+
+
फिल्म साउथ एसिया :

‘देवी’ का आँशुहरुको राजनीतिक अर्थ

सुविना श्रेष्ठको वृत्तचित्रमा सशस्त्र द्वन्द्वकालीन यौनहिंसाको चित्र

बसन्त बस्नेत बसन्त बस्नेत
२०८१ मंसिर ८ गते २०:००

सुविना श्रेष्ठले बनाएको ‘देवी’ डकुमेन्ट्री फिल्म हेर्न थाल्यौं भने हामी धेरै ठाउँमा रुन्छौं ।

कतिपय यस्ता दृश्य छन्, जहाँ हामी रुन पनि सक्दैनौं । जब आँशु खस्न मान्दैनन्, त्यति बेला आँशुलाई राजनीतिक अर्थ दिनुपर्छ ।

‘देवी’ १० वर्षे माओवादी सशस्त्र युद्धकालमा बगेका, तर आम जानकारीमा नआएका थुप्रै आँशुहरुको राजनीतिक दस्तावेज हो । फिल्मको शक्तिले नेपालमा युद्ध गरेका पक्षहरुलाई वास्तविक पीडितहरुको बारेमा घोत्लिन बाध्य पार्छ । उनीहरुले खेपेका प्रताडनालाई केवल तथ्यांकमा होइन, दिगो न्याय र परिपूरणसम्म लैजान उत्प्रेरित गर्छ ।

फिल्म साउथ एसियामार्फत नेपाल प्रिमियर भएको ‘देवी’ वृत्तचित्र मूलतः माओवादी कार्यकर्ता देवी खड्काको जीवन वरिपरि घुम्छ । उनी १७ वर्षकी मात्रै थिइन्, ०५४ सालमा हिरासतभित्र बलात्कृत भइन् । उनका दाइ रितबहादुर खड्का माओवादीका नेता थिए, जो पछि राज्यपक्षबाट मारिए ।

किशोरी देवी खड्काको राजनीतिक सुझबुझ त्योबेला खासै छिप्पिएको थिएन ।

जीवनप्रतिका जिज्ञासाहरु भर्खरै बढ्दो क्रममा रहेकै बेला उनले आफूमाथि असाधारण शृंखलाबद्ध अत्याचार भोगिन् । हिरासतमुक्त भएसँगै उनको ‘सर्भाइभर’ को अधिकारसमेत खोसिने गरी फोटोसहित पार्टीले सार्वजनिक गर्‍यो । त्यसपछि उनको पीडामा मलम होइन, अरु पीडा थपियो ।

वृत्तचित्रले केवल घटनाहरुको सपाट वर्णन गरेको छैन, बरु पीडित मनोविज्ञानका अनेक पत्रहरु केलाएको छ । कति कुरा त शब्दमा भन्न नसकेर विम्बहरुले मात्रै बताउँछन् । पीडितले आफ्नो बलात्कार पीडाको विवरण मुखले बताइरहँदा भित्ताका प्वालमा चिलचिलाउने कमिलाहरु पसिरहन्छन्, निस्किरहन्छन् ।

र, त्यसपछि भयानक मौन फैलिन्छ । दर्शकका आँखा कतिखेर भिजिसक्छन् ।
तर ‘देवी’मा अविरल आँशुको इमोसनल अत्याचारमात्रै छैन, सामान्य जीवनमा फर्कन चाहने देवीहरुको चाहनाले हामीलाई अत्यास लगाउँछ ।

फिल्मको सुरुमा, अनि अन्तिमतिर देवीले परिवारसँग टीका लगाउँदै गरेको दृश्य छ । उनी तिहारको सप्तरंगी टीकामा छिन्, र उनको जीवनबाट रङ खोसिएको छ ।

न्याय किन ढिलो भएको होला भनेर शान्ति प्रक्रियाका पक्षहरुलाई सोध्न मन लाग्छ । तिनले हाँस्दा हामीलाई दुःख लाग्छ । किनकि त्यो हाँसो एकैछिनको मात्रै हो । त्यसपछि त उनीहरु नचिनेको नम्बरबाट आउने फोन धम्की, आतेश र अन्यौलमा बाँच्न सिक्नुपर्छ ।

यौनहिंसालाई युद्धको नियमित प्रक्रियाजसरी बुझ्ने जब्बर पुरुषवाद विरुद्धको लडाइँ ‘जनयुद्ध’ भन्दा कम छैन ।

युद्धकै बेला जन्मेकी छोरीलाई एउटा सेल्टरमा छाडेर दोहोरो भिडन्तमा परेकी देवीलाई अहिले वीरांगना भनेर अभिनन्दन गर्दा सम्पूर्ण न्याय हुँदैन । देवीले एउटी यौनहिंसापीडित, एउटी योद्धा, एउटी आमा, आजपर्यन्त आफ्नो स्वाभिमान र अधिकारका लागि लडिरहेकी छिन् ।

र, त्यो लडाइँ राज्यसँग, अनि कतिपय हदमा आफ्नै पार्टीसँग पनि जारी छ ।

माओवादी पक्षबाट समेत बलात्कार, हिंसामा परेका महिला अहिले देवीसँग गोलबद्ध छन् । देवीहरु आफैं एउटा ‘जिल्ला’ भएका छन् । पीडितहरुको जिल्ला । एउटा अलग्गै वर्ग, जसमध्ये परिवारबाट परित्यक्त भएर, समाजबाट त्याज्य भएर पनि आफ्नो मुक्तिको, न्यायको लडाइँ अवरुद्ध नहोस् भनेर खबरदारी गरिरहेको छ ।

न्यूयोर्क टाइम्स, अल जजिरा लगायत मिडियामा काम गरिसकेकी सुविनाले आफू निर्देशत फिल्मलाई देवी खड्का वरिपरि मात्रै रहन भने दिएकी छैनन् । माथि भनिएझैं यसको मूल पात्र देवी भए पनि युद्धकालमा राज्य, अनि विद्रोही दुवै पक्षबाट यौनहिंसा बेहोरेका पहाड, मधेश सबैतिरका ‘देवी’ हरु फिल्ममा चित्रित छन् ।

फिल्मको सुरुमा, अनि अन्तिमतिर देवीले परिवारसँग टीका लगाउँदै गरेको दृश्य छ । उनी तिहारको सप्तरंगी टीकामा छिन्, र उनको जीवनबाट रङ खोसिएको छ ।

श्रीमान् छन्, छोरी र छोरा छन् । खासगरी युद्धकालमै जन्मेकी छोरीको मनोविज्ञान जो नराम्ररी बिथोलिएको छ । धेरै हदसम्म उनी आफ्नै आमासँग पनि निष्पृह अनि विरक्त छिन् । जब मानसिक परामर्शदाताको साथमा देवी र छोरी पुग्छन्, तिनले विस्तारै आफ्नै आमासँग बनेको नजानिँदो दूरी मेटाउन भूमिका खेल्छन् ।

एउटी योद्धाले घरैभित्र झेलिरहेको मानसिक द्वन्द्वको पक्षले मलाई केही समयअघि आफूले नेटफ्लिक्समा हेरेको ‘माउन्टेन क्वीन : द समिट्स अफ् लाक्पा शेर्पा’ स्मरण गराएको थियो । परिवार भाँडिएको घटनाले छोरीसँग समेत नजानिँदो दूरीमा रहेकी लाक्पाको कथा देवीले पाएको अत्याचार बराबर त नहोला, तर घरेलु हिंसा र प्रताडना भोगेकी उनको जीवनकथाको संवेदनशीलता आफैंमा देवीसँग तुलनायोग्य छ ।

यौनहिंसा पीडितहरुले बोलेका थुप्रै संवाद र वाक्यहरु यो पंक्तिकारको सम्झनामा अद्यापि छन्, तर यहाँ उद्धृत गर्न पनि सकस पर्छ । वृत्तचित्रमा प्रचण्ड छन्, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा छन्, नेता बाबुराम भट्टराई र अरु पात्रहरु छन् ।

नेता भएपछि आश्वासनहरु हुने नै भए । देवी आफैं पनि संविधानसभा सदस्य भइन्, भौतिक पूर्वाधार राज्यमन्त्री भइन् । दोहोर्‍याएर संविधानसभा सदस्य नउठ्ने भन्दै टिकट अस्वीकार गरिन् । माओवादी पार्टीको साइज जुन अनुपातमा घट्दैछ, उसले विगतमा उठाएका मुद्दा अरु त अरु, स्वयं उसैका लागि असान्दर्भिक हुने सम्भावना छ । योसँगै युद्धका पीडितहरुको आवाज पनि इतिहासको गर्तमा विलीन हुने हो कि भन्ने भय छ ।

 

ठीक यही अप्ठेरो र प्रतिकुल बेलामा, पत्रकार सुविनाको डकुमेन्ट्री फिल्म आएको छ । पाैराणिक ग्रन्थकी ‘देवी’ को सभक्ति आराधना गर्ने, तर स्वदेशका देवीहरुले खपेको अत्याचार अनदेखा गर्ने ढोङको पर्दाफास ‘देवी फिल्म’ ले गर्छ ।

८८ मिनेटसम्म एकाग्र हुनुहोस् । धेरै ठाउँमा तपाईंको भावना बिथोलिन सक्छ, तर संकल्पले जित्नुहोस् । किनकि तपाईं आँशुहरुलाई राजनीतिक अर्थ दिने क्षणमा हुनुहुन्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?