१७ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेका नमोनारायण माझी गत भदौमा मात्र नेकपा माओवादी प्रवेश गरेका थिए । माओवादी प्रवेश गर्नेबेला उनी नेपाली कांग्रेसबाट अलग भएर बसेका थिए ।
कांग्रेसभन्दा अगाडि उनको पार्टी थियो, फोरम लोकतान्त्रिक । २०७४ को स्थानीय चुनावमा माझीले तत्कालीन फोरम लोकतान्त्रिकबाटै ग्रामथान गाउँपालिका-१ का वडाध्यक्ष जितेका थिए ।
फोरम लोकतान्त्रिकभन्दा अघि माझी कांग्रेसकै समर्थक थिए । तर, २०७४ को स्थानीय चुनावपछि फोरम लोकतान्त्रिक कांग्रेसमै विलय भयो । त्यसैले फेरि नमोनारायण कांग्रेस नै भए ।
२०७९ को चुनावमा उनी कांग्रेसबाट वडाध्यक्ष नै दोहोर्याउन चाहन्थे । यद्यपि पालिका अध्यक्षमा उनको दाबी थियो । तर, कांग्रेसले वडाध्यक्ष समेत पत्याएन ।
ग्रामथान गाउँपालिका-१ मा कांग्रेसले सुरेशकुमार माझीलाई टिकट दियो, वडाध्यक्षमै नमोनारायणले स्वतन्त्र उम्मेदवारी दिए । तर, सुरेशकुमारले ७१० मत ल्याएर वडाध्यक्ष जित्दा नमोनारायणले ५५४ मत ल्याएर तेस्रो भए, एमालेका सत्यनारायण माझीले ७०९ मत ल्याएर दोस्रो भए ।
वडाध्यक्षको मत टिकट नपाएपछि नमोनारायण कांग्रेसमा बसेनन्, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट अविर दलेर माओवादी भए । माओवादी बनेपछि उपचुनावमा पालिका अध्यक्ष पदकै उम्मेदवार बने । यसको मसो मिलाएका थिए, सांसद अमनलाल मोदीले ।
आफ्नै निर्वाचन क्षेत्रमा पर्ने ग्रामथानको पालिका अध्यक्ष जित्न नमोनारायण माओवादीमा प्रवेश गराउने मोदीको नीतिले काम गर्यो । ६ हजार ९६९ मत ल्याएर नमोनारायण पालिका अध्यक्ष निर्वाचित भए । उनले कांग्रेसकै उम्मेदवार बलराम सरदारलाई पछि पारेका छन् । निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सरदारले ५ हजार ३३३ मत ल्याएका छन् भने एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४ हार १५९ मत ल्याए ।
कुनै बेलाका माओवादी पीडित
पार्टी फेर्दै हिंड्ने क्रममा अहिले जुन पार्टीबाट पालिका अध्यक्ष जिते, कुनै बेला नमोनारायण त्यही पार्टी माओवादी पीडित थिए । माओवादीकै तार्गेटमा परेपछि उनी २०६० सालमा मलेसिया गएका थिए । मलेसियामा उनी सात वर्ष बसे ।
मलेसियापछि दुबई पनि गए । माओवादीको तार्गेटमा पर्नुको कारण भने उनी २०५४ सालकै जनप्रतिनिधि हुनु हो । माओवादी केन्द्रका नेता कुशल लिम्बुका अनुसार माझी २०५४ सालको चुनावमा तत्कालीन लखन्तरी गाउँ विकास समितिको अध्यक्ष जितेका थिए । कांग्रेसबाट अध्यक्ष निर्वाचित हुँदा उनले एमाले उम्मेदवारलाई २ मतले पराजित गरेका थिए ।
त्यसपछि स्थानीय चुनाव भएन, बरु माओवादीको तार्गेटमा पर्दै विदेशिए । लामै समय विदेश बसेर फर्किएका नमोनारायण २०७४ सालको चुनावमा फेरि राजनीतिमा सक्रिय भए । तर २०४५ सालदेखि नेवि संघको राजनीति गरेका नमोनारायणले पार्टी फेरेर बिजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक वडाध्यक्ष लडे । र, जिते ।
स्थानीयका अनुसार नमोनारायण आँटिला व्यक्ति हुन् । उनका स्वभावकै कारण चर्चामा रहिरहन्छन्, बेलाबेला चुनाव जित्दै आएका छन् ।
एक वर्षअघि मात्र पनि उनले अभद्र व्यवहारको मुद्दा खेपेका थिए । ग्रामथान-१ को रामजानकी मन्दिरलाई बजेट मागदै ११ चैत २०८० मा उनको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा प्रदर्शन भएको थियो । त्यसबेला तोडफोडको प्रयास पनि भयो ।
कार्यपालिका बैठकको समयमा हुलहुज्जत गरेको भन्दै गाउँपालिकाको तर्फबाट जाहेरी परेपछि प्रहरीले नमोनारायणलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । अभद्र व्यवहार मुद्दामा उनीसँगै विष्णुप्रसाद माझी, राजनारायण भगत, सञ्जितादेवी भगत, तिलकराम माझी, खड्गबहादुर मगर, बिन्दाकुमारी सुतिहार, कल्पना मगर र धीरेन्द्रकुमार भगतलाई गत १७ भर्दामा मात्रै जरिवानाको फैसला भएको थियो ।
यो मुद्दाका कारण पनि उनको पक्षमा माहोल बनिरहेको थियो । पालिका नेतृत्वले काम नगरेको र बजेट माग गर्दा आफूलाई अभद्र व्यवहार मुद्दा लगाएको भन्दै भोट मागेका थिए । यद्यपि यहाँको राजनीतिक वृत्तमा यो जित अमनलाल मोदी भर्सेस कांग्रेस-एमाले भन्ने चर्चा थियो ।
चुनावी अभियानका क्रममा फरक पार्टीबाट जितेका कारण आफूले केन्द्रबाट ल्याएको बजेट पालिकाले खर्च नगरी फिर्ता पठाउने गरेको मोदीको गुनासो थियो ।
‘म केन्द्रमा थिए, माथिबाट बजेट ल्याउँदा यहाँ फरक पार्टी भएकै कारण पालिकाले खर्च गर्न मानेन,’ हरेक चुनावी अभियानमा मोदी भन्थे, ‘हाम्रै पार्टीको मान्छे भए भने बजेट ल्याउन र विकास निर्माणमा खर्च गर्न सजिलो हुन्छ ।’
माझीलाई पार्टी प्रवेश गराउनेदेखि अध्यक्ष निर्वाचित गराउने अभियानमा मोदीसँगै विजय विश्वास, जीवन आचार्य लगायत नेताहरु सक्रिय थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य युवाको टिमलाई जनताले पत्याएको बताउँछन् । ‘युवाहरुको टिमलाई जनताले पत्याएका छन्, उनले भने,‘ युवाको टिमले ग्रामथानमा काम पनि राम्रो गरिरहेको छ ।’
प्रतिक्रिया 4