माटो हाम्रो संस्कृतिसँग जोडिएको छ, नैतिक पक्षसँग पनि उसैगरी गाँसिएको छ । हामी माटोलाई आमाको रूपमा हेर्छौं । यसले जीवन दिन्छ । हुर्काउँछ, बचाउँछ । हाम्रो स्याहार गर्छ । यो हिसाबले माटो मानिसको मात्रै नभएर समग्र प्राणी जगतका लागि आधार हो र यसले आफ्नो दायित्व सदैव पूरा गर्दै आएको छ ।
सांस्कृतिक र नैतिक दायित्वको पक्षबाट हेर्दा माटोले जसरी प्राणीका लागि आफ्नो दायित्व निर्वाह गरेको छ । मानिसले पनि माटोका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । आमाबुवाले जसरी हामीलाई हुर्काइ पढाइ बढाउनुभयो, उहाँहरू बुढो हुँदा हामीले जसरी सहयोग गर्छौं, माटोले पनि हामीलाई आश्रय दिनेदेखि जीवन दिने काम गरेकाले हाम्रो पनि उसका प्रति जिम्मेवारी छ ।
सम्भव भएसम्म उसको स्वास्थ्य सुधारका लागि काम गर्ने, सकिंदैन भने कम्तीमा बिग्रन नदिने जिम्मेवारी हामी सबैको हो । यो पृथ्वीमा हामी सबै जना चालकको रूपमा आएका छौं । त्यसैले यसमा केही दुर्घटना भयो भने त्यसको जिम्मेवार हामी सबै हुन्छौं ।
प्रत्येक व्यक्तिको दायित्व हुन्छ । सुधार गर्न सकिंदैन भने बिगार्न चाहिं नबिगारोस् भन्ने हुन्छ । किसान मात्रै होइन नीतिनिर्माता, अनुसन्धानकर्तादेखि अध्यापकसम्म सबैको दायित्व छ, किनकि कुनै न कुनै रूपमा हामी सबै माटोमा जोडिएका छौं ।
माटोको स्वास्थ्य राम्रो बनाइराख्न तथा खण्डीकरण हुनबाट जोगाउन हामी सबैले आफ्नो तर्फबाट प्रयास गर्न सक्छौं । पहिलो कुरा माटोलाई दूषित बनाउनुभएन, फोहोर व्यवस्थापन राम्रोसँग गर्ने हो भने फाल्ने चिजहरू नै माटोको उर्बरा बढाउने मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
यस्तै अर्को महत्वपूर्ण कुरा माटोको क्षय हुन दिनुभएन । उदाहरणको लागि बाटो बनाउने भनेर पहिरो जाने गरी बनाउन भएन । किसानले पनि माटो बग्न दिनुभएन । अहिले झन् हामी बदलिएको मौसमी परिवेशमा छौं र चुनौती बाढीपहिरो सहितका घटनाका रूपमा थपिंदै जाँदैछन् । त्यसले क्षय रोक्नका लागि नीतिगत तहदेखि स्थानीय बासिन्दासम्मले ख्याल गर्नुपर्ने हुन्छ ।
हाम्रो जस्तै माटोको पनि आयु हुन्छ र कति कायम राख्ने भन्ने हाम्रो हातमा छ । हामीले गर्ने स्याहार र व्यवहारमा भर पर्छ । माटोको औसत आयु १० हजार वर्ष मानिन्छ । तर १० प्रतिशत माटोले मात्रै आफ्नो औसत आयु बाँच्न पाएको भन्ने अध्ययनहरूले देखाएका छन् । हामी सबैको आधार माटोको आयु यसरी कम हुनु भनेको हाम्रो आयु कम हुनु हो ।
यो हाम्रो स्वास्थ्यसँग पनि जोडिएको छ । माटो जति बिग्रिंदै जान्छ, किसान र सिङ्गो समाज नै समृद्ध हुन सक्दैन । राम्रो माटो भए खाना राम्रो हुन्छ । राम्रो खानाले विचारको स्वस्थता आउँछ र त्यसले सामाजिक समृद्धिमा सहयोग गर्छ । त्यसैले माटो फगत माटो मात्रै होइन, स्वस्थ माटो समृद्धिको सूचक पनि हो ।
अर्को महत्वपूर्ण कुरा हामी यहाँ सदाका लागि छैनौं । हामी बाँचिरहेको धर्ती हाम्रो पेवा होइन । हामी त यसको रेखदेख गर्ने जिम्मामा छौं । हामीले यही जमिन अर्को पुस्तालाई हस्तान्तरण गर्नुछ । सके सुधार गरेर नभए अहिलेकै अवस्थामा हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी हामीमाथि छ ।
तथापि, यस अनुसार राज्यको चासो माटोमा परेको छैन । केन्द्रमा हामीले सीमित स्रोतसाधनकै भरमा पनि सक्ने जति काम गरिरहेका छौं । तर, यहाँ रहेका ९ जना वैज्ञानिक सहितको टोलीले देशभरको माटोको अनुगमन तथा अनुसन्धान गर्न सम्भव छैन ।
सीमित स्रोतकै बीच हामीले माटोको अवस्था सम्बन्धी डिजिटल नक्सा बनाएका छौं, अहिले त्यसलाई अद्यावधिक गर्ने काम हुँदैछ । देशभरका १३ हजार माटोको नमूनाका आधारमा सो नक्सालाई अद्यावधिक गर्ने प्रयासमा छौं ।
यो आर्थिक वर्षका लागि हामीले माटोको अनुसन्धानका लागि पाएको भनेको करिब ८ लाख रुपैयाँ हो । त्यसले आफैं आकलन गर्न सकिन्छ कति काम होला भनेर, तर पनि सकेसम्म हाम्रो जनशक्तिले भ्याएसम्म गरिरहेका छौं । देशको माटोलाई पर्याप्त मात्रामा अध्ययन गर्ने र सो अनुसारको तथ्यांक तयार गर्ने हो भने यो बजेटले पुग्दैन । काम हुँदैन ।
राज्य खासै माटोतर्फ सचेत देखिंदैन, नत्र यस्तो अवस्था हुने थिएन । यदि साँच्चै नै चाहने हो भने जनशक्ति र बजेट बढाएर देशभरको माटोको नियमित अनुगमन गरी त्यसको स्वास्थ्य अवस्था बारेको जानकारी उपलब्ध गराउन सकिन्छ ।
(राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. बिष्टसँग पत्रकार टंक ढकालले गरेको कुराकानीमा आधरित ।)
प्रतिक्रिया 4