
३ पुस, काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ ।
काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।
सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ ।
फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ ।
यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरुलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।
प्रविधि क्षेत्रको विशेष उत्सवको रूपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनल लगायत स्वदेश तथा विदेशबाट करिब १ हजार विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ। नवौं संस्करणको आइसिटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र ३ जना विदेशी विज्ञ जुरी समिती र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो ।
यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुल्ला गरिएको अनलाइन नोमिनेसनमा ८०० बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ। अवार्ड वितरण हुने विधाहरुमा क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन्।
व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन्। संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । क्याटोगोरी डी अन्तर्गत साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड रहेको छ।
यस बाहेक क्याटोगोरी ए अन्तर्गत विधाका सेमिफाइनलिष्टहरू मध्येबाट सबैभन्दा बढी पब्लिक भोट ल्याउने स्टार्टअप, इन्नोभेसन वा प्रडक्टलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ।
ग्राण्ड फिनाले सातै प्रदेशमा स्टार्टअप मिटअप, बुटक्याम्प, मेन्टरिङ सेसन, काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, ग्राण्ड जुरी सेसन, स्पीड डेटिङ, टेलिभिजन कार्यक्रम, पब्लिक भोटिङ र फिल्ड भिजिटजस्ता प्रक्रियाहरु सञ्चालन गरिएको थियो । अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए।
आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ ।
हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ ।
अवार्ड विजेताले विभिन्न कम्पनीका अफरहरूसँगै ट्रफी र सम्मान प्राप्त गर्नेछन् भने एनसेल वुमन आइकन विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिने छ ।
प्रतिक्रिया 4