News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको ७.२२ मिटर लामो अजिंगरले विश्वको सबैभन्दा लामो जंगली सर्पको रूपमा गिनिज बुकमा नाम लेखाएको छ।
इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिंगरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। जनवरीको अन्तिम साता मारोस क्षेत्रमा फेला परेको उक्त रेटिकुलेटेड जातको अजिंगरले विश्वको सबैभन्दा लामो अजिंगरको रूपमा गिनिज बुकमा नाम लेखाएको छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार उक्त अजिंगरको लम्बाई ७.२२ मिटर रहेको छ । गिनिज बुकका अनुसार यो अजिंगर अहिलेसम्म फेला परेको सबैभन्दा लामो जंगली सर्प हो । गिनिज बुकले उक्त अजिंगरको भिडियो आफ्नो सोसल मिडियामा सार्वजनिक गरेको छ।
उक्त पोथी अजिंगरलाई ‘इबू ब्यारोन’ नाम नामाकरण गरिएको छ। यसको अर्थ राजघराना वा उच्च कुलकी महिला भन्ने हुन्छ।
विशेषज्ञहरूका अनुसार इबू ब्यारोनको लम्बाइ लगभग फुटबलको गोलपोस्टको पूरै चौडाइ बराबर छ।
विज्ञहरूले उक्त अजिंगरको मापन गर्दा एनेस्थेसिया प्रयोग नगरीकनै गरेका थिए । यदि त्यसलाई लठ्याएर वा पूर्ण स्थीर अवस्थामा मापन गरिएको भए यसको लम्बाइ ७.९ मिटरसम्म पुग्न सक्थ्यो ।
मापनका बेला यसको तौल ९६.५ केजी थियो । तर यसले हाल खासै खाना नखाएकाले भरपेट भोजन गरेपछि यसको तौल १०० किलोग्रामभन्दा बढी हुन सक्ने विज्ञहरूको अनुमान छ ।
उक्त अजिंगरको अध्ययन तथा मापन इन्डोनेसियाका अनुभवी सर्पविज्ञहरू सहभागी भएर गरेका थिए । टोलीको नेतृत्व दियाज नुग्राहा ले गरेका थिए भने अभिलेखीकरण कार्यमा फोटोग्राफर राडू फ्रेन्टियूले सहयोग गरेका थिए । यी सम्पूर्ण विवरणहरू अनुसन्धानकर्ता जर्ज बेकालोनीमार्फत सार्वजनिक गरिएका हुन् ।
स्थानीय स्तरमा अफवाह फैलिन थालेपछि अजिंगरको सुरक्षामा खतरा देखिएको थियो । त्यसैले टोली तत्काल घटनास्थलमा पुगेर सही मूल्यांकन गर्नुका साथै भीडबाट हुन सक्ने जोखिमबाट अजिंगरलाई सुरक्षित राख्न सफल भयो ।
हाल इबू बैरोनलाई मारोस काउन्टीमा संरक्षणवादी बुडी पुरवांतोको निजी स्याङ्क्चुअरीमा सुरक्षित रूपमा राखिएको छ । सामान्यतया यति ठूला सर्पहरू बस्तीनजिक देखिँदा खतरा ठानी तुरुन्तै मारिने प्रचलन छ । त्यस कारण यो उद्धार र संरक्षण प्रयासलाई विशेष महत्वका रूपमा हेरिएको छ।
विशेषज्ञहरूका अनुसार वन क्षेत्र निरन्तर घट्दै जाँदा मानिस र वन्यजन्तुबीचको टकराव तीव्र हुँदै गएको छ । शिकार, अवैध व्यापार र बासस्थान नष्ट हुनुले ठूला अजिंगरहरू बस्तीनजिक देखिन थालेका छन् । डर र गलत बुझाइका कारण धेरै ठूला सर्पहरू दर्ता नै नभई मारिने वा हराउने गरेका छन् ।
यसअघि प्रमाणित गरिएको सबैभन्दा लामो जंगली रेटिकुलेटेड अजिंगरको लम्बाइ ६.९५ मिटर थियो, जसलाई सन् १९९९ मा बोर्नियोमा पाइएको थियो । इबू ब्यारोनले अब त्यो रेकर्ड तोडेको छ । विज्ञहरूका अनुसार अझै पनि टाढाका दुर्गम जंगलहरूमा यसभन्दा ठूला अजिंगरहरू लुकेर बसिरहेका हुन सक्छन् । त्यसैले भविष्यमा इबू ब्यारोनको रेकर्ड तोडिन सक्छ।
एजेन्सी
प्रतिक्रिया 4