त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदामा गएका शिक्षक विदेशमै लुक्ने गरेको भेटियो । यसरी शिक्षकले बिदा दुरुपयोग गर्दा पनि त्रिविले कडाइका साथ नियमन र कारबाही गरेको देखिएन । तलब सहित अध्ययन बिदामा गएका शिक्षकलाई त्रिविले किन खोजीनिती गर्दैन ? कारबाही गर्ने नियम भए पनि किन कार्यान्वयन भएन ? यस सम्बन्धमा त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालसँग अनलाइनखबरका लागि दिनेश गौतमले गरेको कुराकानी ।
अध्ययन बिदाको चरम दुरुपयोग हुँदोरहेछ । त्रिविले किन तलब सहितको बिदा दिन्छ ?
अध्ययन बिदा शिक्षकको वृत्ति विकासको लागि दिएको हो । स्नातकोत्तर गरेको छ भने थप एमफिल गर्न दिने हो । एमफिल गरेको छ भने पीएचडी र पीएचडी गरेकालाई स्पेसल कोर्स पढ्न बिदा दिइन्छ । शिक्षकमा ज्ञान र सीपको विकास गर्न यस्तो बिदा दिने गरिएको हो ।
तर अध्ययन बिदा त शिक्षकलाई विदेश जाने सजिलो बाटो भइरहेको रहेछ । ‘नफर्क उतै बस’ भनेर बिदा दिएको जस्तो भएन र ?
होइन । नेपाली कागजमा ल्याप्चे हानेर साक्षी राखेर कबुलियत गरेर बिदा दिएको हुन्छ । पाँच वर्ष बिदा बसेमा फर्किएर पाँचै वर्ष सेवा गर्छु भनेर कबुल गरेपछि बिदा दिने हो । अध्ययन गरेर नफर्केमा वा अध्ययन पूरा नगरी आएमा त्रिविले उसलाई खर्च गरेको सबै रकम ब्याज सहित फिर्ता लिन्छ ।
धेरैजसोले फिर्ता गरेका रहेनछन्, कागज गरेर दिएको पैसा त्रिविले किन उठाउन सकेन ?
अध्ययन पूरा गर्ने त्यसपछि विदेशमै लुक्यो भने उठाउन गाह्रो हुने रहेछ । विदेश गएका मध्ये फिर्ता गर्ने पनि छन् । पहिले अध्ययन बिदा लिने अनि अर्को ठाउँमा काम गर्ने गरेको पनि भेटिन्थ्यो ।
अध्ययन पूरा गरेर विदेशमा लुक्नेलाई कारबाही कसले गर्ने हो त ?
त्रिविले नै गर्ने हो । अहिले कडाइ गरेका छौं ।
नेपाली कागजमा कबुलियत गर्दा जायजेथाबाट असुलउपर गर्ने भनिएको हुन्छ । तर कसैसँग पनि जायजेथाबाट उठाइएको छैन । उनीहरू प्रति त्रिवि किन यति उदार भएको हो ?
उदार भएको होइन । जायजेथाबाट उठाउन सकिन्छ । अब नेपाल फर्किंदा इमिग्रेसनबाट नै नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढाउँछौं ।
अध्ययन बिदामा जाने, युरोप अमेरिकामा बसेर काम गर्ने अनि त्रिविको ढुकुटीबाट तलब पनि खाने यसो गर्न मिल्छ ?
त्यसो गर्न पाइँदैन । अध्ययनको लागि गएपछि पढ्ने मात्रै हो, अरू काम गर्न पाइँदैन । धेरैले ढाँटेर काम गरेका होलान् । जुन विश्वविद्यालयमा पढ्न गएको हो त्यो विश्वविद्यालयको नियममा पनि भर पर्छ । यदि ढाँटेर काम गरेको रहेछ भने सुपरभाइजरलाई थाहा हुन्छ । उसले सुपरभाइजरको निगरानीमा अध्ययन गरेको हुन्छ । त्यो कुरा सुपरभाइजरले हेर्नुपर्छ ।
कुन विश्वविद्यालयमा पढ्न गएको हो त्यो त त्रिविलाई थाहा हुन्छ होला नि ! नफर्किएपछि सम्बन्धित विश्वविद्यालयसँग समन्वय गरेर खोजीनिती गर्नुपर्ने होइन र ?
जुन विश्वविद्यालयमा गएको हो त्यो विश्वविद्यालयले फर्किएको भन्छ । तर अध्ययन सकिएपछि विश्वविद्यालयबाट बाहिरिएर अर्को ठाउँमा गएर लुक्ने रहेछन् । उतै पीआर समेत लिने रहेछन् । एक जना साथी कृषिबाट पीएचडी गर्न जानुभएको थियो । उतै व्यापार गरेर बसेको भेटियो । उतै कागजात मिलाएर बस्ने रहेछन् ।
१० वर्षको तथ्यांक हेर्दा बिदामा बस्दा शिक्षकको लागि तलब मात्रै १ अर्ब रुपैयाँ बढी गएको रहेछ । कति फर्किए, कति फर्किएनन् अभिलेख त्रिविसँग छैन । यो कसले हेर्ने हो ?
कहाँ यति तलबमा मात्र हो । योभन्दा दोब्बर खर्च हुन्छ नि ! पढ्न जानेलाई तलब पनि दिनुपर्छ । त्यो ठाउँमा अर्को शिक्षक राख्नुपर्छ । उसलाई पनि तलब खुवाउनै पर्यो । त्रिविले ठूलो क्षति व्यहोर्नुपरेको कुरा सत्य हो ।
अध्ययन बिदा तलबी हुन्छ । अर्को वृत्ति विकासको लागि पनि छ । विश्वविद्यालय अनुदान आयोगले फेलोसिप पनि दिन्छ । वृत्ति विकासमा गएकोलाई तलब मात्र होइन भत्ता पनि दिनुपर्छ । एक वर्षको स्वअध्ययन बिदा पनि छ ।
फेरि किताब लेख्नको लागि पनि बिदा दिने हो । किताब लेख्छु भनेर कबुलियत गरेको हुन्छ । तर लेख्दैनन् । नलेखेमा ब्याज सहित पैसा फिर्ता गर्नुपर्छ । यसमा पनि हामी कडाइ गर्न थालेका छौं । बिदा दिने सामान्य महाशाखाले हो र कारबाहीको प्रक्रिया रजिष्ट्रार कार्यालयले गर्छ । तथ्यांक खोजेर रजिष्ट्रार कार्यालयले शिक्षकको स्थितिबारे अध्ययन गरिरहेको छ । नफर्किनेलाई खोजेर थप प्रक्रिया अगाडि बढाउँछौं ।
त्रिविको नियमन अति नै फितलो भएन र ?
अब कडाइका साथ कार्यान्वयन गर्छौं ।
नफर्किने शिक्षकलाई के गर्ने ?
त्रिविबाट खाएको तलबमा ब्याज सहित फिर्ता गराउँछु । कहाँ छन्, के गर्दै छन् सबै पत्ता लगाएर असुल उपर गर्छु ।
प्रतिक्रिया 4