+
+

पार्टी खोल्न कस्सिँदैछन् हर्क साम्पाङ

०८१ भित्रै दल खोल्ने सार्वजनिक सन्देश दिएका धरानका मेयर हर्क साम्पाङ काठमाडौंको उपचुनावलाई आफ्नो प्रतिष्ठा बनाएर खटिएका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८१ मंसिर १३ गते २२:१५

१३ मंसिर, काठमाडौं । धरानमा कुनै उपचुनाव छैन, तर मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई छ ।

आगामी १६ मंसिरका लागि तोकिएको उपचुनावलाई प्रभाव पार्ने पक्षमध्ये धरान उपमहानगर पालिकाका मेयर साम्पाङ पनि एक बन्न पुगेका छन् ।

साम्पाङ कुनै राष्ट्रिय दलमा आबद्ध नभएकाले उपचुनावमा उनको प्रत्यक्ष प्रभाव नदेखिनुपर्ने हो । तर दलहरूले प्रतिष्ठाकै विषय बनाएको कीर्तिपुर नगरको मेयर भिडन्तमै साम्पाङको प्रभाव जबर्जस्त छ ।

दलहरूका उम्मेदवारको विकल्पमा राजमान मानव (राजमान महर्जन) लाई मेयर जिताउन साम्पाङले निरन्तर लाग्दा उनको प्रभाव काठमाडौंसम्म आइपुगेको हो ।

केटाकेटी चिह्न लिएर मेयर पदका प्रतिस्पर्धी बनेका राजमानले पनि हर्क साम्पाङलाई सम्मान दिएका छन् । उनले आफ्नो ब्यानरमै हर्क साम्पाङको तस्वीर समेटेका छन् ।

सरसफाई अभियानबाट चिनिएका राजमानको उम्मेदवारीलाई हर्कले पनि प्रतिष्ठाकै विषय बनाएका छन् । त्यसैले कीर्तिपुर आएर चुनावी सभामा भाग लिनेदेखि सामाजिक सञ्जालबाट मत माग्ने गरिरहेका छन् । मौन अवधि शुरु हुने दिन, आज (१३ मंसिरमा) मेयर साम्पाङले लगातार स्टाटस लेख्दै मत मागेका छन्, ‘समयमै कुरा बुझे राम्रो हुनेछ ! जय कीर्तिपुर !’

उनी यतिमै रोकिएनन् । राजमानले मेयर जित्नुपर्ने भिडियो सन्देश निरन्तर पोष्ट गरिरहे । ‘मेरो देश ! कीर्तिपुर पनि मेरै देश हो ! म जहाँ पुग्छु देश सम्झेर पुग्छु’ आफू कीर्तिपुर आउनुको कारणबारे उनले लेखेका छन् ।

‘धरानबाट काठमाडौं आइपुग्नुभयो । कीर्तिपुरको मेयर र काठमाडौं–१६ मा उहाँका उम्मेदवार छन्’ मेयर साम्पाङलाई नजिकबाट सहयोग गरिरहेका एक सदस्य भन्छन्, ‘यसको सन्देश प्रष्ट छ, हर्क साम्पाङ अब देशभर फैलिनुहुन्छ ।’

अर्थात् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन जस्ता शीर्ष नेताहरूसँगै हर्क साम्पाङ आफ्ना उम्मेदवार जिताउन कीर्तिपुरमा भिडिरहेका छन्, जबकि नयाँ भनेर खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुरको मैदानमै छैन ।

रास्वपाले उम्मेदवारी दिनै नसक्नुले पनि हर्क साम्पाङ र उनी समर्थित राजमानप्रति आकर्षण देखिएको छ । यहाँका थुप्रै मतदाताहरू राजमानले प्रतिष्पर्धी मत ल्याउने अनुमान गर्छन् ।

‘स्वतन्त्र उम्मेदवारहरू धेरै छन्, तर हर्क साम्पाङको समर्थन रहेको र आफ्नै परिचय पनि भएकाले राजमानले राम्रै मत ल्याउन सक्छन्’ स्थलगत रिपोर्टिङमा कीर्तिपुर पुगेका अनलाइनखबरका संवाददातासँग कतिपय स्थानीयले भनेका छन् ।

उपचुनाव हुन लागेको ४२ स्थानमध्ये बढी चासोमा रहेको कीर्तिपुर मात्र नभएर मेयर साम्पाङको समर्थनमा काठमाडौंमै पनि उम्मेदवार छन् ।

काठमाडौं महानगर–१६ को वडाध्यक्ष पदमा सिलिन्डर चिन्ह लिएका स्वतन्त्र उम्मेदवार पशुपति कठायतलाई हर्कको समर्थन छ । कठायतको चुनावी र्यालीमा हिड्नेदेखि सामाजिक सञ्जालमा स्टाटस लेख्नेसम्म साम्पाङले गरिरहेका छन् । जबकी यही वडामा रास्वपाको केन्द्रीय कार्यालय अवस्थित छ, र रास्वपाले आफ्नो प्रभाव क्षेत्र मान्छ ।

‘धरानबाट काठमाडौं आइपुग्नुभयो । कीर्तिपुरको मेयर र काठमाडौं–१६ मा उहाँका उम्मेदवार छन्’ मेयर साम्पाङलाई नजिकबाट सहयोग गरिरहेका एक सदस्य भन्छन्, ‘यसको सन्देश प्रष्ट छ, हर्क साम्पाङ अब देशभर फैलिनुहुन्छ ।’

सिंहदरबारतिर नजर

मेयर जितेपछि श्रम अभियान चलाएर राजनीतिक परिभाषा नै बदल्न खोजेका मेयर साम्पाङले आफ्नो गन्तव्य लुकाएका पनि छैनन् । दिक्क लाग्नेगरी फेसबुक÷एक्समा स्टाटस लेख्ने र भिडियो बनाउने मेयर साम्पाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग राखेर राजनीतिक दल खोल्ने संकेत सार्वजनिक गरिसकेका छन् ।

खानेपानीको मुद्दा उठाएर धरानबासीको मन जितेका साम्पाङले गत वर्ष पुसदेखि खुलेरै राजनीतिक दल खोल्ने सन्देश दिन थालेका थिए । विशेषगरी धरान महोत्सवमा सहभागी हुन दिइएको निम्तो बमोजिम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धरान नगएपछि साम्पाङ आक्रामक बन्न थालेको देखिन्छ ।

प्रचण्डले धरान नजाने संकेत गरेलगत्तै साम्पाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागमा प्लाकार्ड बोकेर एकल प्रदर्शनी गरे । धरान फर्किएर उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री प्रचण्डको तस्वीर हटाए ।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरको साटो यलम्बरको तस्वीर राख्नुमा उनको राजनीति लुकेको थिएन । किनकि प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति आदिवासी जनजाति समुदायमा असन्तुष्टि थियो, र प्रदर्शनमा एक युवकको ज्यान गएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने निर्णयपछि उपमेयर अइन्द्र बेघासँग पनि दुरी बढ्यो । माओवादीबाट जितेका उपमेयर बेघा त्यसअघि हर्कसँगै थिए । एमाले र कांग्रेससँग भने पहिलेबाटै साम्पाङको सम्बन्ध राम्रो थिएन ।

माओवादीसँग पनि दुरी बढेपछि साम्पाङ खुलेरै राजनीति गर्न थाले । गत वर्षको (१५ वैशाख २०८१) उपचुनावमा त उनको आफ्नै उम्मेदवार थियो । इलाम–२ का लागि भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा मेयर साम्पाङले स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई समर्थन जनाए ।

थेगिमको उम्मेदवारी घोषणा, प्रचार अभियानदेखि धन्यवाद ज्ञापन जस्ता कार्यमा सक्रिय भएर साम्पाङले आफू धरानमा सीमित नरहेको सन्देश दिए । अझ थेगिमले तेस्रो धेरै मत पाएपछि त उनी उत्साहित नै देखिए ।

‘यो देशको तेस्रो ठूलो शक्ति बनाउन सक्ने रहेछु भन्ने लाग्यो । हर्क साम्पाङ तेस्रो ठूलो शक्ति हो’ उपचुनावको नतिजापछि उनले भनेका थिए । एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएर जित्दा कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ र थेगिमले ११ हजार ४५७ मत ल्याएका थिए ।

थेगिम तेस्रो मत ल्याएको भन्दा पनि रास्वपाका उम्मेदवार मिलन लिम्बुले निकै कम मत ल्याएकोमा साम्पाङ खुशी बनेका थिए । हुन पनि पुराना शक्तिलाई धक्का दिने सार्वजनिक घोषणा रहेको रास्वपाले इलामको उपचुनाव जित्न सक्दो जोडबल लगाएको थियो । त्यसबेला गृहमन्त्री रहेका रवि लामिछाने, रास्वपाका मन्त्रीसहित विभिन्न जिल्लाबाट आएको ठूलो शक्ति इलाममा खटेको थियो । तर रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत मात्र पाए ।

‘पार्टी नबनाउने हो भने कीर्तिपुर आउनु, इलाम जानु गरिरहनै पर्थेन नि’ उनी निकट स्रोत भन्छ, ‘यो पार्टी बनाउने एउटा अभ्यास नै हो ।’

यो उपचुनावपछि साम्पाङले आफू तेस्रो शक्ति बनेको दाबी गर्नु अर्थपूर्ण थियो । किनकि २०७९ को आमचुनावमा अप्रत्यासित मत पाएर देशकै चौथौं शक्ति बनेको रास्वपाको कोशी प्रदेशमा राम्रो प्रभाव छ । समानुपातिकतर्फ रास्वपाले देशभर ११ लाख ३० हजार ३४४ मत पाउँदा कोशीबाट २ लाख १४ हजार ८१९ मत पाएका थिए ।

प्रत्यक्षतर्फ कोशीको २८ मध्ये १० क्षेत्रमा रास्वपाका उम्मेदवार तेस्रो बनेका थिए । संखुवसभा, इलाम–२, सुनसरी–३, झापा–१, ३, ४ र ५, मोरङ–१, २ र ६ मा रास्वपाका उम्मेदवारले तेस्रो मत पाएका थिए । सुनसरी–१ मा रास्वपाले झण्डै जित्यो ।

एमालेको समर्थनमा उम्मेदवार बनेका जसपाका अशोक राईले १७ हजार ५९ मत पाएर जित्दा जसपाका गोमा तामाङ (सरिन) ले १६ हजार ६०६ मत पाएकी थिइन् । अर्थात् ४५३ मतले मात्र जितबाट सरिन टाढा थिइन् ।

यस्तो शक्तिसहित उदाएको रास्वपा समेत रक्षात्मक बनेको पृष्ठभूमिमा हर्क साम्पाङले दल खोल्न लागेको पछिल्लो उदाहरण कीर्तिपुरको उपचुनाव हो । ‘पार्टी नबनाउने हो भने कीर्तिपुर आउनु, इलाम जानु गरिरहनै पर्थेन नि’ उनी निकट स्रोत भन्छ, ‘यो पार्टी बनाउने एउटा अभ्यास नै हो ।’

मेयर साम्पाङले यो वर्षभित्रै पार्टी खोल्ने सार्वजनिक संकेत गत असार तेस्रो साता नै सार्वजनिक गरिसकेका छन् । ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौं । मन परे साथ दिएर जोडिनुहोला’, उनले लेखेका थिए ।

उक्त स्टाटसजस्तै मेयर साम्पाङले संगठन निर्माणको अभ्यास पनि अघि बढाइसकेका छन् । आफू समर्थकहरू समेटेर उनले ‘स्वतन्त्र नागरिक समाज’ बनाइरहेका छन् ।

धरानका लगभग सबै वडामा सञ्जाल बनेको छ । धरान बाहिरका बराहक्षेत्र, इटहरी, झापाको भद्रपुर, धनकुटा, इलाम लगायात शहरमा उनी समर्थकहरूले स्वतन्त्र नागरिक समाज बनाएका छ् । अहिले सामाजिक काम गर्न भनेर बनिरहेको यही सञ्जाललाई मेयर साम्पाङले पार्टीको संगठनमा बदल्न सक्ने संभावना छ ।

तर उनले पार्टी खोल्छन् भन्नेमा उनी निकटकाहरू पनि ढुक्क छैनन् । ‘उहाँलाई लागेको कुरा बोल्नु हुन्छ, अरुको कुरा नसुन्ने र सल्लाह नमान्ने भएकाले निर्धक्क कुनै निष्कर्षमा पुग्न सकिदैन’ पार्टी घोषणाकै सन्दर्भमा पनि उनी निकट स्रोत भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?