+
+

अजिरकोटको स्थानीय पाठ्यक्रममा जनयुद्धबारे सामग्री, हटाउन नेविसंघको अल्टिमेटम

रुम टु रिडको कार्यालयमा ताला

विकास मरहट्टा विकास मरहट्टा
२०८१ मंसिर २३ गते २०:४६

२३ मंसिर, गोरखा । गोराको अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल विद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले ४८ घण्टाभित्र विद्यार्थीहरुको हातबाट पाठयपुस्तक फिर्ता गर्न पालिकालाई अनुरोध गरेको छ । अनुरोधलाई बेवास्ता गरे पालिकाभित्रका सबै विद्यालयको पठनपाठन बन्द गरी आन्दोलनका थप कार्यक्रम अगाडि बढाउने नेविसंघले चेतावनी दिएको छ ।

नेपालको संविधानले निर्दिष्ट गरेको शसस्त्र द्वन्द्वलाई जनयुद्धको नाम दिँदै असंवैधानिक पाठ्यवस्तुहरु समावेश गरेको भन्दै तत्काल हटाउन नेविसंघले विज्ञप्तिमार्फत् माग गरेको हो । ‘हाम्रो संविधानले कुनै पनि स्थानीय सरकारलाई एउटा पार्टी विशेषको घोषणा पत्र पढाउने अनुमति दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकाको कलिला मस्तिष्कमा पाठ्यपुस्तक मार्फत् नै यस्ता घृणित गैरराजनीतिक विषयसूची प्रवेश गराएर कक्षाकोठा देखि नै ब्रेनवास गराउन खोजिएको घाम जस्तै छर्लंग छ ।’

विरोध स्वरुप नेविसंघले शनिबार रुम टु रिड नामक गैरसरकारी संस्थाको कार्यालयमा ताला समेत लगाएको छ । उक्त संस्थाकै प्राविधिक सहयोग र संस्थाका सिनियर प्रोग्राम अफिसर समेत रहेका एलबी खड्का, संस्थाका कर्मचारी अनन्त वाग्ले र राजन सापकोटाले उक्त पाठ्यपुस्तक सम्पादन गरेकाले उक्त संस्थामा तालाबन्दी गरिएको नेविसंघ जिल्ला सभापति शिवहरि तिमल्सिनाले बताए ।

‘एउटा अमुक राजनैतिक दलको एजेण्डाहरु कलिला विद्यार्थीहरुलाई पाठ्यपुस्तक मार्फत नै पढाएर बालबालिकाहरुलाई मनोवैज्ञानिक असर पुर्‍याउने अधिकार एउटा गैरसरकारी संस्थालाई कसले दियो ?’ उनले प्रश्न गरे ।

चित्तबुझ्दो जवाफ सार्वजनिक भएर पाठ्यपुस्तक फिर्ता नभएसम्म ताला नखोल्ने उनले जानकारी  गराए ।

स्थानीय पाठ्यक्रम अन्तर्गत पालिकाले कक्षा ५ को पाठ्यपुस्तक ‘अजिरकोट सेरोफेरो’ को पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको छ । सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ ।

सो पाठमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’, ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद’ लगायतका नारा लेखिएका पोस्टरहरु राखिएका छन् । त्यस्तै सो पाठको सुरुमै माओत्सेतुङको ‘जनता नै इतिहासका निर्माता हुन् – माओ’ भनाइ उल्लेख गरिएको छ भने जनमुक्ति सेनाका तस्वीरहरु राखिएका छन् ।

कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजार भन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयबस्तु समाविष्ट छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?