News Summary
Generated by OK AI. Editorially reviewed.- ४३ वर्षअघि प्रकाश थापाले निर्देशन गरेको फिल्म 'जीवनरेखा' को विशेष प्रदर्शन नारायणगढमा गरिएको छ।
- चलचित्र विकास बोर्डले ३० वर्षभन्दा पुराना नेपाली फिल्मलाई हरेक हप्ता प्रदर्शन गर्ने 'ओल्ड इज गोल्ड' अभियान सुरु गर्ने तयारी गरेको छ।
- बोर्डले १० वटा ऐतिहासिक फिल्म डिजिटाइज गरिसकेको र थप १० फिल्म डिजिटाइज गर्ने तयारीमा रहेको जनाएको छ।
काठमाडौं । रिलिजको ४ दशकपछि फिल्म ‘जीवनरेखा’ को विशेष प्रदर्शन गरिएको छ । शिव श्रेष्ठ फाउन्डेसनको आयोजना, चलचित्र विकास बोर्डको सहकार्य र लायन्स क्लबको व्यवस्थानमा स्थानीय जल्मा हल नारायणगढमा स्क्रिनिङ गरियो । ४३ वर्ष अघि प्रकाश थापाले निर्देशन गरेको उक्त फिल्म ‘कल्ट क्लासिक’ फिल्म हो ।
नेपाली फिल्म इतिहासका महत्वपूर्ण कृतिलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेसनसँग मिलेर गरेको जनाएको छ ।
अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली फिल्मलाई हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेल्युलोइड फिल्मलाई डिजिटाइजेसन गरिसकेको छ ।
ऐतिहासिक, अभिलेखीय महत्व र साहित्यिक कृतिमा आधारित थप १० फिल्म डिजिटाइज गर्ने तयारी भइरहेको उल्लेख छ ।
बोर्डका अनुसार यो अभियान पुराना फिल्मलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्याउने प्रयास हो । पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका फिल्मलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा रहेको प्रेषित विवरणमा उल्लेख छ ।
उक्त समारोहमा पाका निर्देशक नीर शाह, बोर्ड अध्यक्ष दिनेश डीसी, निर्देशक प्रकाश सायमी, निर्माता आकाश अधिकारी, अभिनेता शिव श्रेष्ठ, पत्रकार रवि अधिकारी, प्रदर्शक वीरेन्द्रनारायण श्रेष्ठ, फिल्मकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारीको उपस्थिती थियो ।
फिल्म ‘जीवनरेखा’ मा शिव श्रेष्ठसहित मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, बसुन्धरा भुषाल , गोपालराज मैनाली, हरिवंश आचार्यको अभिनय छ ।
प्रतिक्रिया 4