नेपाली माटोको उर्वराशक्ति घट्दै गइरहेको चेतावनीयुक्त विवरण सार्वजनिक भएको छ । करिब ११ खर्ब रुपैयाँ बराबरको उत्पादन गर्ने र ६० प्रतिशत नेपालीले नङ्ग्रा खियाउने माटो माथि जथाभावी दोहन नरोक्ने हो भने यसको सामाजिक, आर्थिक चुनौती थेगिनसक्नु हुनेछ ।
५ पुस, काठमाडौं । मंसिरको पारिलो घाम छिप्पिंदै गर्दा ललितपुर देवीचौरका उत्तम तिमिल्सिना र गोपिनी तिमिल्सिना घरमुनिको बारीमा झर्छन् । ललितपुर सातदोबाटो चक्रपथबाट झण्डै डेढ घण्टामा पुगिने गोदावरी नगरपालिकाका बासिन्दा उनीहरू दिनभर खेतमा गोडमेल गर्छन् । मलखाद मिलाउनेदेखि तरकारी काटेर गाडीमा हाल्नेसम्मको काममा व्यस्त हुन्छन् ।
सेपिलो पाखोमा पर्ने बारीको तरकारीका बोटहरूमा शीत नपर्दै उनीहरूलाई काम सक्ने हतारो हुन्छ । साँझ परेपछि घर फर्किन्छन् र बेलुकी खानपिनको मेलो गर्छन् । तरकारी लिन आउने गाडीले ढिला गर्यो भने उनीहरूको यो दिनचर्या बिथोलिन्छ ।
करिब १८ वर्षअघि उत्तम/गोपिनी दम्पतीले तरकारी खेती शुरू गर्दाको तुलनामा अहिले खेती सहज भएको छ । झिसमिसे नहुँदै तरकारी बोकेर चापागाउँ पुग्ने उनीहरू फर्किंदा आवश्यक सामान बोकेर आउँथे । अहिले गाउँमा कालोपत्रे बाटो पुगेकोले तरकारी ओसार्ने गाडी ५/६ घण्टामै कान्लामुनि आइपुग्छ । मलखाद, बीउ ल्याउन सहज छ ।
यसरी देवीचौरको ६/७ रोपनी माटोमा खेलेर उनीहरूले आफ्ना सन्तान हुर्काए । तर करीब ६ वर्षयता उनीहरूले लगाएका बोटबिरुवामा अनौठो ‘रोग’ देखिन थाल्यो । शुरूमा हलक्कै बढे जस्तो हुने काउली, बन्दा फक्रने बेलामा कक्रक्क पर्न थाले । तिमिल्सिना दम्पतीले ठाने– ‘कुनै सरुवा रोग होला ।’
‘मल पानी खाइसकेपछि बिरुवा फतक्क ओइलाउन थाले’ गोपिनी भन्छिन्, ‘ओइलाएको बोट उखेल्यो भने जरा त कुखुराको खुट्टा जस्तो कक्रक्क भएर बसेको देखिन्छ । जरा फैलाउनुपर्ने ठाउँमा गाँठा बढ्दै जाने रहेछ ।’
उनीहरूले प्राविधिक बोलाएर बारी देखाए, तरकारीका बोट उखेलेर कृषि कार्यालयमा लगे । माटो परीक्षण गर्दा अम्लीयपन बढेको पत्ता लाग्यो । उत्तम भन्छन्, ‘गाउँमा सुविधा त बढ्यो तर पहिले जस्तो स्वस्थ माटो नहुँदा अब खेतीपाती गर्न दिक्क लागेको छ ।’
माटोमा अम्लीयपना बढेको र त्यसको असर देखिन थालेको दृष्टान्तलाई तिमिल्सिना दम्पतीले आफनो माटोको स्वास्थ्य कसरी बिग्रिंदैछ भनेर दर्साए । अम्लीयपन बढेर तरकारीका बोटहरूमा देखिने गाँठालाई स्थानीय किसानहरू ‘गाँठे रोग’ भन्छन् । पाँच वर्षदेखि काउली, बन्दा, साग लगायतका तरकारीमा देखिएको ‘गाँठे’ उन्मूलन नभएकोमा उनीहरू हैरान छन् ।

उत्तम र गोपिनीका छिमेकी सोमनाथ तिमिल्सिना यो समस्याले झन् बढी दिग्दार छन् । ‘यसपालि नै बाढीले बढी नोक्सानी गर्यो । लगाएको तरकारीमा गाँठे देखिएको छ । बारीमा तरकारी नभएका बेला बजारमा भाउ राम्रो छ’ २१ वर्षदेखि तरकारी खेती गरिरहेका सोमनाथ भन्छन्, ‘उत्पादन घट्यो भनेर कृषिचुन छरियो, अनेक गरियो । काउली, बन्दा, सागहरूमा गाँठे देखिन छाडेको छैन ।’
उत्तम, गोपिनी र सोमनाथ जस्तै आफ्नो बारीको उत्पादन घट्दा चिन्तित हुने किसानको संख्या बढ्दो छ । घट्दो उत्पादनले खेतीपातीमा टिक्न नसक्ने भएपछि कतिले खेतीपाती घटाएका छन् भने कतिपयले जग्गा अरू प्रयोजनमा लगाएका छन् । केही त जग्गा बेचेरै हिंडे ।
स्थानीय कृषकहरूको बुझाइ परिपक्व लाग्छ । पानी वा वायु प्रदूषित भएकोमा हामी चिन्ता गर्छाैं । तर, हाम्रा पाइताला मुनिको संसारबारे हामी बेखबर जस्तै छौं । मानव जातिको भविष्यसँग जोडिएको कृषि उत्पादन र समग्र कृषि प्रणालीका लागि माटो स्वस्थ हुनु जरूरी छ । तर जानेर वा नजानेर, उत्पादन बढाउने नाममा अधिक दोहनका कारण माटो अस्वस्थ बन्न गई खेतीकिसानी नै संकटमा पर्ने चिन्ता उनीहरूको छ ।
कृषकको यो चिन्तामा वैज्ञानिकहरू पनि सहमत छन् । ‘माटोको उर्वरापनमा आएको समस्याले खेतबारीमा उब्जाउ घटिरहेको हो’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्ट भन्छन्, ‘माटोमा अम्लीयपन बढ्दै गइरहेको छ । सघन कृषि उत्पादन भइरहेका ठाउँको माटो बिग्रँदो छ ।’
बोटबिरुवाले जमीनमा भएका खाद्यतत्व सजिलै लिन सक्ने अवस्थालाई माटोको उर्वरापन भनिन्छ । माटोमा पाइने खनिज, प्राङ्गारिक वा खाद्यतत्वको मात्रा कमी हुनु नै उर्वरापन घट्नु हो । उर्वरापन घट्दा बोटबिरुवाले आवश्यक खाद्यतत्व माटोबाट लिन सक्दैनन्, उत्पादन घट्छ ।
विज्ञहरूका भनाइमा, पुर्खाहरूको जीवन धानिदिएको मलिलो माटो पछिल्ला वर्षहरूमा एकाएक बिग्रिएको होइन । उर्वरापनलाई असर गर्ने धेरै पक्षहरू हुन्छन् । माटो कस्तो छ भन्ने विषय त्यो ठाउँको भौगर्भिक अवस्था, जमीनको बनावट, विकासदेखि जलवायुले प्रभाव पार्छ ।
मानिसहरूले उत्पादनका लागि अपनाइरहेको तौरतरिकाले माटोलाई प्रत्यक्ष असर गर्छ । व्यावसायिक खेती हुने ठाउँको माटो बिग्रिंदै गइरहेको छ । उत्पादकत्व बढाउन उपयोग गरिने रासायनिक मल र विषादीको अनावश्यक प्रयोगले उत्पादकत्व घट्दो छ । पछिल्ला वर्षहरूमा माटोमा अनावश्यक रसायन देखिन थालेको छ, जसलाई वैज्ञानिकहरू शहरीकरण अनि प्रदूषणको असर भन्छन् ।
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंका अनुसार, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै एक चौथाइ (२४ प्रतिशत) हिस्सा रहेको कृषि क्षेत्रले करिब ११ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको उत्पादन गर्छ । ६० प्रतिशत नेपाली माटोमा नङ्ग्रा खियाइरहेका छन् ।
जथाभावी दोहनका अतिरिक्त खेती गर्न योग्य भए पनि जमीन प्रयोगविहीन रहेको बताउने उनी जमीनको बढ्दो बाँझोपन, खेतबारीमा भइरहेको बस्ती विस्तार लगायतलाई उत्पादकत्व घट्नुको कारक मान्छन् ।
राष्ट्रिय कृषि गणना, २०७८ ले २२ लाख १८ हजार हेक्टरमध्ये २१ लाख २२ हजार हेक्टर जग्गा खेतीपातीमा प्रयोग भइरहेको देखाएको छ । बाँकी ८१ हजार हेक्टर किसानको जग्गा त्यत्तिकै छ, प्रयोग भइरहेको छैन ।
नेपाली माटोको विविध पक्षबारे लेखिएका पुस्तक ‘सोइल्स अफ नेपाल’ का अनुसार, १९६०/७० सालदेखि एक शताब्दीसम्म नेपालको खेतीयोग्य जमीन बढ्दो क्रममा थियो भने अब विस्तारै घट्दो देखिन्छ । बसाइँसराइका कारण मध्यपहाडी र हिमाली भेगमा खेतीयोग्य जमीन बाँझिने क्रम शुरू भएको छ ।
उक्त पुस्तकका अनुसार, सन् २०१० मा २९.८ प्रतिशत खेतीयोग्य जमीन रहेकोमा अहिले घटेर २८.२ प्रतिशतमा सीमित भएको छ । कृषि सर्वेक्षण (२०७८) ले २०६८ सालको तुलनामा तीन लाख हेक्टर कृषियोग्य जमीन घटेको देखाएको छ । (हेर्नुहोस्–पेज ११)
कुटोकोदालो र खनजोतपछि नरम हुने र सानो बीउबाट ठूला बोटहरू हुर्काउने शक्ति भएको माटो उत्पत्तिको इतिहास आफैंमा रोचक छ । ठूला चट्टानहरूको टकराव र तिनका टुक्राहरूको हजारौं वर्षको घर्षणपछि बनेको स–साना कणहरूबाट माटो बन्ने प्रक्रिया शुरू हुन्छ । तिनमा बोटबिरुवा र जनावरको अवशेष मिसिएर माटो बन्न हजार वर्ष लाग्छ ।
हामीले फालेका कुहिने पदार्थ केही महिनादेखि वर्षदिनमा माटोमा विलाएर जान्छन् । हामीले त्यसलाई माटो बनेको ठानिरहेका हुन्छौं । तर, कृषि वैज्ञानिकहरूका अनुसार, माटो बन्ने प्रक्रिया कम्तीमा पनि सय वर्षदेखि हजार वर्ष लामो हुन्छ ।
नार्कले प्रकाशित गरेका जर्नलहरूका अनुसार, बोटबिरुवालाई चाहिने १८ प्रकारका खाद्यतत्व माटोबाट उपलब्ध हुन्छन् । बोटबिरुवाले आफ्ना जरा मार्फत जमीनमुनिको ओसिलोपनाबाट माटोको खाद्यतत्व ग्रहण गर्छन् । माटोमा ४ प्रतिशतसम्म प्राङ्गारिक पदार्थ हुनु राम्रो मानिन्छ । त्यस्तो प्राङ्गारिक पदार्थको आधा भाग प्राङ्गारिक कार्वन हुनुपर्छ ।
खाद्यतत्व बोटबिरुवाले सहजै ग्रहण गर्न माटोमा अम्लीयपन र क्षारीयपनको सन्तुलन हुनुपर्छ । वैज्ञानिकहरूका अनुसार, ६.५ देखि ७.५ पीएच (पोटेन्सिएल अफ हाइड्रोजन) भएको माटो राम्रो मानिन्छ । ०.०६ देखि ०.१ प्रतिशत नाइट्रोजन हुनु राम्रो मानिन्छ । माटोमा हाइड्रोजन, अक्सिजन, कार्वनडाइअक्साइड जस्ता ग्यास अनि प्राङ्गारिक पदार्थ कुहाउन भूमिका खेल्ने सूक्ष्म जीवाणु समेत आवश्यक पर्छ ।
माटोमा हुनुपर्ने खाद्यतत्व तोकिएको भन्दा कम मात्रामा भएमा उर्वराशक्ति घटेको मानिन्छ । कतिपय रसायन वा पदार्थहरू आवश्यक भन्दा बढी मात्रामा भेटिएमा त्यसलाई माटोको प्रदूषण मानिन्छ ।
एउटा आधिकारिक सरकारी संरचनाले गरेको अनुसन्धानको नतिजाले चेतावनीयुक्त सन्देश दिएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गतको माटो अनुसन्धान केन्द्रले हिमाल, पहाड, तराई लगायत सबैजसो स्थानीय तहबाट नमूना लिएर १२ वर्षदेखि माटोको परीक्षण गरेको थियो ।
‘हिमाली र पहाडी भेगको माटो तुलनात्मक रूपमा राम्रै देखिन्छ, खासै समस्या छैन’ माटोविज्ञ विष्ट भन्छन्, ‘शहरी क्षेत्र वरपर र तराई क्षेत्रको माटोको अवस्था पहिलेको भन्दा खस्कँदो छ ।’
अम्लीयपनसँग जुध्दै किसान
माटोको अवस्था जाँच्दा आधारभूत रूपमा अम्लीयपन वा क्षारीयपनबारे परीक्षण गरिन्छ, जसलाई माटोको पीएच नाप्ने भनिन्छ । माटोमा अमिलो पदार्थको मात्रा बढ्नु अम्लीयता हो भने क्षार (तीतो वा टर्रो) बढ्दै जानु क्षारीयपन हो ।
माटोमा अम्लीयपना बढेमा पीएचको मात्रा कम हुँदै जाने देखिन्छ । क्षारीयपन बढेमा पीएचको मात्रा बढी हुने देखिन्छ । १ देखि १४ अंकसम्मको पीएचमध्ये ६.५ देखि ७.५ पीएच भएको माटो खाद्यबालीका लागि सन्तुलित मानिन्छ । माटोको पीएच ६.५ भन्दा तल अम्लीयपनको अवस्था हो भने ७.५ भन्दा माथिको क्षारीयपनको अवस्था हो ।
माटोको अम्लीयपनको स्रोत हाइड्रोजन तत्व धन आयन हो । माटोमा हाइड्रोजन आयनको क्रियाकलाप जति बढ्दै जान्छ, माटो अम्लीय बन्दै जान्छ । माटोमा प्राङ्गारिक पदार्थ कुहिने क्रममा र बिरुवाका जराले ‘सास फेर्दा’ कार्वनडाइअक्साइड ग्यास उत्पादन हुन्छ । सो ग्यास पानीमा मिसिन्छ र कार्बाेलिक तेजाब बन्छ । यो तेजाब माटोमा छिर्दै गएपछि माटो अम्लीय बन्दै जान्छ ।
कृषि वैज्ञानिकहरू नेपालको माटोमा देखिएको अम्लीयपन नै माटोको उर्वरापनको प्रमुख समस्या रहेको बताउँछन् । पश्चिमी क्षेत्रको अवस्था खासै चिन्ताजनक नभए पनि पूर्वी नेपालको माटोमा अम्लीयपन बढी देखिएको छ । त्यसमा पनि मध्यपहाड तलपट्टि समथर भाग र तराईको माटोमा अम्लीयपन छ ।
‘नेपालको ६० प्रतिशतभन्दा बढी क्षेत्रको माटोमा अम्लीयपन ज्यादा छ’ जलवायु परिवर्तनले कृषिमा पारेको असरबारे अध्ययनमा संलग्न अर्का माटो वैज्ञानिक डा. रोशनबाबु ओझा भन्छन्, ‘समग्रमा हेर्दा नवलपरासी पूर्वतिरको माटोमा अम्लीयपन ज्यादा देखिन्छ । पश्चिमको भागमा क्षारीयपनाको मात्रा बढी छ । यो समस्या तराई क्षेत्रमा ज्यादा छ ।’
अम्लीय/क्षारीयपनका अनेक कारण हुन्छन्, माटोमा पाइने प्राङ्गारिक पदार्थको मात्रासँग पनि त्यसको सम्बन्ध रहेको माटो विशेषज्ञहरू बताउँछन् । माटोमा आवश्यक पर्ने प्रांगारिक पदार्थले अरू खाद्य तत्वहरूलाई नियमित र सन्तुलित बनाउन सघाउँछ । माटोविज्ञ ओझाका अनुसार, प्रांगारिक पदार्थले माटोको अम्लीयपन घटाउन भूमिका निर्वाह गर्छ । बोटबिरुवालाई चाहिने खाद्यतत्वलाई जोगाएर राख्छ र आवश्यक परेको बेलामा त्यस्ता तत्व बोटबिरुवाले पाउँछन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का लागि कृषि वैज्ञानिकहरूले बनाएको डाटाबेस अनुसार नेपालको हिमाली भेगको माटोमा प्राङ्गारिक पदार्थको मात्रा निकै राम्रो छ, मध्यपहाडतिर ठिकैठिकै छ भने तराईतिर खस्कँदो अवस्थामा छ ।

‘सोइल्स अफ नेपाल’ पुस्तकका सम्पादक समेत रहेका वैज्ञानिक डा. रोशनबाबु ओझा अम्लीय वर्षालाई पनि माटोमा अम्लीयपन बढ्नुको कारक मान्छन् । उक्त पुस्तकमा बढ्दो प्रदूषण र त्यसबाट सिर्जित अम्लीयवर्षाले माटोमा अम्लीयपन बढेको हुनसक्ने उल्लेख छ ।
वर्षाको पानी प्रदूषित वायुमण्डलमा रहेका कतिपय ग्याससँग मिसिएपछि अम्लीय गुणयुक्त हुन्छ । त्यही वर्षालाई अम्लीय वर्षा भनिन्छ, जसले माटोमा अम्लीयपन बढाउन मद्दत गर्छ । कृषि वैज्ञानिकहरूका अनुसार, नेपालमा अम्लीय वर्षा त्यति ठूलो समस्या भने होइन ।
माटोविज्ञ ओझाले धेरै ठाउँको माटोको नमूना अध्ययन गरेका छन् । नेपालको सन्दर्भमा जलवायु, तापक्रम र वर्षा आदि कारणले करिब एक हजार वर्षमा माटो बन्दो रहेछ भन्ने आकलन छ । मान्छेका कारण माटोमा असर नपरेको ठाउँमा पनि माटोमा अम्लीयपन बढेको देखियो ।
नार्कमा रहेका माटो वैज्ञानिकहरूका अनुसार, तिब्बती र भारतीय प्लेटको टकरावका कारण हिमालय पर्वत शृङ्खला बन्यो । त्यो चट्टानको ‘पैतृक गुण’ नै अम्लीयपन बढाउने खालको थियो । यसरी पैतृक पदार्थका कारण पनि नेपालको कतिपय ठाउँमा अम्लीयपन बढेको निष्कर्षमा उनीहरू पुगेका छन् ।
नेपाली जमीनको आधाभन्दा बढी माटो अम्लीय हुनुमा किसानलगायत मान्छेको मात्रै भूमिका छैन, प्राकृतिक कारण पनि छ । ओझा भन्छन्, ‘स–साना बहानाले आफ्नो अम्लीयपन प्रकट गर्न तयार भएको माटोलाई हाम्रो जलवायु प्रणालीले पनि थप अम्लीय बनाउन भूमिका निर्वाह गरेको छ ।’
कुल वर्षाको ९० प्रतिशत बढी पानी मनसुन याम (असारदेखि भदौसम्म) मा पर्छ । नियमित रूपमा हुने भारी वर्षाले माटोको प्रांगारिक तत्व र क्षारीय आयन बगेर गएको हुन्छ र अम्लीयपन बढेर जान्छ । ललितपुर देवीचौरको जमीन यसको एउटा उदाहरण हुनसक्छ । किनकि यो जमीन भिरालो खालको छ । किसानहरूले बस्तुभाउ पालेर तिनको मल नियमित रूपमा बारीमा पनि हालेका हुन्छन् ।
तर, वर्षायाममा भलबाढी बारीमा पसेर सधैं हैरानी खेप्नुपर्ने बताउँछन्, देवीचौरका किसान सोमनाथ तिमिल्सिना । कैयौं वर्षको प्रक्रियापछि मलिलो र उर्वर बनेको माटो भूक्षयका कारण बगेर गइरहेको हुन्छ । ‘माथिबाट गेग्रान खस्छ, आफ्नो बारीभरि हालेको मल बगेर जान्छ’ उनी भन्छन्, ‘अन्यत्र पानी पर्दा उब्जाउ बढेको होला, हाम्रोमा ठिक उल्टो हुन्छ ।’
‘३३ प्रतिशत माटो ह्रास भइसकेको छ’
झापाको हल्दीबारीमा जन्मे–हुर्केका माटो वैज्ञानिक श्रीप्रसाद विष्ट बदलिंदो पारिस्थितिक प्रणाली र जीवनशैलीलाई कृषिसँग जोडेर हेर्न रुचाउँछन् । केही दशक पहिले तराईतिर खेतमा लगाएको आली गँगटाले खनेर हैरान हुन्थ्यो, २/३ दिनको अन्तरालमा आली मर्मत गर्नु परिरहन्थ्यो ।
अहिले गँगटाहरूको सक्रियता देखिंदैन । पानी पर्दा माटोमा रहेका कीराहरू सल्बलाउने भएकाले खेतबारी वरपर रहेका रूखहरूमा चराहरू सक्रिय हुन्थे । अहिले बिहान उठ्दा घर वरपर सुनिने चराचुरुङ्गीको चिरबिर कम हुँदै गएको छ ।
तर, उनै विष्ट माटोको उर्वराशक्ति घट्नुलाई एकोहोरो रूपमा हेर्न नहुने बताउँछन् । ‘माटोको उर्वराशक्ति घट्नुमा हाम्रो भौगोलिक अवस्था, जलवायु र परिस्थितिहरू एकातिर छन्’ उनी भन्छन्, ‘अर्कोतर्फ कृषिमा रसायन र ठूला उपकरणहरूको प्रयोगले कीटाणु र जीवाणुको वासस्थान नाश भएर गयो । यसैकारण केही वर्षअघिको तुलनामा माटो बिग्रिएको निष्कर्ष निकालिएको हो ।’
माटो विशेषज्ञहरूका अनुसार, हिमाली र उच्चपहाडी भेग अनि कर्णालीतिर कम वर्षा हुने अनि चिसोका कारण प्राङ्गारिक पदार्थ लामो समयसम्म रहन्छ भने तल्लो भेगमा त्यसको ठिक उल्टो परिस्थितिले माटोमा प्राङ्गारिक पदार्थ घटेर जाने हुँदा समस्या बढ्छ ।
माटोको स्वस्थता बिग्रिएकोमा नेपाल सरकार पनि चिन्तित देखिन्छ । त्यसैले माटोमा प्राङ्गारिक पदार्थको मात्रा ४ प्रतिशत पुर्याउने नेपालको राष्ट्रिय नीति नै छ । माटोमा हुनुपर्ने प्राङ्गारिक पदार्थमा आधा भाग प्राङ्गारिक कार्वन हुन्छ । तराईमा ३ भन्दा बढी अनि पहाडमा प्राङ्गारिक पदार्थ करिब ४ प्रतिशत बनाउन सकिएमा उपलब्धि हुने सरकारी अधिकारीहरू बताउँछन् ।

उर्वरापन घट्नुमा अम्लीयपन त कारक छ नै, माटोमा प्राङ्गारिक पदार्थ पनि घट्दै गइरहेको छ । माटोमा पाइने प्राङ्गारिक पदार्थले धेरै हिसाबले माटोको गुणस्तरमा प्रभाव पारिरहेको हुन्छ । प्राकृतिक रूपमा माटोमा मिसिने पातपतिंगर, रूखका बोक्रा लगायत प्राङ्गारिक पदार्थ होस् या पशुपालनबाट बन्ने प्राङ्गारिक मल, यी सबैले माटोको अम्लीयपन घटाउँछन् । तर पछिल्ला वर्षहरूमा पशुपालन घट्दो छ ।
विज्ञहरूका भनाइमा विगतमा पशुपालनलाई नै जीविकोपार्जनको माध्यम बनाएका किसानले अहिले दूध खान एक/दुईवटा गाईभैंसी मात्रै पाल्न थालेका छन् । कतिपयले त दूध किनेर खान्छन् । खेतबारीको आकार उही हुँदा त्यहाँको माटोले पाउनुपर्ने जति प्राङ्गारिक पदार्थ पाएको छैन ।
व्यावसायिक खेती हुने ठाउँको माटोको नमूना अध्ययन गरेका कृषि प्राविधिकहरूले प्राङ्गारिक पदार्थको मात्रा घट्दै गएको पाएका छन् । जसले प्रत्यक्ष/परोक्ष रूपमा माटोमा अम्लीयपन बढ्न सघाउँछ । माटोमा एकै खालका बालीको प्रयोग भइरहने, सिंचाइ नहुने हो भने अम्लीयपन थप बढेर जान्छ ।
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंका अनुसार, सिंचाइ सुविधा पुगेको साढे १५ लाख हेक्टर जमीनको करिब २५ प्रतिशत भागमा मात्रै किसानहरूले १२ महिना पानी लगाउँछन् । खेतीयोग्य जमीनको ठूलो हिस्सा बर्खे झरीमा निर्भर छ । सिंचाइको अभावले पनि माटोको उर्वराशक्ति घटिरहेको विशेषज्ञहरूको मत छ ।
औलोको कारण करीब आठ दशक अघिसम्म मानव बसोबासका लागि प्रतिकूल तराईमा बढीमा २/३ सय वर्ष अघिदेखि चारकोसे जंगल फाँडेर खेतीपाती शुरू भएको हो । कृषि वैज्ञानिक डा. रोशनबाबु ओझाले तराईको माटोबारे अध्ययन गर्दा त्यसको अनौठो तथ्य फेला पारे ।

उनका अनुसार, जंगलको माटोमा प्राङ्गारिक पदार्थको मात्रा धेरै हुन्छ । खनजोत गर्न थालेपछि प्राङ्गारिक पदार्थ घटेर जान थाल्यो । तराईको जमीनमा प्राङ्गारिक पदार्थ घट्नुको ऐतिहासिक पृष्ठभूमि र मानिसको जीवनशैलीलाई पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
उनले गरेको माटोको जैविक विविधताको अध्ययनमा जंगलमा पाइने ‘माईकोराईजा’ सूक्ष्मजीव जोखिममा छ । खेतबारीको माटोमा पनि फेला परेको उक्त सूक्ष्मजीवको जैविक विविधता माटोमा प्रयोग हुने रसायनले गर्दा नष्ट हुनसक्ने जोखिममा छ ।
तराईका खेतमा अन्नबालीको बोटको अवशेष फेरि त्यही प्रयोग गर्ने अभ्यास निकै कम छ । ‘प्रायः तराईतिर खेतबारीको अवशेष प्राङ्गारिक मलको रूपमा खेतबारीमा प्रयोग नगर्ने, वस्तुहरूको मल पनि गुइँठा बनाएर बाल्ने चलन छ’ उनी भन्छन्, ‘प्राङ्गारिक पदार्थ बन्ने अन्य स्रोत उपलब्ध नहुँदा जमीनमा प्राङ्गारिक पदार्थको कमी हुँदै गइरहेको हुनसक्छ ।’
नार्कको माटो सम्बन्धी डाटाबेस अनुसार, पछिल्ला वर्षहरूमा नै माटोमा पोटासियमको मात्रा घट्दै गइरहेको छ । बोटबिरुवाको रक्षक समेत मानिने पोटासियमको मात्रा घट्दा बिरुवालाई रोगले सजिलै आक्रमण गर्न सक्छ । बोटबिरुवाहरूको रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । बिरुवा हुर्किन नसक्ने, उत्पादन कम हुन जान्छ ।
केही वर्ष अघिसम्म पोटासियमको मात्रा राम्रै भएको ठाउँमा अहिले न्यूनतम मात्रा भन्दा पनि घट्दो छ । कृषि वैज्ञानिकहरूले दोलखाको काभ्रे, बाराको परवानीपुर, चितवनको रामपुरमा चार/पाँच वर्ष लगाएर यसबारेमा अध्ययन गरेका थिए ।
तीमध्ये कृषि वैज्ञानिक ओझाले गहुँ र धान लगाइएको खेतको माटो परीक्षणका विवरणहरू सघन रूपमा अध्ययन गरेका थिए । उनी भन्छन्, ‘गहुँ र धानबालीमा अध्ययन गर्दा पोटासियमको मात्रा २८० किलो प्रतिहेक्टरभन्दा माथि हुन्थ्यो भने अहिले ५५–१०० को हाराहारीमा नतिजा आइरहेको छ ।’
नार्कको डाटाबेसबाट माटोमा बोरोन, जिंक र मलेक्डेनम जस्ता सूक्ष्म खाद्यतत्वको अभाव हुँदै गएको देखिन्छ । धानखेतीमा जिंकको समस्या छ, गहुँ खेती हुने ठाउँमा बोरोनको मात्रा कम हुँदै गएको छ । खेतबारीमा बाली लगाउँदा बोट हलक्क बढेपछि फल वा दाना नलाग्नुमा यस्तै खाद्यतत्वको अभावको परिणाम रहेको कृषि प्राविधिकहरू बताउँछन् ।
नेपालको खेतीयोग्य माटोको उर्वराशक्ति घट्नुको अर्को कारण भूक्षय पनि हो । बाढीपहिरो जाने, ढिस्को खस्ने अवस्थालाई मात्रै भूक्षयको रूपमा बुझ्न नहुने बताउने कृषिविज्ञहरू झरी–वर्षाका कारण बाढीपहिरो नगएको ठाउँको माटोबाट पनि खाद्यतत्व बगेर जाने र उर्वरापन घट्ने बताउँछन् । उनीहरूका मतमा, पछिल्ला वर्षहरूमा बढ्दो मात्रामा देखिएको अतिवृष्टिले माटोको उर्वरापन घट्न थप बल पुगेको छ ।
कृषि विभागका अनुसार, खेतीयोग्य जमीनको करिब एक चौथाइ भाग (२३.१ प्रतिशत) तराईमा मात्रै छ भने बाँकी चुरे र मध्यपहाडको भिरालो जमीनमा छ, जहाँ वर्षायाममा तीव्र रूपमा माटो बगेर जान्छ । कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा भूक्षयलाई माटोको उर्वराशक्ति घट्नुको एउटा प्रमुख कारण मान्छन् ।
उनका अनुसार, हरेक वर्ष १.६ मिलिमिटर माटो भूक्षयका कारण नोक्सान भइरहेको छ । २० मंसिर २०८१ मा माटो दिवसको अवसरमा बोल्दै उनले भनेका थिए, ‘एक हजार वर्षमा तयार भएको माटो त १५ वर्षमै बगेर जाँदो रहेछ ।’
नेपालको माटो वैज्ञानिक विधिबाट संरक्षण गर्नु जरुरी भयो : कृषिसचिव शर्मा pic.twitter.com/S56Il54lDK
— Onlinekhabar (@Online_khabar) December 5, 2024
झारपात कुहिएर बनेको माटोको प्रांगारिक तत्व बगेर गएपछि रुखो माटो मलिलो बन्न वर्षौं लाग्छ । भूक्षयले सबैभन्दा मलिलो माथिल्लो सतह बगेर गइसकेपछि जमीनमा रुखो माटो मात्रै बाँकी रहन्छ । माटो वैज्ञानिक विष्ट भन्छन्, ‘एउटा तहभन्दा मुनि गएपछि माटोमा सूक्ष्मजीवहरूको क्रियाकलाप नै हुँदैन । जसमा माटोको प्रांगारिक तत्व कम हुन्छ, उर्वराशक्ति कम हुनुको एउटा कारक पक्ष यो पनि हो ।’
‘स्टेपिङ ब्याक फ्रम द प्रिसिपाइस’ शीर्षकमा जर्मनीको पोट्सड्याम इन्स्टिच्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्च लगायतका संस्थाले हालै गरेको अध्ययनले हरेक वर्ष विश्वमा १० लाख वर्ग किलोमिटरका दरले भूक्षय भएको निष्कर्ष निकालेको छ ।
उक्त प्रतिवेदनले धान्नै नसकिने खेती प्रणालीका कारण जमीनको क्षय भएको जनाएको छ । उक्त अध्ययनले दक्षिणएसिया, उत्तरी चीन, अमेरिकाको उच्च मैदान, क्यालिफोर्निया जस्ता सुख्खा क्षेत्रमा भूक्षयको सघन समस्या भएको देखाएको छ । त्यसले गरिबी, बसाइँसराइ र द्वन्द्व बढाउने चिन्ता समेत व्यक्त गरिएको थियो ।
त्यसैगरी संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले प्रकाशन गरेको एक प्रतिवेदनमा, ३३ प्रतिशत माटो ह्रास भइसकेको आंैल्याइएको छ, जसको प्रत्यक्ष प्रभाव कृषि उत्पादकत्व र पर्यावरण सन्तुलनमा परेको छ ।
मेसिनले झन् बिगार्दैछ माटो
पछिल्ला केही वर्षहरूमा तराईका खेतबारीमा जोतेर खेती गर्ने चलन हराउँदै गएको छ । तराईका जिल्लाहरूमा बाटोको पहुँच पुगेको फाँट र टारहरूमा खेतीपातीमा यान्त्रिकीकरण बढ्दो छ । तराईतिर माटो फिट्ने यन्त्र रोटाभेटरको प्रयोग बढ्दो छ ।
कृषि वैज्ञानिक श्रीप्रसाद विष्ट पानी सोस्ने गरी डल्ला परेका खेतहरूमा मैदा जस्तो फिटिएको माटो भेट्छन् । जहाँ टेक्दा उनले खेतमा लगाउने बुटको आधा भाग कमलो माटोमा भासिन्छ । रोटाभेटरले छिटोछिटो माटो फिटेर डल्ला फुटाइदिन्छ, माटो धुलो हुन्छ । किसानहरूले शुरुआती वर्षहरूमा यसको उपयोगलाई गज्जब मान्छन् । लामो समय रोटाभेटर प्रयोग भएको ठाउँमा माटो मैदा जस्तो नरम र धुलो हुन्छ । अनि, खेतीपातीमा समस्या देखिन थाल्छ ।
माटो महाशाखा प्रमुख विष्टका अनुसार, खेतीपाती हुने जमीनको माटो दुई तहको हुन्छ । ४० सेन्टिमिटरदेखि एक मिटरसम्मको भाग एउटा तहको हुन्छ । मेसिन तथा उपकरणहरूको प्रयोगले त्यो भाग नरम र कमलो बनेको हुन्छ । तर त्यसभन्दा तलको तह भने गह्रौं उपकरणहरूको प्रयोगले खाँदिएर कडा बन्छ ।

कृषि प्राविधिकहरूको भाषामा ‘सबसोइल कम्प्याक्सन’ भनिने यस्तो अवस्थाले वर्षा या सिंचाइको पानी माटोको भित्री तहसम्म नपुग्ने, माटोले पानी ग्रहण गर्ने, झरी पर्नासाथ डुवान हुन थाल्छ । त्यसबाट बोटबिरुवाको जरा तल्लो भागसम्म नपुग्ने, बोटबिरुवा हलक्क बढ्न नसक्ने र ढल्ने जस्ता समस्या देखिन थाल्छन् ।
५/१० वर्ष निरन्तर रोटाभेटरको प्रयोगपछि माटोको माथिल्लो भाग नरम हुन्छ भने तल्लो भाग साह्रो भएर बसेको हुन्छ । कडा माटोले पर्याप्त मात्रामा पानी सोस्न सक्दैन । र, पानी नसोस्ने माटोमा लामो समय चिस्यान रहँदैन । माटोमा भएको खाद्यतत्व पानीमा घुलिएर बोटबिरुवाको जराले लिने भएकाले पानी नभएको सुख्खा ठाउँको माटोमा खाद्यतत्व राम्रो भए पनि बोटबिरुवा फस्टाउन सक्दैनन् ।
माटोको कडापनले बालीचक्रमाथि शृङ्खलाबद्ध असर पार्ने बताउँछन्, कृषि वैज्ञानिक विष्ट । कडा माटोले गर्दा जरा फैलन नपाएको बोटबिरुवाले सीमित खाद्यतत्व मात्रै पाउँछ, जसले उसको उत्पादकत्वमा सोझै असर गर्छ ।
माटो कडा भएपछि त्यहाँ रहने साना कीटाणु र जीवाणुलाई समेत बाँच्न कठिन हुन्छ, अनि उनीहरूको संख्या घटेर जान्छ । जीवाणु नभएको ठाउँमा प्रांगारिक पदार्थ कुहिन पाउँदैनन् । झारपात र पतिंगर कुहिन नपाएपछि माटोमा प्राङ्गारिक तत्व घट्न थाल्छ ।
खनजोतबाट खेती गर्दा माटोमा भएका कीटाणुहरूलाई खासै असर हुँदैनथ्यो । ट्याक्टर लगायतका उपकरणहरूको प्रयोगले माटोमा कीटपतङ्गको संख्या घट्दो छ । माटो विज्ञहरूका भनाइमा पातपतिंगर र अरू जैविक फोहोर सडाउन र माटोमा मिलाउन महत्वपूर्ण भूमिका खेल्ने जीवाणुहरू घट्दै गइरहेका छन् ।
माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख विष्टका अनुसार परम्परागत तरिकाबाट माटोको उर्वरता सहजै थाहा पाउन सकिन्छ । अलि गहिरो खाल्डो खनेर हेर्दा त्यहाँ भेटिने गड्यौला र कीराहरूले माटोको उर्वरता संकेत गर्ने उनी बताउँछन् । विष्ट भन्छन्, ‘गड्यौलाहरू भेटिए, माटो राम्रो रहेछ भनेर बुझ्नुपर्यो । माटोमा गड्यौला र कीटाणुहरू छैनन् भने माटोको अवस्था खराब हुँदै गएको संकेत हो ।’
विषादीको असर
कीट विज्ञान महाशाखामा कार्यरत डा. काशीनाथ चिलुवाल कृषिमा भइरहेको विषादीहरूको प्रयोगबारे अध्ययन गर्छन् । भित्रिने विषादीहरूको परिमाण खासै चिन्ताजनक नभए पनि तिनको प्रयोग निश्चित क्षेत्रमा मात्रै भएकाले त्यसले माटोको अवस्था भयावह बनाउने जोखिम रहन्छ ।
कृषि विशेषज्ञहरू गोविन्द भण्डारी, किशोर आत्रेय अनि पल टिजे स्किपर्सको समूहले विषादीको प्रयोगबाट माटोमा परेको प्रभावबारे रूपन्देहीमा शोध अध्ययन गरेको थियो । उनीहरूले पाँच वर्षअघि प्रकाशित गरेको अनुसन्धानमूलक लेखमा कीटनाशक विषादीहरूको अवशेष माटोमा रहेको र त्यसले उर्वरापनमा प्रभाव पारेको उल्लेख छ ।
एकातिर विषादीले कीटाणु मात्रै नभई खेतीपातीका लागि माटोलाई उर्वर बनाउने सूक्ष्म जीवाणुलाई समेत असर गर्छ भने अर्कोतर्फ त्यसको अवशेष कुनै न कुनै रूपमा उत्पादित अन्नबाली र तरकारीमा पुग्ने जोखिम हुन्छ ।
१४७ वटा नमूनामा अध्ययन गर्दा उक्त टोलीले ६० प्रतिशतमा विषादीको अवशेष भेटाएको थियो । उक्त शोध अध्ययनले विषादीको प्रयोगले माटो प्रदूषित हुनुका साथै किसान र उपभोक्ताको स्वास्थ्य जोखिम बढाएको औंल्याएको थियो ।
कुनै ठाउँका केही निश्चित किसानले मनपरी विषादी प्रयोग गर्दा छेउैमा खेती गरिरहेको अर्को किसानले त्यही अनुपातमा प्रयोग नगरेको हुनसक्छ । तर, ठाउँ विशेषमा विषादीको प्रयोगबारे हल्ला फैलिएपछि त्यस भेगका सबै किसानको बदनाम हुने भएकाले कतिपयले विषादीको प्रयोगबारे खुलस्त विवरण दिन चाहँदैनन् ।
विषादीमाथि अध्ययन गरिरहेका कृषि वैज्ञानिक डा. काशीनाथ चिलुवालका भनाइमा, गाउँघरमा बस्तुभाउ पालनमा कमी आउँदा खेतबारीमा प्रयोग हुने प्राङ्गारिक मलको मात्रा कम हुँदै गएको छ । आफूखुसी माटोमा रासायनिक मल हाल्ने र विषादीहरूको प्रयोग गर्ने क्रम बढ्दो छ जसको असर हाम्रो वरपरको पारिस्थितिक प्रणालीमा देखिन थालेको छ ।
प्राङ्गारिक मलले माटोको अम्लीयपन घटाउँथ्यो, त्यसको प्रयोग पनि घट्न थालेपछि अम्लीयपन बढ्दै गएको देखिन्छ । कृषि वैज्ञानिकहरूका अनुसार, माटोमा निरन्तर खेती लगाइरहने, तर त्यसको परीक्षण नगर्दा कतिपय सूक्ष्म खाद्यतत्वको मात्रा घटेको पत्तै हुँदैन । कृषि प्राविधिकहरूले थोरै मात्रामा प्रयोग गर्न सल्लाह दिने बोरोन, पोटासियम जस्ता खाद्यतत्वयुक्त मल प्रयोग नहुँदा बाली नलाग्ने जोखिम रहन्छ ।
युरिया मलका कारण एकाध वर्षमा खासै असर नदेखिए पनि नियमित प्रयोगले माटोमा अम्लीयपन बढाउँछ । लगातार १०/१५ वर्ष युरिया मलको प्रयोग गरेपछि माटो अम्लीय हुन थाल्छ । विष्ट भन्छन्, ‘प्राङ्गारिक मलको साथसाथै युरिया मलको प्रयोग पनि भयो भने त्यसले खासै असर गर्दैन । तर, युरियाको मात्रै प्रयोग भइरह्यो भने माटोमा असर देखिन्छ ।’
युरिया मलको प्रयोगले माटोमा रहेका सूक्ष्मजीवहरूलाई असर गरेको विभिन्न अध्ययनले देखाएको छ । युरिया मलबाट बनिबनाउ खाना पाएपछि उनीहरूले माटोबाट खाना बनाउने जाँगर गर्दैनन् । फलतः माटोलाई उर्बर बनाउन उनीहरूले खेल्ने भूमिकामा कमी आउँछ ।
नेपाली किसानले नियमित प्रयोग गर्ने युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने बाँकी ५४ प्रतिशत भाग माटोलाई अनावश्यक पर्ने कुरा हुन्छ । युरिया मलमा भएका कतिपय तत्व माटोमा गएर सड्छ, कतिपय तत्व भने माटोमा लामो समय रहन्छ ।
युरिया मलको खनिजीकरण हुँदै गएपछि कालान्तरमा माटोको अम्लीयपन बढ्ने समस्या देखिएको छ । मल माटोमै विलाएपछि कालान्तरमा प्रभावहीन हुने प्रक्रियालाई कृषि वैज्ञानिकहरू क्षयीकरण (डिग्रेडेसन) भन्छन् ।
‘लामो समयदेखि युरियाको प्रयोगले माटोमा सूक्ष्म खाद्यतत्वको सन्तुलनलाई पनि बिगार्दै लैजान्छ । सूक्ष्मजीवको पारिस्थितिक प्रणाली खल्बल्याउँछ’ कृषि वैज्ञानिक ओझा भन्छन्, ‘त्यसबाट माटोमा पीएचको मात्रा गडबड हुन्छ । कालान्तरमा माटोमा कडापन ल्याउन भूमिका खेल्छ ।’
उनका भनाइमा, कुनै समय काभ्रेको पाँचखाल तरकारी उत्पादनको उत्कर्षमा थियो भने अहिले घट्दो क्रममा छ । धादिङको धुनिबेसीका किसानहरूले उत्पादकत्व घटेपछि खेतको माटो नै इँटा उद्योगलाई बेचेका छन् । उही खेतबारीमा केही वर्ष वा दशकसम्म किसानहरू रमाए पनि त्यसपछि भने उत्पादकत्व घटेर किसानहरू दिग्दार हुन थालेका छन् ।
राजधानी वरपरका अरू ठाउँ र तराईमा पनि तरकारी बारीमा विषादीको प्रयोग भइरहेको र केही वर्षमै उत्पादकत्वमा असर देखिने अर्का कृषि वैज्ञानिक डा. काशीनाथ चिलुवाल बताउँछन् । उनी भन्छन्, ‘ठाउँविशेषको कुरा गर्दा कतिपय किसानलाई नकारात्मक असर पर्छ । तर ठूलो मात्रामा तरकारी खेती हुने ठाउँमा बढ्दो विषादीको प्रयोग कसैको पनि दीर्घकालीन हितमा छैन ।’
थपियो ‘माटो प्रदूषण’
माटो विशेषज्ञ डा.रोशनबाबु ओझालाई काठमाडौंको प्रदूषण सम्बन्धी शोध अध्ययनमा संलग्न हुने प्रस्ताव आयो । माटोकै विषयमा काम गरिरहेका उनले शुरूमा प्रदूषण बारे अध्ययनमा चासो दिएनन् । तर एक जना शोधार्थीले वायु प्रदूषणले अन्य क्षेत्रका साथै माटोमा पार्ने असरबारे समेत अध्ययन हुने बताएपछि उनले रुचि देखाए ।
वैज्ञानिक एवंं प्राविधिकहरूको टोलीले शिवपुरी, नागार्जुन, स्वयम्भु जंगलमा अनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँको माटोको अध्ययन गर्यो । उनीहरूले मानिसको क्रियाकलाप नै नहुने ठाउँ पनि छानेका थिए । करिब २५० नमूना अध्ययन गर्दा माटोमा सिसा, आर्सेनिक लगायतका हेभी मेटल (गह्रौं धातु) को मात्रा हुनुपर्ने भन्दा निकै बढी भेटियो ।
‘पहिले त्यही माटोमा ती तत्वहरू कति थियो भन्नेबारे हामीसँग कुनै तथ्यांक र विवरण थिएन । त्यसैले बढ्यो वा घट्यो भन्न सक्दैनौं’ उनी भन्छन्, ‘तर वायु प्रदूषणका कारण शहरी क्षेत्र वरपरको माटोमा हेभी मेटलको मात्रा आवश्यकभन्दा निकै बढी देखिएको छ ।’
हेवी मेटलको मात्रा बढी भएको माटोमा काम गर्ने किसानलाई त्यसले प्रत्यक्ष असर गर्छ भने त्यहाँ उत्पादित अन्नबाली पनि अस्वस्थकर हुनसक्छ । सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गरिएका ठाउँ, ग्यारेज वरपर अनि बालाजु औद्योगिक क्षेत्र वरपरको माटो धेरै प्रदूषित भइसकेको ओझा बताउँछन् ।
माटोको सूक्ष्मतत्वहरूको कमीले उर्वराशक्ति घट्नु एउटा पक्ष हो । माटोमा हुनुपर्ने कतिपय तत्वहरूको मात्रा बढ्यो भने माटो प्रदूषित हुन पुग्छ । माटोको अत्यधिक दोहन र रसायनहरूको मनमौजी प्रयोग, वातावरणीय प्रदूषण आदि कारणले माटोको प्रदूषण बढ्दै गइरहेको देखिन्छ ।
काठमाडौंमा वायु प्रदूषण बढ्दो छ । जाडोयाममा काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको माथिल्लो श्रेणीमा पुग्छ । पेट्रोलियम पदार्थको प्रयोगसँग वायुमण्डलमा धुलो, धुवाँ र गह्रौं धातुको मात्रा बढ्दो छ ।
फरक/फरक क्षेत्रका विशेषज्ञहरूको टोलीले गरेको शोध अध्ययनले काठमाडौं उपत्यका वरपरका जंगलमा सिसा (लिड), पारो (मर्करी), लगायतका गह्रांै धातुको मात्रा देखिएको छ । धुवाँसँग मिसिएर हावामा फैलने ती धातुहरू कुनै न कुनै रूपमा माटोमा पुग्ने र त्यहीं रहने गरेको भेटिएको छ । शिवपुरी र नागार्जुनको जंगलमा यस्ता गह्रौं धातुको मात्रा बढी भेटिएको छ ।
कृषि वैज्ञानिक सहित वातावरण विज्ञानको क्षेत्रमा काम गरेका शोधार्थीहरूले अध्ययन गर्दा मानिसहरू कहिल्यै नजाने र मानवीय क्रियाकलाप नहुने शिवपुरी, नागार्जुनका जंगलभित्रको माटो परीक्षण गर्दा क्याड्मियम, मर्करी (पारो) लगायतका गह्रौं धातुको मात्रा अत्यधिक देखियो ।
माटोमा आर्सेनिकको मात्रा पनि बढ्दो क्रममा छ । कतिपय ठाउँमा बोट हलक्कै बढ्ने तर फल वा बाला नलाग्ने गरी नाइट्रोजनको मात्रा बढी देखिएको छ । ‘कतिपय ठाउँहरूमा गह्रौं धातुको समस्या बढ्दै गएको छ । यसले सीधै मानव स्वास्थ्यमा असर हुन्छ’ यसबारेको अध्ययनमा संलग्न कृषि वैज्ञानिक ओझा भन्छन्, ‘लिड, आर्सेनिक र क्याड्मियम ले मानव शरीरमा क्यान्सरको जोखिम बढाउँछ ।’
कृषि वैज्ञानिकहरूका अनुसार, माटोको स्वास्थ्यको दृष्टिकोणले मात्रै हेर्दा विषादीको प्रयोग कुनै पनि हालतमा उपयुक्त र उचित होइन । तर कीटपतङ्गका कारण हुने आर्थिक नोक्सानीबाट जोगिन किसानहरूले विषादी प्रयोग गर्छन् । धर्तीले निश्चित मात्राको विषादी सहन सक्छ र त्यसको असरलाई निर्मलीकरण गर्छ । तर, क्षमताभन्दा बढी प्रयोग भएमा भने माटो प्रदूषित हुन्छ ।
ठूला शहर वरपर र तराईका केही भागमा माटो प्रदूषित हुने अवस्थामा पुगेको छ । अव्यवस्थित शहरीकरण र रसायनयुक्त फोहोरको सुरक्षित व्यवस्थापन हुन नसक्दा हावा र पानीको प्रदूषण बढिरहेको छ । काठमाडौं वरपरका जमीनमा हेभी मेटलको मात्रा देखिन थालेको छ । व्यावसायिक तरकारी खेती बढी हुने जिल्लाहरूमा विषादीहरूको प्रयोगले माटो बिग्रँदो छ । त्यसले कालान्तरमा माटोलाई दूषित गराउने तत्वको मात्रा बढी देखिन थालेको छ ।
नेपालमा औद्योगिक फोहोरको व्यवस्थापनमा नियमनको अभाव छ । संवेदनशील रासायनिक पदार्थ बनाउने कतिपय उद्योगहरूले सानो मात्रामा भए पनि फोहोर व्यवस्थापनमा लापरवाही गर्दा माटो र खानेपानीको स्रोतमा असर पुगेको हुनसक्ने अर्का कृषि वैज्ञानिक डा. श्रीप्रसाद विष्ट बताउँछन् । उनी थप्छन्, ‘त्यस्तो पानीले सिंचाइ गरिने माटो प्रदूषित हुनु स्वाभाविक नै हो ।’
‘माटोको दोहन’
अमेरिकी लेखक जारेड डाइमण्डको २५ वर्षअघि प्रकाशित ‘गन्स, जम्स एण्ड स्टिल’ पुस्तकका अनुसार, मानिसले प्रकृतिमाथि शुरू गरेको पहिलो हस्तक्षेप नै कृषिप्रणाली हो, जुन माटोमा आधारित थियो । फिरन्ते मानिसहरू खेतीपातीमा लागेपछि शुरू भएको खाद्यान्नको सञ्चय र भण्डारणले नै मानिसहरूले नयाँ–नयाँ आविष्कार र विकासमा लाग्न सम्भव भएको हो । सीमित मानिस खेतीमा लाग्दा पनि धेरै उब्जनी हुन थालेपछि खेती नगरी पनि ठूलो जनसंख्या अन्य काममा लाग्न पाएपछि राज्यहरू बन्न थालेका जसका लागि सेना, सरकार, कर्मचारीतन्त्र आवश्यक पर्ने पुस्तकमा उल्लेख छ ।
‘सोइल्स अफ नेपाल’ पुस्तकका अनुसार, एक शताब्दी अघिदेखि नेपालमा कृषि विकासका लागि सरकारी अड्डा र अनुसन्धान गर्ने निकायहरू खोलिए पनि सन् १९५० मा मात्रै माटो अध्ययनका लागि छुट्टै संरचना बनाइयो । केही वर्ष अघिसम्म सीमित ठाउँमा मात्रै माटोको परीक्षण हुन्थ्यो । अहिले देशभर सबैजसो स्थानीय तह, तिनका वडाहरूबाट माटोको नमूना ल्याउने र परीक्षणको काम हुन्छ ।
हाम्रो रोजीरोटीसँग जोडिएको माटोको उर्वराशक्ति ठ्याक्कै कहिलेदेखि घट्न थालेको हो भन्नेमा कृषि वैज्ञानिकहरू स्पष्ट छैनन् । कतिपयको मतमा केही वर्षयता विस्तृत रूपमा परीक्षण हुन थालेकाले माटोको उर्वराशक्ति घटेको थाहा भएको हो । पहिलेदेखि माटोको अवस्था खस्किरहेको र त्यो अहिले परीक्षणका क्रममा प्रकट भएको उनीहरू बताउँछन् ।
कृषि वैज्ञानिकहरूको एउटा समूहले करिब ३० वर्षदेखिको उत्पादकत्वमाथि अध्ययन गरिरहेको छ । उनीहरूले उत्पादन र त्यसलाई प्रभाव पार्ने पक्षहरूको सम्बन्धबारे नयाँ तथ्य खोजिरहेका छन् । कृषि उत्पादकत्वको तथ्यांक, उत्पादन घट्दै गइरहेकाले चिन्तित किसानहरूको अनुभव सबै केलाउँदा यसबारेमा अलि स्पष्ट नतिजा आउनेमा अध्ययन टोलीमा रहेका डा. ओझा आशावादी छन् ।
खाद्यान्न वा तरकारी उत्पादनमा ह्रास आउँदा त्यसमा माटोको गुणस्तरको हिस्सा कति हो भनेर आकलन गर्नु निकै नै कठिन काम हुने वैज्ञानिकहरू बताउँछन् । तर मानिसहरूलाई उही जमीनबाट बढी खाद्यान्न आवश्यक पर्यो । त्यसका लागि हिजोको तुलनामा उसले माटोलाई बढी चलाउन थालेको तथ्यमा दुईमत छैन ।
ग्राफिक्स:अरुण देवकोटा/अनलाइनखबर
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
प्रतिक्रिया 4