
ललितपुर घुसेलको बावियोगाउँ हाम्रो थात–ठेगाना हो । यो गाउँ काठमाडौं, ललितपुर र मकवानपुरको सिमानामा पर्छ । हामीले २०५६ सालमा पुर्ख्यौली थलोभन्दा केही तल जग्गा किनेर खेतीपाती गर्न थालेका हौं ।
पश्चिम फर्केको टार, पानी लाग्ने र असाध्यै राम्रो धान खेती हुने फाँटले हामीलाई लोभ्याएकाले केही माथिको बस्तीबाट तल झरेका हौं । हामीसँग १५ रोपनी जग्गा छ, त्यसमध्ये १३ रोपनीमा खेती हुन्छ, बाँकी २ रोपनी जति भीरपाखो छ । यही ठाउँमा हामीले २० वर्षभन्दा बढी समय धान खेती गर्यौं ।
१०/१२ वर्षदेखि तरकारी खेती गरिरहेका छौं । २/३ वर्षदेखि धान रोप्न छाडेर हामी तरकारी खेती गरिरहेका छौं । एक त, ज्यामी महँगो हुन थाले, अर्कोतर्फ सिंचाइका लागि पानी पाउन कठिनाइ हुँदै गएपछि अन्नबालीमा टिकिरहन गाह्रो भयो । उन्नत बीउ र मिहिनेतले अन्न उत्पादन घटेको थिएन, तर त्यसको तुलनामा खर्च बढेकाले अन्नबालीको खेतीबाट हामीलाई टिक्न कठिन भयो ।
यो भेगमा सबैभन्दा कम रासायनिक मल प्रयोग गर्ने हाम्रो परिवार मात्रै हो । १३ रोपनी जग्गामा हामीले २५ किलो मल (रासायनिक) मात्रै प्रयोग गरिरहेका छौं । हामीलाई अरूको तुलनामा आफ्नो खेतबारीबाट कम उत्पादन भए जस्तो लाग्दैन । छिमेकीहरू उत्पादन घटेको गुनासो गरिरहन्छन्, हाम्रो त्यस्तो छैन ।
हामीले तीन वर्षदेखि खनजोत नगरी बाँझो जग्गामा काउली रोपिरहेका छौं, यो नौलो प्रयोग पनि हो । यो प्रयास देखेर कतिपयले ‘यिनीहरूले दुःख मात्रै गरे, यसरी केही हुने होइन’ भनेर हामीलाई सतर्क पनि गराए । तर, राम्ररी काउली फलिरहेको छ, उनीहरूको भन्दा यहाँको खेतमा उत्पादन बढी नै छ ।
यसरी खेती गर्दा एक त खेतबारी खनजोत गर्नुपरेन, ज्यामीको ज्याला र आफ्नो समय र मिहिनेत जोगिने भएकाले अरू काममा लाग्न पाइने भयो । अर्कोतर्फ, यसरी खेती गर्दा माटो बिग्रिंदैन । त्यसमा वरपरको झार उखेलेर फालिदिए पुग्छ, अरू मिहिनेत गर्नुपर्दैन । खेतीमा प्रयोग हुने मल, पानीको प्रयोग किफायती हुँदोरहेछ ।
तीन वटा भैंसी र १० वटा जति बाख्रा पालेर हामीले प्राङ्गारिक मल नै खेतबारीमा प्रयोग गरिरहेका छौं । तरकारीका लागि आवश्यक पर्ने प्रांगारिक उपचारका लागि तालिम लिएका छौं । हामी आफंै सूक्ष्म जीवाणु उत्पादन गर्छु र खेतबारीमा हाल्छौं, तिनले माटो मलिलो बनाउन मद्दत गर्छन् ।
हामीले टनेलमा टमाटर र अरू तरकारी उत्पादन गर्छौं । तर रासायनिक मल र विषादी हाल्दैनौं । प्राङ्गारिक तरकारी भएकाले अरूको तुलनामा किलोमा ५/१० रुपैयाँ बढीमै बिक्री हुन्छ ।
पहिले ग्राहक घरमा आएर तरकारी किन्थे, उनीहरूमा भर पर्नुपर्ने अनि चाहेको बेलामा तरकारी बजार पुर्याउन कठिनाइ हुने भएपछि कृषि विकास बैंकबाट ऋण लिएर छोराले गाडी किनेको छ । यहाँ उत्पादन गरेको तरकारी छोराले आफ्नै गाडीमा हालेर बजार पु¥याउँछ ।
२०८१ असोजमा आएको बाढीपहिरोले हाम्रो घर भत्काइदियो । अहिले हामी त्रिपालमा बसिरहेका छौं । तलपट्टि टहरोमा भान्सा बनाएर काम चलाएका छौं । त्यतिबेलाको बाढी र पहिरोले कुलो पनि ठाउँठाउँमा भत्काएको छ, अब चाहेर पनि धानखेती गर्न सम्भव छैन । तरकारीका लागि भने पाइपबाट ल्याएको पानीले सिंचाइ गरिरहेका छौं ।
हामीले खेतबारीमा रासायनिक विषादी पनि प्रयोग गरेका छैनौं । आलुखेतीमा देखिने रातो कीरा हटाउन कहिलेकाहीं विषादी प्रयोग हुन्छ । तरकारी खेतीलाई असर गर्ने कीराहरू हटाउन र बारीमा हाल्न आफैंले झोलमल बनाउँछौं ।
केतकी, तितेपाती लगायतका विभिन्न झारपातमा निश्चित अनुपात मिलाएर सख्खर हालेर ३ महिना एउटा भाँडामा राखेपछि झोलमल तयार हुन्छ । त्यो झोलमल पानीमा मिसाएर तरकारीमा छर्ने गरिन्छ । त्यसले तरकारी र अन्नबालीमा आउने कीरा भगाउँछ अनि मलको काम पनि गर्छ ।
रासायनिक मलको जथाभावी प्रयोग नगर्ने, विषादी नछुने हो भने हाम्रो खेतबारी जोगाउन सकिन्छ । हामीले बेलाबेलामा माटोको परीक्षण गरिरहेका छौं, प्राविधिकहरूले माटोमा समस्या छैन भन्ने गर्छन् । रासायनिक मल प्रयोग गरेर २/४ किलो बढी उत्पादन होला, तर माटो बिग्रेला भन्ने चिन्ता लाग्छ ।
अन्नबाली खेतीबाट भन्दा अहिले हामीले चौगुणा फाइदा कमाएका छौं । धान, गहुँ भित्र्याउन ६ महिना कुर्नुपर्छ, तर तरकारी ६ महिनामा दुई पटक उब्जाउ हुन्छ, तुरुन्तै नगद पनि प्राप्त हुन्छ । यसरी परसम्मको सोच्नु राम्रो हो । त्यसैले हामीले अर्गानिक खेतीलाई नै अगाडि बढाउँछौं । किनकि यसबाट अन्नबालीबाट भन्दा बढी आम्दानी मिलेकै छ ।
(काठमाडौं र मकवानपुरको सिमानामा पर्ने ललितपुरको घुसेल गाउँमा प्राङ्गारिक र खनजोत विनै बाँझो जमीनमा खेती गरिरहेका तिमिल्सिना दम्पतीसँगको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4