कालीकोट हो । म अहिले ५२ वर्षकी भएँ । म त्यो वडाको निर्वाचित वडा सदस्य पनि हुँ । हाल वीरेन्द्रनगर नगरपालिका—३, तातापानी सुर्खेतमा बस्दै आएकी छु । २०६६ सालदेखि हाम्रो परिवार सुर्खेत बस्न थालेको हो ।
सुर्खेतसँग हाम्रो सम्बन्ध जोडिएको २०६२/६३ पछि हो । त्योभन्दा पहिले हामी कालीकोटबाट नुन लिन पैदल बाटो हिंडेर सुर्खेत वा कैलाली जान्थ्यौं । भेडा च्याङ्ग्रा ल्याएर नुन लिएर जान्थ्यौं । त्यो बेला यात्रा महिनौं लामो हुन्थ्यो ।
नेपालमा शान्ति प्रक्रिया आएसँगै कर्णाली राजमार्ग सञ्चालनमा आयो । पहिला महिना दिन लाग्ने बाटो ५–६ घण्टामै पुग्न सकिने भयो । जसले गर्दा हाम्रो सुर्खेत आवतजावत बढ्यो । गाडी पुगेपछि दुरी घट्यो ।
हामीहरूले पनि शहरमा सुख–सुविधा हुँदोरहेछ भन्ने थाहा पायौं । त्यही सुख–सुविधा खोज्दै सुर्खेत आएर बस्न थाल्यौं । सुर्खेतको राम्रो स्कुलमा छोराछोरी पढाउन थाल्यौं । कालीकोटमा अहिलेसम्म पनि राम्रा स्कुल छैनन् । त्यो बेला हुने कुरै भएन ।
पहिले क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगर पछि प्रदेश राजधानी भयो । त्यो बेला पढ्न आएका छोराछोरीहरू फेरि गाउँ फर्किन मानेनन् । जसले गर्दा अहिले सुर्खेतमा पनि घर हालेका छौं । हामी बुढाबुढीलाई गाउँघरको माया लाग्छ । गाउँमा पनि घरजग्गा छ । सुर्खेत र कालीकोट बराबर बस्दै आएका छौं ।
पछिल्लो समय हामी मात्रै सुर्खेत आएनौं, हाम्रो गाउँ भिटाका अधिकांश परिवार सुर्खेत झरेका छन् । घर हाल्न नसक्नेहरूले पनि कोठा भाडामा बसेर छोराछोरी पढाउन थालेका छन् । खासमा यो शहरको आकर्षण नै अर्कै हुँदोरहेछ । कतिसम्म भने गाउँका सामान्य युवाहरू पनि कोही कालापहाड (भारत), साउदी, मलेसिया लगायतका देशमा काम गरेर पनि आफ्ना बालबच्चा सुर्खेतमा पढाउन थालेका छन् ।
शहरमा कोही नबसोस् पनि किन, आज गाउँमा खेतीकिसानी गर्ने, दिनभरि मजदुरी गर्ने, आफ्नो अन्नबाली उब्जाउनेहरूले जतिसुकै मिहिनेत गरे पनि साँझ–बिहान छाक टार्न उनीहरूलाई हम्मे–हम्मे हुन्छ । उनीहरूसँग दिनैपिच्छेको खर्च चलाउने सामान्य पैसा पनि हुँदैन । तर त्यही मान्छे वीरेन्द्रनगरमा आएर अटो चलाउँदा मात्रै उनको परिवार राम्रोसँग पालिन सक्छ । उसले छोराछोरी बोर्डिङमा पढाएको छ । कोठा भाडा तिर्न सकेको छ । गाउँमा फाटेका कपडा फेर्न सक्ने भएको छ ।
गाउँमा राम्रो स्वास्थ्य चौकी छैन । खानेपानी ल्याउन घण्टौं हिंडेर जानुपर्छ । जीविका चलाउने माध्यम एउटै— गर खेती–किसानी, नगर खेती–किसानी ! त्योभन्दा अर्को विकल्प छैन । तर शहरले धेरै विकल्प दिंदोरहेछ ।
आज मेरै गाउँका दिदीबहिनीहरू डोकोमा तरकारी बेचेर, वीरेन्द्रनगरका सडक किनारामा मकै पोलेर, ठेलामा फलफूल बेचेर मासिक २५–३० हजार चोखो आम्दानी गर्छन् । अनि के उनीहरू फेरि गाउँमै गएर काम गर्छन् त ? गर्दैनन् नि !
वीरेन्द्रनगरमा कर्णालीका विभिन्न जिल्लाबाट मान्छेहरू मात्रै आएका छैनन् उनीहरूले त्यहाँको, भेषभुषा र कला संस्कृति पनि ल्याएका छन् । त्यसको एउटा उदाहरण हो, वीरेन्द्रनगरको खुलामञ्चमा लाग्ने देउडा मेला । प्रत्येक महिनाको १ र १५ गते खुलामञ्चमा देउडा मेला लाग्छ । भेरी कर्णाली देउडा समितिले त्यो मेलाको आयोजना गर्दै आएको छ । म आफैं त्यो समितिको उपाध्यक्ष छु ।
उक्त मेलामा आउने अधिकांश मान्छे दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, अछाम, जाजरकोट र रुकुमका हुन्छन् । छोराछोरीसँग वीरेन्द्रनगर झरेका ज्येष्ठ नागरिक देउडा मेलामा आएर आफ्नो बुढ्यौली बह पोख्छन् । पहिले पहिले महिनाको एक गते मात्रै मेला लाग्थ्यो । अहिले उहाँहरूले नै महिनामा दुई पटक गरौं भनेर महिनाको १ र १५ गते मेला लगाउन थालिएको छ ।
उक्त मेलामा म २०६६ सालदेखि सहभागी हुँदै आएकी छु । त्यो बेला देउडा खेल्ने मान्छेहरू भेट्न मुस्किल पर्थ्यो । तर, हिजोआज देउडाको एक फन्को लगाउन आधा घण्टा लाग्छ । यसले पनि थाहा हुन्छ कि पछिल्लो समय वीरेन्द्रनगरमा बसाइँ सरेर आउनेहरूको संख्या अधिक छ ।
पछिल्लो समय सुविधाको खोजीमा वीरेन्द्रनगर झर्नेहरूको लर्को यसरी लाग्यो कि म आफैं अचम्मित हुन्छु । अहिले गाउँमा युवा छैनन्, उनीहरू शहरमा वा विदेशमा छन् । गाउँमा बुढाबुढी रित्ता घरको हेरालो बनेका छन् ।
पछिल्लो समय सडक, बिजुली, पानी लगायत सुविधा गाउँमै पुगेका छन् । तर, सुविधा खोजेर मात्र मान्छे शहर झरेका होइन रहेछन् । सुविधाकै कुरा गर्ने हो भने अहिले गाउँमा घरघरै धारा छन् । सडक, बिजुली र सञ्चारको सुविधा छ । तर गाउँमा शिक्षा राम्रो छैन, रोजगारी छैन भनेर मानिस सुर्खेत झरिरहेका छन् ।
शहरमा जग्गा–जमिन किन्न नसक्ने र गाउँको माया मार्न नसक्ने बुढाबुढी मात्र घरमा बसिरहेका छन् । कतिपय बुढाबुढी भने गाउँ–शहर आउजाउ गरिरहेका छन् । शहरमा पनि घरजग्गा छ र गाउँ पनि छोडेका छैनन् । चाडबाड, कार्यक्रमहरूमा गाउँ उक्लिनेहरूको संख्या ठूलो छ । छोराछोरी विदेश हुने पनि केही गाउँ छोड्न नसकेर माटोको मायाले नै बसेका छन् ।
(पचालझरना गाउँपालिका—८ कालीकोटबाट सुर्खेत झरेकी ५२ वर्षीया शाहीसँग अनलाइनखबरका लागि यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4