१२ मंसिर, काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २ सय ९७ किलोिमटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।
एमसीए- नेपालले आज एक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो ।
यसअघि गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ । त्यसमध्ये न्यु बुटवल-गोरखपुर प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का लागि सकेको छ ।
१ करोड २४ लाख अमेरिकी डलरमा सो प्रसारण लाइन निर्माण गर्न ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८१ मा सम्झौता भएको थियो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिने एमसीसीले जनाएको छ ।
त्यसबाहेक प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तोकिएको छ । प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा १७ माघ २०८१ लाई तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको एमसीए नेपालले जनाएको छ । अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूमाथि समीक्षा गरिएकाले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने अपेक्षा गरिएको पनि एमसीए नेपालले जनाएकाे छ ।
यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए ।
कम्पनीहरूले गरेको सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत वर्षकै २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।
परिमार्जित प्रावधानहरूका कारण बाँकी २ सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा विश्वस्त रहेको एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्टले बताए । ‘गएको वर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुनःआह्वान अर्काे उपलब्धि हो ।
एमसिए–नेपाल, नेपाल सरकार तथा एमसीसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै यस खरिद कार्य र प्रसारण लाइन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि उनले बताए ।
एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदैछ ।
त्यसमध्ये ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना कार्यान्वयन हुनेछन् ।
५ वर्षमा निर्माण सम्पन्न हुनैपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने प्रकृतिको एमसीए परियोजना गत वर्षको १३ भदौमा कार्यान्वयनमा गएको थियो ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ १४ मा नै एमसीसी सम्झौता भए पनि राजनीतिक अवरोधका कारण कार्यान्वयन ढिलो गरी सुरु भएको थियो । सरकारले यो परियोजना कार्यान्वयनको जिम्मेवार निकायका रूपमा ५ वैशाख ०७५ मा एमसीए नेपाल स्थापना गरेको थियो ।
प्रतिक्रिया 4