पैसासँगै मानिसको मनोकांक्षा तथा महत्वकांक्षा पनि बढेर गएको छ । जहाँ धन धेरै हुन्छ, त्यहाँ जीवन र प्रेमको सपना पनि गहन बन्दछ । यसका अगाडि मानिसको उमेर चाहिं अपर्याप्त हुन्छ । त्यसैले होला मानिसले सदियौंदेखि अमरताको चाह राख्दै आएको छ र अबचाहिं यो सपना यथार्थताको निकै नजिक पुगेको छ ।
न्युयोर्क पोष्टमा प्रकाशित एक समाचार अनुसार विश्वका केही धनाढ्य व्यक्तिहरूले यस्तो प्रविधि तथा औषधिको विकासमा पैसा बगाइरहेका छन् जसले मानव जीवनलाई आफ्नो इच्छा अनुसारको समयसम्म बढाउने क्षमता राख्दछ । तर के यो प्रविध केवल धनीहरूका लागि मात्रै होला त ? समाजमा यसको असर कस्तो पर्ला ?
न्युयोर्क पोष्को रिपोर्ट अनुसार उमेर बढाउने वा अझ मानिसलाई अमर बनाउने प्रविधिको विकासमा अर्बपतिहरूले लगानी गरिरहेका छन् । अमेजनका सीईओ जेफ बेजोसले आफ्नो कम्पनी Altos Lab मा ३ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । यो अहिलेसम्मकै ठूलो बायोटेक कम्पनी हो । यसको उद्देश्य जैविक रिप्रोग्रामिंग प्रविधिको विकास गर्नु हो, जसले पुराना मानव कोशिकालाई प्रयोगशालामा पुनः जवान बनाउन सक्दछ ।
त्यस्तै पे-पलका सहसंस्थापक पिटर थीलले : Methuselah Foundation मा लगानी गरिसकेका छन् । यो फाउन्डेसनले नयाँ प्रविधिको माध्यमबाट रोगहरुको रोकथाम गर्नुका साथै मानिसको आयु बढाउनमा काम गरिरहेको छ । त्यसैगरी च्याट जिपिटीका संस्थापक साम अल्टम्यानले रेट्रो बायोसाइन्समा १८ करोड डलर लगानी गरेका छन् । आफ्नो प्रविधिले कुनै पनि मानिसको आयु १० वर्षसम्म बढाउन सकिने दाबी उनको छ ।
के प्रविधिको बलमा मृत्युलाई परास्त गर्न सकिन्छ ?
यी प्रविधिहरुमा बायोलोजिकल रिप्रोग्रामिंग, कोशिकाहरूलाई पुनर्जीवित गर्ने तथा जवान बनाइराख्ने विषयमा विविध अनुसन्धान भैरहेका छन् । हालै लण्डनको इम्पेरियल कलेज तथा सिंगापुरको ड्युक नस मेडिकल स्कुलले एउटा यस्ता औषधिको विकास गरेको छ जसले प्रयोगशालामा मुसाको आयुलाई २५ प्रतिशसम्म लम्ब्याउन सफल भएको छ । त्यसैले यो औषधिको थप परिष्कार तथा विकास गरेर मानिसको समेत आयुलाई बढाएर मृत्यु लाई जित्न सकिने विश्वास वैज्ञानिकहरुमा छ ।
विवादको घेरामा
तर, यी सपनाहरू विवादमा घेरिएका छन् । स्मार्ट वाटर ग्रुपका संस्थापक फिल क्लेरीले यस्तो औषधि वा प्रविधिका विषयमा गम्भीर सवाल उठाएका छन् । उनका अनुसार यो प्रविधि केवल धनीहरूसम्म मात्रै सीमित हुनेछ जसबाट सुदूर भविष्यमा एउटा यस्तो समाज बन्नेछ जहाँ केवल धनी तथा सामन्ती मानिसका भूतहरुले मात्रै दीर्घ जीवनको आनन्द लिनेछन् । त्यसैले अर्बपतिहरूले आफ्नो आयु बढाउने कोसिस गर्न छाडेर आफ्नो सम्पत्ति विश्वका गरीब बालबालिकाहरुको जीउ-ज्यानको सुरक्षामा लगाउनुपर्ने उनको तर्क छ । हरेक वर्ष विश्वमा भोकमरी तथा उपचारको अभावमा ५० लाख बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ ।
आयु बढाउने औषधिले विश्वमा असमानता झनै बढ्ने क्लेरीको चेतावनी छ । उनी भन्छन्- एउटा यस्तो औषधि जसले धनी मानिसहरूको आयु केही दशकसम्म बढायो भने विश्व झनै धेरै अन्यायपूर्ण र असमान बन्नेछ । यो औषधि केवल धनीहरुसँग मात्रै हुनेछ जबकि गरीबहरू आफ्नो आधारभूत आवश्यकता परिपूर्तिकै लागि संघर्ष गरिरहनु पर्नेछ ।
क्लेरीका अनुसार जीवनको वास्तविक अर्थ भनेको बालबालिकाहरुलाई उनीहरुको १८औं जन्मदिनसम्म जीवित राख्नसक्नु हो न कि धनीहरूका लागि दीर्घ जीवनको मार्ग तयार गर्नु ।
प्रतिक्रिया 4