१३ मंसिर, काठमाडौं । स्थानीय तहमा रिक्त पदका निम्ति १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आज मध्यरातबाट मौन अवधि सुरु हुँदैछ ।
गत २ मंसिरमा उम्मेदवारी दर्ता गरेकाहरूलाई आज रातिसम्म प्रचार गर्ने समय दिइएको थियो । त्यो अवधिमा उम्मेदवारी फिर्ता लिने अवसर समेत दिइयो । आयोगले दिएको सुविधा उपयोग गरी ५ मंसिरमा ३१ जनाले उम्मेदवारी फिर्ता गरे ।
उम्मेदवारी फिर्तापछि ३ पदमा निर्विरोध भएकाले बाँकी ४१ पदका निम्ति ३७६ जना मैदानमा छन् । राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरु आज रातिसम्म प्रचारप्रसारमा खटिनेछन् ।
‘प्रचारका निम्ति दिइएको समय सकिँदैछ, अब मौन अवधि शुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘मौन अवधि र मतदान प्रक्रियालाई शान्तिपूर्ण बनाउन सबै पक्षसँग आग्रह गर्छु ।’
प्रमुख आयुक्त थपलिया, उपचुनाव मतदाताले लिने आवधिक परीक्षा समेत भएकाले उम्मेदवारहरू सचेत रहनुपर्ने बताउँछन् । ‘हेर्दा वडाध्यक्षको चुनाव भइरहेको छ, तर यसको सन्देश ठूलो हुन्छ । दलहरूलाई जनधारणा बुझ्ने अवसर हो भने हामीलाई कमजोरी पहिचान गर्ने मौका हो’, उनले भने ।
प्रमुख आयुक्त थपलियाले भनेजस्तै राजनीतिक दलहरूले पनि यो उपचुनावलाई महत्त्वका साथ लिएका छन् । प्रचारको अन्तिम दिन कीर्तिपुरमा देखिएको दृश्यले पनि यो उपचुनावलाई दलहरू प्रतिष्ठाकै विषय बनाएको पुष्टि हुन्छ ।
कीर्तिपुरमा आज मुख्य दलहरूले एकसाथ चुनावी सभा गरेर शक्ति प्रदर्शन गरे । एकप्रकारले कीर्तिपुरमा शीर्ष नेताहरुको भीड लाग्यो ।
पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत नेताहरू कीर्तिपुर पुगेका थिए । प्रचारको अन्तिम दिन मात्र नभएर उम्मेदवारी दर्तापछि नै उपचुनाव हुने ठाउँहरु शीर्ष नेताहरु खटिएका थिए ।
कांग्रेसले महामन्त्री शर्माको नेतृत्वमा केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको थियो । प्रदेशगत रुपमा सहमहामन्त्री सहित नेताहरुलाई जिम्मेवारी तोकिएको थियो । बागमतीमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, कोशीमा भीष्मराज आङ्देम्बे, मधेसमा महेन्द्र यादव, कर्णाली प्रदेश एवं गण्डकीमा जीवन परियार, सुदूरपश्चिममा एनपी साउद र लुम्बिनी प्रदेशमा पुष्पा भुसाललाई जिम्मेवारी दिइएको थियो ।
‘मधेसमा चुनाव हुने सातै स्थानमा पुगेँ । जति कांग्रेसलाई बाहिर प्रहार भएको देखिन्छ । प्रहार अनुसारको पार्टीलाई परेको देखिन्न्,’ शर्माले भने, ‘फिल्डमा हाम्रो अवस्था राम्रो पाएँ ।’
अर्का महामन्त्री गगन थापा मोरङको ग्रामथानमा बुधबार पुगेर चुनावी सभामा सहभागी भए । उनी काठमाडौं–१६ को चुनावी घरदैलोमा सहभागी बने । स्थानीय समन्वय विभागका प्रमुख रहेका केन्द्रिय सदस्य मधु आचार्य दैलेखको चुनावी प्रचारमा खटे ।
यो उपचुनावमा सवैभन्दा ठूलो चुनौती पनि कांग्रेसलाई नै छ । किनकि उपचुनाव हुन लागेका मध्ये धेरै स्थानमा यसअघि कांग्रेसले जितेको थियो ।
दुई वटा जिल्ला समन्वय समिति (जिसस) सभापति सहित ४४ मध्ये २७ क्षेत्रमा कांग्रेसले जितेको थियो । तर रिक्त भएका ओखलढुंगा र कैलाली जिसस सभापति कांग्रेसले सुरक्षित गरिसकेको छ । दुवैमा कांग्रेस उम्मेदवार निर्विरोध भए ।
उपचुनाव हुने ८ पालिका पदाधिकारीमध्ये ६ ठाउँ यसअघि कांग्रेसले जितेको क्षेत्र हो । मुख्य चासोमा रहेको कीर्तिपुरकै मेयरमा कांग्रेसका राजकुमार नकर्मीले जितेका थिए । नकर्मीको निधन भएपछि अहिले उपचुनाव हुँदैछ ।
मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पनि कांग्रेसकै नेता थिए । पालिका उपाध्यक्ष पदमा उपचुनाव हुने मध्ये दोलखाको गौरीशंकर गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र बाजुराको स्वामीकात्र्तिक गाउँपालिका कांग्रेसले नै जितेको क्षेत्र हो ।
कांग्रेसलाई यसअघि जितेको सिट जोगाउनुपर्ने दबाब छ । तुलनात्मक रुपमा यसपटक उम्मेदवारको विवाद कम देखिनुदेखि अरु दलहरूसँग स्थानीय स्तरमा सहकार्यको निर्णय हुनुले पनि कांग्रेसभित्रको दबाव बुझ्न सकिन्छ ।
कांग्रेसले जस्तै माओवादीले पनि यो उपचुनावलाई विशेष महत्त्वका साथ लिएको छ । अध्यक्ष प्रचण्ड कीर्तिपुरमा मात्र दुईपटक पुग्नुले उपचुनावलाई माओवादीले कसरी बुझेका छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
अध्यक्ष प्रचण्डले त सार्वजनिक अभिव्यक्तिबाटै यो उपचुनाव आगामी आमचुनावको आँखीझ्याल भएको स्वीकारे । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’, अध्यक्ष प्रचण्डले कीर्तिपुरबाट भने ।
राजधानीमा उपलब्ध माओवादीका लगभग सबैजसो शीर्ष नेता कीर्तिपुर पुग्नुले पनि यो उपचुनावको महत्त्व बुझ्न सकिन्छ । बिहीबारकै सभामा पनि अग्नि सापकोटा, शशि श्रेष्ठ लगायत सहभागी थिए । त्यही सभामा सम्बोधन गरेका एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले त यो उपचुनावलाई जनमत संग्रहकै उपमा दिए ।
माओवादीले यसअघि जितेको ८ क्षेत्रमा उपचुनाव हुँदैछ । विशेषगरी हुम्लाको सर्केगाड र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका निम्ति हुने उपचुनाव माओवादीका निम्ति विशेष हुनेछ । ०७९ मा माओवादीले जितेको यी क्षेत्रहरू जोगाएर अरु थप्न सक्दा माओवादीप्रतिको आकर्षण बढेको सन्देश जानेछ ।
तुलनात्मक कम दबाबमा रहेको एमालेले पनि उपचुनावबाट जाने सन्देशबाट जोगिन आवश्यक तयारी गरेको छ । सकेअघि जितेको ७ वडा सुरक्षित गर्दै बाँकी क्षेत्रमा जित्न सके एमालेप्रति आकर्षण रहेको सन्देश जाने नेताहरूको बुझाइ छ ।
त्यसैले शीर्ष नेताहरू उपचुनावमा खटिएका छन् । बिहीबार कीर्तिपुरको सभामा महासचिव पोखरेल, सचिव योगेश भट्टराई, बागमती इन्चार्ज डा.राजन भट्टराई लगायत सहभाी थिए । अरु उपचुनाव हुने ठाउँहरूमा सोही क्षेत्रका नेताहरू सहभागी छन् ।
महासचिव पोखरेलले उपचुनाव जितेर राष्ट्रिय राजनीतिमा सन्देश दिनुपर्ने बताए । ‘मदन भण्डारीजस्तो नेतालाई स्थापित गर्ने क्षेत्र हो कीर्तिपुर भन्ने सच्चाईलाई मनन गर्नुपर्छ । त्यो कीर्तिपुरको ऐतिहासिकतालाई अहिलेको उपचुनावको माध्यमबाट स्थापित गर्नुपर्छ’, पोखरेलले भनेका थिए ।
प्रतिनिधि सभाको चौथो दल रास्वपाले पनि यो उपचुनावमा १८ जना उम्मेदवार उठाएका छन् । रास्वपाले स्थानीय चुनावमा भाग लिएको यो पहिलो पटक हो ।
‘पार्टीको एजेण्डा स्थापित गर्ने रुपमा रास्वपाले स्थानीय तहको उपनिर्वाचनलाई लिएको छ । हाम्रा उम्मेदवारले स्थानीय मुद्दाहरू सशक्त उठाउनेगरी हामीले तयार गरेका छौं,’ कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने ।
वडा र पालिकाको सरकार नागरिकको जीवनसँग जोडिएका सरकार भएको रास्वपा नेता शिशिर खनाल बताउँछन् । यद्यपि कीर्तिपुर जस्तो राष्ट्रिय चासोमा परेको नगरपालिकामा मेयर नउठाएर रास्वपाले ठूलो अवसर गुमाएको छ । तर उम्मेदवारी दिएका ठाउँहरुमा पदाधिकारीहरूसहित खटिएर लागे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपचुनावमा सम्पूर्ण शक्ति लगाएको छ । यसका अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ खटिए भने उपसभापति रविन्द्र मिश्र, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरु उम्मेदवार जिताउन हिँडे । कीर्तिपुरको सभामा सहभागी बने । कांग्रेस, एमाले र माओवादीको बन्धक भएकाले त्यसबाट देशलाई मुक्त गराउनुपर्ने विचार राखे ।
पुराना/नयाँ दलहरूसँगै यो उपचुनावलाई स्वतन्त्र उम्मेदवारी दिनेहरूले पनि महत्त्वका साथ लिएका छन् । धेरै चर्चामा भने धरानका मेयर हर्क साम्पाङले कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन जनाए ।
उपचुनावको महत्त्व बुझाउने उदाहरण भने गोरखा नगरपालिका–५ को वडाध्यक्षमा आफ्ना उम्मेदवार जिताउन पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई खटिनु थियो ।
प्रतिक्रिया 4