+
+
टिप्पणी :

कोरियाली लोकतन्त्र, जसले राष्ट्रपतिलाई नै ठेगान लगाइदियो

दक्षिण कोरियाको पछिल्लो घटनाले प्रष्ट देखाएको छ, देशका सबै निकायले आफ्नो काम राम्रोसँग गर्ने थिति बसाल्न सक्यो भने जस्तोसुकै कठिन परिस्थितिलाई सामना गर्न सकिन्छ । लोकतन्त्रको सुन्दर पक्ष पनि त्यही हो ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८१ मंसिर २० गते २०:४६

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलले मध्यरातमा आफ्ना देशका नागरिकलाई मात्र होइन, संसारलाई नै छक्क पार्दै सैनिक शासन घोषणा गरे ।

योसँगै दक्षिण कोरियाले पछिल्ला केही घन्टाहरूमा विश्वकै ध्यान आकर्षित गर्‍यो । युनको सैनिक शासन (मार्शल ल) लगाउने निर्णयलाई रातारात त्यहाँका लोकतान्त्रिक अंगहरूले सच्याउँदै विश्वलाई अर्को ‘सरप्राइज’ दियो । भनिन्छ, परिपक्व लोकतन्त्रले यसका कमजोरीलाई सच्याउने क्षमता राख्छ । दक्षिण कोरियाका राष्ट्रपति युनको सैनिक शासन लाग्दै घोषणालाई ६ घन्टाभित्र सच्याएर उक्त भनाइको व्यवहारिक पुष्टि गरिदियो ।

त्यहाँ नागरिक, विपक्षी दल, संसद मात्र होइन, सत्तापक्षले पनि राष्ट्रपतिको सैनिक शासन लगाउने निर्णय सच्याउन रफ्तारमा कामहरू गरे । प्रतिपक्षी दलले तीव्र विरोध जनायो, सत्ता पक्षकै नेताहरू पनि राष्ट्रपतिको कदमविरुद्ध उभिए । संसदले रातारात राष्ट्रपतिको कदम सच्यायो र आफ्नो घोषणाको केही घन्टापछि नै राष्ट्रपति युन आफ्नो निर्णय सच्याउन बाध्य भए ।

‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागु गर्नुपरेको छ,’ राष्ट्रपति युनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दा बोलेको वाक्यले अधिनायकवादतिर जान शासकले जस्तो तर्क पनि दिनसक्छन् भन्ने पुनः एकपटक प्रष्ट भएको छ ।

राष्ट्रपतिको घोषणासँगै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । कुनै पनि किसिमको राजनीतिक भेला वा सामाजिक रुपमा ‘भ्रम’ फैलिने गतिविधि गरे वारेन्टविनै जोकोही पक्राउ पर्न सक्ने सेनाले उल्लेख गरेको थियो ।

राष्ट्रपति युनले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत रहेको भन्दै संसद्मा बहुमत रहेको दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीले त्यसको प्रतिवाद गर्दै सडकमा उत्रियो । राष्ट्रपति युनकै पिपल पावर पार्टीका नेता हान डोङले पनि उनको निर्णयलाई गलत भन्दै जनताको साथमा त्यसलाई रोकिने बताएका छन् ।

चौतर्फी विरोध भएपछि केही घन्टाभित्रै पुनः विशेष सम्बोधन गर्दै राष्ट्रपति युनले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए । उनले संसदको निर्णयलाई मान्ने बताए ।

संकटकाल घोषणा भएपछि के भयो ?

३ डिसेम्बरको साँझ नेपाली समयअनुसार ६स्३८ ९दक्षिण कोरियाको राति १०स्२५० बजे जब राष्ट्रपतिले मार्शल ल लगाउने घोषणा गरे, उनको कदम रोक्न त्यहाँ रफ्तारमा काम भएको देखिन्छ । ४ डिसेम्बर बिहानसम्म अवैध घोषणा गरिएपछि राष्ट्रपति आफ्नो निर्णय फिर्ता लिन बाध्य भए ।

हेर्नुहोस् रातारात के भयो ?

  • ६:३८ मा राष्ट्रपति युनले टेलिभिजन सम्बोधन गर्दै मार्शल लगाउने घोषणा गरे ।
  • ४:५५ मा विपक्षी पार्टीले संसदको आपतकालीन सत्र बोलाउन माग गरे ।
  • ७:१५ मा दक्षिण कोरियामा मार्शल कानुन लागु भयो ।
  • ७:३० सभामुख वू वोन(शिक संसद पुगे भने अरु सांसद पनि संसद जान सुरु गरे ।
  • ८:१५ मा सेना संसद छिर्ने प्रयास गर्दा सांसदसँग झडपको अवस्था बन्यो ।
  • ८:५५ मा केही सैनिक संसदको मुख्य भवनमा पुग्न सफल भए ।
  • ९:०५ मै मार्शल ल हटाउने विषयमा संसदीय कारबाही सुरु भयो ।
  • ९:२१ मा मार्शल ल हटाउने प्रस्ताव पेश भयो ।
  • ९:२५ मा प्रस्ताव पारित भयो र मार्शल ल अवैध घोषणा भयो ।
  • ९:३० मा सेना संसदबाट निक्लन थाले ।
  • ४ डिसेम्बरको मध्याह्न १२:४५ बजे नै राष्ट्रपतिले मार्शल ल हटाउने घोषणा गरे ।
  • १:०५ मा बसेको आपतकालीन बैठकले मार्शल ल हटायो ।

व्यक्तिगत अप्ठ्यारोको राजनीतीकरण

संसदले सैनिक शासन अस्वीकार गरेपश्चात् आफ्नो घोषणा फिर्ता लिएको घोषणापछि राष्ट्रपनि युन मौन छन् । बुधबार उनलाई भेट्न सत्ता पक्षका नेताहरूलाई पुगेका थिए । त्यस क्रममा उनले विपक्षी पार्टीले हरेक दिन आफ्ना कर्मचारीलाई महाअभियोग लगाउने र आफ्नी श्रीमतीलाई अनुसन्धान गर्न विशेष कानुन पास गरेर हैरान पारेकोले जनतालाई विपक्षी पार्टीको हर्कत देखाउन आफूले त्यस्तो कठिन निर्माण गरेको बताएको केही सञ्चार माध्यममा समाचार आए । तर, राष्ट्रपतिको कार्यालयले भने यस बारे औपचारिक धारणा व्यक्त गरेको छैन ।

कोरियाली राष्ट्रपति युन र सदनबीच भने लामो समयदेखि द्वन्द्व थियो । राष्ट्रपति निर्वाचित भएको साढे २ वर्षमा उनले २४ वटा कानुनहरूलाई अस्वीकार गर्दै सदनमा पठाइसकेका छन् ।

विपक्षी पार्टीले राष्ट्रपतिको श्रीमती दुइट्स मोटरको शेयर मूल्य गैरकानुनी रूपमा वृद्धि गर्नेहरूमध्ये एक रहेको र त्यसको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग निरन्तर गर्दै आएका थिए । यो विषयमा सरकारी वकिलको कार्यालयले युन राष्ट्रपतिमा निर्वाचित हुनु पहिलादेखि नै अनुसन्धान गरेको थियो ।

सदनको निर्णय स्वीकार गर्दै सैनिक परिचालन फिर्ता लिएका राष्ट्रपतिलाई पदच्युत गर्न विपक्षी पार्टीले सदन र सडकमा संघर्ष सुरु गरेका छन् । सदनमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको छ र कोरियन समयअनुसार डिसेम्बर ७ को साँझ ७ बजेका लागि महाअभियोग प्रस्तावमा मतदान तय भएको छ ।

राष्ट्रपतिविरुद्ध महाअभियोगसँगै उनको श्रीमतीलाई छानबिन गर्ने विशेष कानुनमाथि पनि मतदान गराउने विपक्षी दलको तयारी रहेको छ ।

छोटो अवधिमा विश्वको १०औं अर्थतन्त्रमा उक्लेर सबैलाई चकित पारेको मात्रै होइन, विश्वकै उत्कृष्टमध्ये एक लोकतन्त्र मानिएको दक्षिण कोरियामा घटेको राष्ट्रपतिको असफल ‘सनक’ निर्णयले सबैलाई आश्चर्यचकित बनाएको छ । साथै, त्यस्तो विषम परिस्थितिमा पनि कोरियाली लोकतन्त्रले देखाएको परिपक्वता पनि अत्यन्तै प्रशंसनीय रहेको टिप्पणी हुन थालेको छ ।

मध्यरातमा जागेको संसद र सत्तापक्ष सत्मार्ग

रातको १० बजेर २५ मिनेट जाँदा राष्ट्रपतिले सैनिक शासन घोषणा गरे । रातको ११ बजे यो शासनलाई नेतृत्व गर्ने सैनिक अधिकारीले सबैखाले राजनीतिक गतिविधि बन्देज लगाएको र पक्राउपुर्जी विना पक्राउ गर्न सक्ने घोषणा गरेको अवस्थामा पनि ३०० सय मध्ये १९० सांसदहरू संसद भवनमा भेला भए ।

संसद भवन छिर्ने सबै प्रमुख ढोकाहरू बन्द भएको अवस्थामा पनि पर्खाल चढेर उपस्थित भए । जब सभामुखले मतदानको लागि आग्रह गरे सत्ता पक्ष, विपक्षी सबैले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदान गरे । लोकतन्त्र र नागरिक स्वन्त्रताको एक भएर उभिए र ठूलो संकटबाट देशलाई जोगाउन सके ।

विपक्षी दलहरूले महाअभियोग दर्ता गरेसँगै सत्ता पक्षमा रहेको पार्टीको संसदीय दलले आफूहरू महाअभियोगको विपक्षमा रहेको र विपक्षमा मतदान गर्ने प्रष्ट परे । लामो समयसम्म राष्ट्रपतिसँग राजनीतिक टकराव गरिरहेका सत्ता पक्षको पार्टी प्रमुखले पनि ‘नागरिक र दलका समर्थकहरू अहिले महाअभियोग’ ले सिर्जना गर्न सक्ने प्रभावको सामना गर्न सक्ने अवस्थामा नरहेकोले महाअभियोग प्रस्ताव सदनबाट पारित गराउन नलाग्ने प्रष्ट पारे । बरु, राष्ट्रपतिलाई दल त्याग गर्न आग्रह गरे । आम जनताले राष्ट्रपतिको कदमको चर्को आलोचना गरिरहेको बेलामा पनि सत्ता पक्षको धर्म निभाउने र यसलाई राजनीतिक रूपमा सामना गर्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।

राष्ट्रपतिको कार्यालयमा राजनीतिक नियुक्ति लिएका सबैले यो घटनाको जिम्मेवारी लिंदै राजीनामा दिने घोषणा गरेका छन् । तर अहिले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव संसदमा विचाराधीन रहेकोले यसको किनारा नलाग्दासम्म उनीहरूले राष्ट्रपतिलाई सघाइरहेका छन् ।

अहिलेको अवस्था हेर्दा महाअभियोग प्रस्ताव सदनबाट पारित नहुने देखिन्छ ।

सेनालाई जोगाउँदै रक्षा मन्त्रीको राजीनामा

राष्ट्रपतिको असफल प्रयासको यो शिलशिलामा धेरै सैन्य अधिकारीहरू परिचालिन भए । त्यस्ता अधिकारीहरूविरुद्ध अनुसन्धान र कारबाहीका लागि विभिन्न निकायमा उजुरी पर्न सुरु गरे पश्चात ती सबै गतिविधिलाई आदेश दिने आफू रहेको र कारबाहीको भागिदार पनि आफू मात्रै भएको घोषणा गर्दै रक्षा मन्त्रीले राजीनामा दिएका छन् ।

उनलाई देश छोड्न बन्देज लगाइएको छ र हाल साउदीका लागि कोरियाली राजदूतलाई रक्षा मन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

संसदीय समितिमा नागरिक अगाडि उभिएका मन्त्री र शून्य अधिकारी

राष्ट्रपतिले गरेको असफल प्रयासको दोस्रो दिन संसद्को विभिन्न समितिमा सम्बन्धित मन्त्री र सैन्य अधिकारीलाई बोलाएर सांसदहरूले प्रश्न गरेका छन् र उनीहरूले पनि उत्तर दिएका छन् ।

प्रायः सबै मन्त्रीहरूले राष्ट्रपतिले त्यस्तो घोषणा गर्नुपूर्व कानुनअनुसार नै स्टेट काउन्सिलको बैठक राखेको र २० मिनेटसम्म चलेको सो बैठकमा आफूहरूले यस्तो घोषणाले अप्ठ्यारो पार्ने बताएको जानकारी गराए ।

कोरियाको यो घटनाले प्रष्ट देखाएको छ, देशका सबै निकायले आफ्नो काम राम्रोसँग गर्ने थिति बसाल्न सक्यो भने जस्तोसुकै कठिन परिस्थितिलाई सामना गर्न सकिन्छ र लोकतन्त्रको सुन्दर पक्ष पनि त्यही हो ।

राजनीतिक दुर्घटनालाई टार्न सकिंदैन । तर जस्तो दुर्घटनामा पनि देशलाई सही दिशामा लैजान सक्ने राजनीतिक क्षमता विकास गर्न सकिन्छ । कोरियाको यो घटनाभित्र त्यसलाई नियाल्न सक्ने धेरै परिदृश्यहरू लुकेको छन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?