+
+

प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा रेस्टुरेन्टमा !

उद्योग विभागका अनुसार अघिल्लो आव २०८०/८१ को वर्षभरि कुल ४ सय ७ उद्योग दर्ता भएका थिए । त्यसमध्ये १ सय ९७ पर्यटन उद्योगका रूपमा दर्ता भएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ मंसिर १९ गते १५:३०

१९ मंसिर, काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी गर्न पाउने न्यूनतम सीमा घटाएपछि नेपालमा बिदेशी लगानीका रेष्टुरेण्ट खुल्नेक्रम बढेको छ । प्रत्यक्ष विदेशी लगानीको पछिल्लो तथ्याङ्क हेर्दा नेपालमा पर्यटन क्षेत्रका साना उद्योगमा लगानी केन्द्रित रहेको देखिएको छ ।

उद्योग विभागका अनुसार कात्तिक २०८१ सम्म १७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकमा १ सय ५४ उद्योग दर्ता भएका छन् ।

यस अवधिमा अटोमेटिक रुटबाट मात्र १ सय ९ उद्योग दर्ता भएको र त्यसमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता प्राप्त भएको देखिन्छ ।

तथ्यांक अनुसार वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित छ । चालु आव पहिलो चार महिनामा दुई ठूला, एक मध्यम र १ सय ५१ साना उद्योग दर्ता भएका छन् । जसमध्ये १ सय १३ उद्योग पर्यटन क्षेत्रसँग सम्बन्धित छन् ।

विभागका अनुसार यसरी आउने लगानी अधिकांश रेस्टुरेन्ट व्यवसायमा केन्द्रित छ । सरकारले नेपालमा एफडीआईको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । सरकारले असोज २०७९ देखि उक्त सीमा घटाएको थियो । अधिकतम सीमा भने तोकिएको छैन । यसरी लगानीको सीमामा सहजीकरण भएसँगै पछिल्लो समय साना र मझौला उद्योगमा लगानी बढ्न थालेको हो ।

अर्कातर्फ, सरकारले अघिल्लो आवदेखि विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृति गर्ने प्रणाली समेत कार्यान्वयनमा ल्याएको छ ।

यस प्रणाली अनुसार कुल ५० करोड रुपैयाँसम्म शतप्रतिशत सेयर वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले कम्पनीमा पूँजी वृद्धि गर्न निवेदन दिन सक्छन् । यसरी प्रणालीमा भएको सुधारले समेत साना लगानीकर्ताको आगमन सहज भएको विभागको भनाइ छ ।

उद्योग विभागका अनुसार अघिल्लो आव २०८०/८१ को वर्षभरि कुल ४ सय ७ उद्योग दर्ता भएका थिए । त्यसमध्ये १ सय ९७ पर्यटन उद्योगका रूपमा दर्ता भएका छन् ।

गत वर्ष आएकामध्ये पनि कुल ३ सय ८६ उद्योग साना थिए । पर्यटन बाहेक सेवा उद्योगका नाममा दर्ता भएका छन् । होटल व्यवसायीका अनुसार पछिल्लो एक दशकयता ठमेल, पोखरा लेकसाइड जस्ता क्षेत्रमा चिनियाँ लगानीका धेरै रेस्टुरेन्ट खोलिएका छन् । यद्यपि, यसको ठोस तथ्यांक भने छैन ।

होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह काठमाडौंको आकर्षक बजार, बढ्दो आधुनिकीकरण र रेस्टुरेन्ट संस्कृतिले यहाँ रेस्टुरेन्टमा लगानी बढिरहेको बताउँछन् ।

यसबाहेक अन्य पर्यटकीय क्षेत्रमा समेत होटल/रेस्टुरेन्ट आउने क्रम बढिरहेको उनको भनाइ छ । यद्यपि, यसको दीगोपन र भविष्यमाथि भने प्रश्न रहेको उनी बताउँछन् ।

‘एक त गैरआवासीयले पनि नेपालमा लगानी गर्दा होटल–रेस्टुरेन्ट नै रोज्ने गरेको पाइन्छ, अर्कातर्फ चिनियाँ लगानीकर्ताको आकर्षणले लगानी बढेको हो,’ उनी भन्छन् ।

जग्गा–जमिन नभए पनि घर भाडामै लिएर सञ्चालन गर्न सकिने, तत्काल लगानी गरेर काम सुरु गर्न सकिने र पर्यटनका हिसाबले भविष्य पनि देखेका कारण यस क्षेत्रमा लगानी बढेको उनको भनाइ छ ।

उद्योग विभागका अनुसार नेपालमा अहिलेसम्म एफडीआईका २ हजार १ सय ४७ उद्योग पर्यटन क्षेत्रमा मात्र दर्ता भएका छन् । जसमध्ये गत आवमा १ सय ९७ उद्योग पर्यटनमा मात्र दर्ता भएको थियो । अहिलेसम्म १ खर्ब १३ अर्ब ६८ करोड बराबर लगानी प्रतिबद्धता यस क्षेत्रमा आएको छ । अघिल्लो आव १२ अर्ब २७ करोड बराबर एफडीआई पर्यटन क्षेत्रमा आएको थियो ।

आव २०८०/८१ सम्म कुल (सबै उद्योगमा) ५ खर्ब १३ अर्ब रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । त्यसमध्ये चीनबाट कुल २ खर्ब २६ अर्ब ९१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

कुल प्रतिबद्धतामध्ये चीनबाट मात्र ४४.३३ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट १ खर्ब ६ अर्ब रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । जुन कुल प्रतिबद्धताको २०.८६ प्रतिशत हो ।

साना लगानीमा नियमन अभाव

हानले नियमन प्रभावकारी बनाइ सबै प्रकारका होटल/रेस्टुरेन्टलाई सरकारी लाइसेन्स अनिवार्य गर्न माग गर्दै आएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा समेत होटल व्यवसायीले सबै होटल/रेस्टुरेन्टलाई नियमन गर्न नसक्दा केही व्यवसायीले गर्ने गल्तीले सबै बदनाम हुनुपरेको पर्यटन मन्त्रालयका उच्च अधिकारी समक्ष गुनासो गरेका थिए ।

कोषाध्यक्ष युवराज श्रेष्ठ आतिथ्य उद्योगमा ठूलो स्केलमा आएका लगानीकर्ताले धोका र हन्डर खाएको देखिएकाले थप लगानी आउन नसकेको बताउँछन् ।

नेपालको आतिथ्य उद्योगमा पछिल्लो समय आएको एफडीआई भैरहवाको टाइगर प्यालेस रिसोर्ट थियो । उक्त कम्पनीले धेरै सास्ती भोग्नुपरेको छ । यसले ठूलो लगानीलाई एकपटक सोच्नुपर्ने वातावरण बनाएको होटल व्यवसायीले बताउँदै आएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?