संसारका हरेक मानिस विशेष हुन्छन् । प्रकृतिले सबै मानिसलाई केही यस्तो विशेषता प्रदान गरेको हुन्छ कि सोही विशेषताले उसलाई खास बनाउँछ । गिनिज वर्ल्ड रेकर्डस्ले यस्तै मानिसहरुलाई कीर्तिमानको पुस्तकमा दर्ज गरेर राख्दछ र संसारसामु उनीहरुको कीर्तिमानको खुलासा गरिदिन्छ । हालै गिनिज बुक अफ वर्ल्ड रेकर्डस् दिवसका अवसरमा एउटा विशेष तथा रोचक घटना भएको छ ।
उक्त दिवसमा लण्डनस्थित चर्चित सवाय होटलमा विश्वकी सबैभन्दा होची महिला र सबैभन्दा अग्ली महिलाबीच भेटघाट र चियापान भयो । उक्त चिया पार्टीसहितको भलाकुसारीका तस्वीर तथा भिडियो इन्टरनेटमा निकै भाइरल बनिरहेका छन् ।
विश्वकी सबैभन्दा अग्ली महिला रुमेसा गेलगी हुन् । २७ वर्षीया यी टर्किस महिलाले वेब डेभलपरको काम पनि गर्दछिन् । उनको उचाइ ७ फिट १ इन्च छ । त्यस्तै विश्वकै होची महिलाचाहिं भारतकी ज्योति आम्गे हुन् जसको उचाइ २ फिट १ इन्च छ ।
गेलगी र आम्गेबीचको सो रोचक भेटघाटको फोटो तथा भिडियोहरु गिनिज वर्ल्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राममा शेयर गरेको छ ।
गिनिज वर्ल्ड रेकर्डस्सँग कुराकानी गर्दै गेलगीले ज्योतिसँग पहिलोपटक भएको भेटघाट अद्भुत रहेको बताइन् । ज्योति निकै सुन्दर महिला रहेको र उनीसँग भेट्न आफू लामो समयदेखि प्रतिक्षा गरिरहेको उनको भनाइ छ ।
तथापि आफूहरूबीचको उचाइको अन्तरले गर्दा आँखामा आँखा जुधाएर कुराकानी गर्न गाह्रो भएको उनको अनुभव छ ।
त्यस्तै ज्योतीले पनि विश्वकै अग्ली महिलासँग भेट्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको भन्दै भनेकी छिन्- आम रुपमा मैले मानिसहरुलाई हेर्नका लागि माथितर्फ नै हेर्नुपर्छ । तर, आज मैले माथितर्फ हेर्दा विश्वकै सबैभन्दा अग्ली महिलालाई हेर्न पाउनु खुसीको कुरा थियो ।
प्रतिक्रिया 4