+
+

महाबुमा जंगबहादुरले जिताएको एमाले

शाही उनै नेता हुन्, जो एकीकृत समाजवादीमा लाग्दा महाबु एमाले कमजोर बनेको थियो ।

यज्ञ खत्री यज्ञ खत्री
२०८१ मंसिर १७ गते २३:१५

१७ मंसिर, सुर्खेत । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा ३ हजार १२७ मत ल्याएर शाही विजयी हुँदा नेपाली काँग्रेस उम्मेदवार झलकबहादुर भण्डारी २ हजार ६७५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।

माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर बराल मगर ८४२ मतमा सीमित भए । २०७९ को स्थानीय तह निर्वाचनमा महाबुमा काँग्रेस उम्मेदवार लछुमन गुरुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर गुरुङको निधन भएपछि महाबुमा उपनिर्वाचन भएको हो ।

रिक्त पदमा एमाले उम्मेदवार शाहीले जिते । एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनको एक साता अघि मात्रै एमाले फर्किएर टिकट लिएका थिए ।

शाही उनै उम्मेदवार हुन्, जो एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लाग्दा महाबुमा एमाले कमजोर बनेको थियो । २०७४ बहुमत वडा सहित अध्यक्ष/उपाध्यक्ष पदमा जित निकाल्दा उनै शाही एमालेका उम्मेदवार थिए । एमाले विभाजनपछि २०७९ मा भएको निर्वाचनमा शाहीकै कारण एमाले पराजित हुँदा काँग्रेसको उदय भएको थियो ।

०७९ मा महाबुको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको काँग्रेसलाई शाही एमालेमा फर्किएपछि विरासत जोगाउने चुनौती थियो । त्यति बेला अध्यक्षमा विजयी भएका कांग्रेसका लछुमन गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।

गुरुङले दुई हजार ९०७ मत प्राप्त गरेका थिए भने उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गरे । त्यति बेला माओवादी केन्द्रको साथ पाएको नेकपा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बनेका शाहीले (हालका विजयी) दुई हजार २६८ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा महाबुका-६ वडामध्ये तीन वडा काँग्रेसले जित्दा दुई माओवादी र एक वडा एमालेले जितेको थियो ।

०७४ को तुलनामा ०७९ मा एमाले पार्टी फुटका कारण महाबुमा कांग्रेस नै पहिलो शक्ति बनेको थियो । ०७९ मा पनि समाजवादीबाट अध्यक्ष लडेका शाहीले एमाले र काँग्रेसलाई कडा टक्कर दिएका थिए । अहिले उनै शाही एमालेमा फर्किएपछि महाबुमा पुनः एमालेको विरासत फर्किएको छ ।

जंगबहादुरलाई समाजवादीको साथ

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन चलिरहेकै दिनमा शाही दैलेख पुगेर एमाले प्रवेश गरेका थिए । शाहीको प्रवेशपछि एमालेमा विरोध पनि भयो । नेताहरूका अनुसार जंगबहादुरको प्रवेश एमालेका एक थरी समूहलाई मन परेको थिएन । शाहीको जित र हार हिजो समाजवादीमा रहँदा सहयोग गरेकाहरूको हातमा हुने देखिन्थ्यो ।

चुनावको मुखैमा पार्टी छोडेको भन्दै समाजवादीमा लागेकाहरू एमाले नफर्कने चर्चाबीच कांग्रेसलाई आफ्नो विरासत जोगाउन सहज हुने आँकलन गरिएको थियो । त्यति बेला एमाले एक्लै लड्नु र समाजवादी तथा माओवादीको कमजोर जनाधार हुनुको फाइदा उठाएको कांग्रेस यस पटकको चुनाव जित्नेमा ढक्क जस्तो देखिन्थ्यो ।

कांग्रेसले युवा नेता झलक भण्डारीलाई अगाडि सारेर अध्यक्षमा आफ्नो जित सुनिश्चित गर्न चाहन्थ्यो । तर उपनिर्वाचन हुनुको पाँच दिन अगाडि मात्रै नेकपा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बनेका जगत हमालले एमाले उम्मेदवार शाहीलाई समर्थन गरे ।

समाजवादीका उम्मेदवारले नै शाहीलाई समर्थन गरेपछि महाबुमा एमालेले सहज जित निकालेको नेताहरू बताउँछन् । ‘समाजवादीका उम्मेदवारले नै समर्थन गरेपछि एमालेले चुनाव जित्न आधार बलियो बनेको थियो,’ एमाले जिल्ला अध्यक्ष सूर्य बहादुर शाहीले भने, ‘महाबु पहिलेदेखि नै एमालेको पकड क्षेत्र थियो । समाजवादीको साथ पाएपछि त सहज जित भयो ।’ गत निर्वाचनमा तेस्रो शक्तिका रूपमा रहेको एकीकृत समाजवादीको साथ नै जंगबहादुरको जितको आधार बन्न गाएको एमालेका नेताहरुनै स्विकार्छन् ।

‘अधुरा काम पूरा गर्छु’

एमालेबाट महाबुको अध्यक्षमा विजयी भएका शाहीले दोस्रो जितमा अधुरा काम पूरा गर्ने प्रतिबद्धता गरेका छन् । आफू पहिलो पटक महाबुको अध्यक्ष हुँदा यहाँको भौतिक विकासले फड्को मारेको शाहीको दाबी छ । उनले विगतमा अधुरा रहेका कामहरू अघि बढाउन नै जनताले आफूलाई चुनेको बताए ।

‘महाबुमा केही योजना अलपत्र छन् । बाँकी रहेका काम पूरा गर्नु मेरो दायित्व हुने छ । त्यो अभिभारा पूरा गर्न जनताले मलाई मतदान गर्नुभएको हो,’ उनले भने, ‘म एमालेको मात्र उम्मेदवार थिइन्, सम्पूर्ण महाबु बासीको उम्मेदवार थिए । र, उहाँहरूले नै जिताउनु भयो ।’

उनले महाबुभित्र विकट क्षेत्रहरू पर्ने भएकाले हालसम्म कृषि उत्पादनलाई बजारसँग जोड्ने योजना ल्याउने बताए । ‘कृषि बजारीकरणका लागि भौगोलिक विकटताका कारण जुन समस्या छ, त्यसलाई चिर्ने गरी काम गर्नेछु,’ उनले भने ।

विगतमा आफू अध्यक्ष हुँदा गरेका काम कांग्रेस नेतृत्वको सरकारले लथालिङ्ग पारेको भन्दै उनले जनतासँग भोट मागेका थिए । आफ्नै अपूरा कामलाई कामलाई मूर्तरूप दिन, सुशासन कायम र सामाजिक रूपान्तरणका लागि काम गर्ने उनले बताए ।

महाबुको सडक र विद्युतको काम अहिलेसम्म पूरा नभएकाले ती कामलाई पनि पूरा गर्ने बताए । शाहीले महाबुको विकासका लागि अभिभावक भएर काम गर्ने बताए । आफूले विगतमा पनि पार्टीगत हिसाबले कसैलाई व्यवहार नगरेको जनाउँदै बाँकी दिनमा समेत कुनै प्रकारको विभेद नगर्ने बताए ।

को हुन्, जंगबहादुर ?

महाबुको राजनीतिमा जंगबहादुर शाही पाका र अनुभवी खेलाडी मानिन्छन् । ९ मंसिर २०२५ साल महाबु गाउँपालिका दैलेखमा जन्मिएका नवनिर्वाचित अध्यक्ष शाही विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।

उनी १३ वर्षको उम्मेदेखि नेपाल मजदुर किसान (नेमकिपा) पार्टी निकट विद्यार्थी संगठनबाट राजनीतिमा लागे । २०४० सालमा उनले नेकमिपाको सदस्यता लिएर भूमिगत राजनीतिमा होमिए । त्यसपछि विभिन्न पदमा रहेर काम गरे ।

२०५२ सालमा नेमकिपा दैलेख कार्यसमिति नै एमालेमा मिसियो । त्यति बेला जंगबहादुर पनि एमालेमै आए । २०५४ मा दैलेखकै कांसिकाँध गाविसको उपाध्यक्षमा निर्वाचित भए । शाही एमाले दैलेखको ५ औँंअधिवेशनबाट जिल्ला कमिटी सचिव भए ।

२०७४ मा एमालेले उनलाई महाबु गाउँपालिकाको अध्यक्षको बने । त्यस लगतै नेकपा एमाले फुटेर एकीकृत समाजवादी बन्दा शाही पनि एकीकृत समाजवादीमा लागे । यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष रहेका उनी एमालेबाट महाबुको अध्यक्षमा निर्वाचित भएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?