 
																			२ फागुन, विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले वार्षिक तीन लाख रुपैयाँ मागेकोमा त्यो नदिएकाले आफूहरूलाई अप्ठ्यारेमा पारेको आरोप लगाएका छन् ।
अध्यक्षले रौनियारले अदालतमा बयान दिने क्रममा नियामक निकायका प्रमुखले पैसा मागेको आरोप लगाएका हुन् । उमागौरी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला जोडिएको सहकारी संस्था हो ।
अध्यक्ष रौनियार लामो समय फरार भई अदालत हाजिर भएका थिए । १४ माघमा अदालतमा उपस्थित भएका रौनियार २० माघमा पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
त्यसअघि संस्थाका सञ्चालक समिति सदस्य रोशन राजवंशी रकम अपचलनमा अध्यक्ष रौनियार जिम्मेवार भएको बयान दिएका थिए । राजवंशीलाई पनि गत २८ मंसिरको थुनछेक बहसपछि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सामान्य अवस्थामा सञ्चालन भइरहेको सहकारीमा रजिस्ट्रार खत्रीले तीन लाख रुपैयाँ माग गरेको उनको आरोप छ । त्यो रकम नदिएपछि ‘केही भइजाला’ भन्दै धम्की दिएको रौनियारले अदालतमा बयान दिएका छन् ।
‘प्रदेश विभाजन भएपछि विभिन्न सेवा केन्द्रको जानकारी र त्यसका प्रतिवेदन रजिस्ट्रार कार्यालयलाई नियमित बुझाउँदै आइरहेको अवस्था थियो । रजिस्ट्रार कार्यालय स्थापना भएपछि हामीले हाम्रो कार्याालयबाट नियमित रूपले संस्था अनुगमन गरी पाउँ भन्दाभन्दै रजिस्ट्रार कार्यालयले संस्था अनुगमन नगरेको पाइन्छ,’ बयानका क्रममा सोधिएको ८ नम्बरको प्रश्नको जवाफ दिने क्रममा उनले भनेका छन्, ‘त्यस पश्चात हरिबहादुर खत्रीले प्रदेश सहकारी रजिस्ट्रारको जिम्मेवारी पाएपछि विभिन्न सहकारी संस्थाहरूको लेखापरीक्षण गर्ने, सहकारीहरूसँग महँगो शुल्क लिई लेखापरीक्षण भागिरथ खनाल तथा एसोसियट्सलगायत अन्यसँग गराएको पाइन्छ । सोही सन्दर्भमा हाम्रो अफिसको कार्यालयमा फोन गरी हरिबहादुर खत्रीले लेखापरीक्षण हामीबाटै गर्नुपर्छ, संस्था राम्रोसँग सञ्चालन गर्ने वातावरण बनाइदिन्छौँ भनी तीन लाख रुपैयाँ वार्षिक माग गरेका थिए ।’
सर्त नमानेपछि आफूलाई धम्कीपूर्ण भाषाको म्यासेज आएको रौनियारले बयान दिएका छन् ।
‘सो सर्त नमानेपछि भनेको मान्ने कि नमान्ने, नमानेको खण्डमा केही ‘भइजाला’, यसको जवाफदेहिता तपाईंले लिनुपर्छ भनी मेरो मोबाइल नम्बर ९८….मा धम्कीपूर्ण भाषा प्रयोग गरी म्यासेज पठाएपछि सोको उजुरी मिति २०८१/७/६ गते संस्थाका ९ जना सञ्चालक सहितले प्रधानमन्त्री कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण विभागमा निवेदन दर्ता गरेका थियौं,’ उनले भनेका छन् ।
त्यसपछि आफ्नो परिवारमा अंशबन्डा भइसकेको सम्पत्ति हरिबहादुर खत्रीले रोक्का गर्न लगाएको उनले बयान दिएका छन् ।
खत्रीले लेखापरीक्षणको काम पनि गर्ने गरेको यस क्षेत्रका लेखापरीक्षकहरूले पुष्टि गरे । प्रदेश सहकारी रजिस्ट्रारको जिम्मेवारी पाउनुअघि खत्रीले विभिन्न सहकारी संस्थाको अडिट गर्ने गरेको उनीहरूले बताए ।
‘सहकारी डुब्न थालेपछि उहाँले अडिट गरेको जानकारी छैन, त्यसअघि उहाँले आफूले लेखापरीक्षण गर्नुहुन्थ्यो, अरूको नाममा हस्ताक्षर गराउनुहुन्थ्यो,’ उनी निकट एक लेखापरीक्षकले भने ।
आरोप निराधार हो : खत्री
प्रदेश सहकारी रजिस्ट्रार खत्रीले भने रौनियारले आफूमाथि लगाएको आरोप निराधार भएको बताए । तर, उनले रौनियारलाई ‘केही भइजाला’ भन्ने म्यासेज गरेको चाहिँ स्वीकार गरे ।
सहकारीमा समस्या देखिएपछि छलफलका लागि बोलाउँदा नआएपछि म्यासेज गरेको उनले बताए ।
उमागौरीको समस्या समाधानका लागि रजिस्ट्रार कार्यालयमा चार पटक छलफल गरेको तथा अनुगमनमा जाँदा पनि सहकारीको कागजात नभेटिएको उनले बताए ।
‘बाहिर हुन्जेल मान्छेलाई ढाँटिरहे, चेक बाउन्स केसमा थुनामा परेपछि सहकारीको केस यहाँ (सहकारी रजिस्ट्रारमा) आयो, तीन पटक यहाँ छलफल गरियो, सिडियो कार्यालयमा पत्र पठाइयो,’ उनले भने, ‘सम्पर्क गर्दा फोन नउठाएपछि सदस्यलाई दिनुपर्ने पैसा कहिलेसम्म दिनुहुन्छ, दिनसक्नु हुन्न भने फरक तरिकाले हुन्छ भन्ने कुरा एसएमएस पठाएको थिएँ, त्यसलाई भजाएर मसँग पैसा माग्यो भन्दै इस्यू बनाए ।’
कति छ बिगो दाबी ?
मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा कार्यालय रहेको उमागौरी कृषि सहकारी संस्थाका सञ्चालक र ऋणीसहित २६ जनाविरुद्ध गत २७ माघमा जिल्ला अदालत मोरङमा सहकारी ऐनअन्तर्गतको कसुर अन्तर्गत दर्ता भएको थियो ।
धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष राजवंशीलाई २८ मंसिरमा अदालतले थुनामा पठाउन आदेश दिएको थियो । २१ माघमा अध्यक्ष रौनियारलाई थुनछेक बहसपछि अदालतले आइतबार थुनामा राख्न आदेश दिएको थियो ।
सहकारी ठगी प्रकरणका प्रतिवादी रंगेली नगरपालिका–२ का वर्तमान वडाध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास अदालतले मागेको धरौटीबापतको ५ लाख बुझाएर छुटेका छन् ।
गत २४ पुसमा अदालतमा हाजिर भएकी पूर्वसञ्चालक अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर छुटिन् ।
उमागौरी सहकारी प्रकरणको अनुसन्धान गरी प्रहरीले प्रतिवादी २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको थियो । सरकारी वकिलको कार्यालयले सोही दाबीसहित मुद्दा दायर गरेको थियो ।
मुद्दामा शम्भुप्रसाद रौनियार, रोशन राजवंशी, लक्ष्मण साह रौनियार, आलम अन्सारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जीतमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशीलाई प्रतिवादी बनाइएको छ ।
सरकारी वकिलको कार्यालयले सबैलाई उत्तिकै कसुरदार मानेर दायर गरेको अभियोगपत्रमा ‘सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ ) र (५) बमोजिम २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो कायम गरी संस्थामार्फत नै पीडित जाहेरवालाहरूलाई बिगो भराई सो बाहेकको दायित्व समेतको बाँकी रकम संस्थालाई दिलाइ भराई प्रतिवादीहरूलाई बिगो बमोजिम जरिबाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय गरी पाउँ’ भनेर मागदाबी गरिएको छ ।
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4