+
+
Shares

एबीपी इनर्जी र सिद्धार्थ बैंकबीच ८ मेगावाट तादी घ्याङफेदीमा कर्जा लगानी सम्झौता

वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले वर्षको २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १३:०९

६ चैत, काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गर्न कर्जा लगानी सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आयोजनाको कूल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ छ । कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्न सिद्धार्थ बैंकसँग सम्झौता भएको कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपूँजीबाट व्यवस्थापन गरिने छ ।

यो परियोजना अनुभवी प्रवद्र्धकहरूको समूहले विकास गरिरहेको छ । कम्पनी सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रबाट असगर अली लगायत छन् ।

श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आबद्ध छन् । त्यस्तै खतिवडा पनि एबीपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमि हाइड्रोपवार, बराह मल्टिपावर, एटलस इनर्जी लगायत कम्पनीमा अध्यक्ष तथा निर्देशक छन् । अली भने प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत् आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति ३१ वैशाख २०८४ तय गरिएको छ ।

आयोजना सञ्चालनमा आइसकेपछि हाइड्रो टुरिज्मबाट समेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिइएको इप्पान महासचिव तथा आयोजना निर्देशक खतिवडाले बताए ।

गोसाइँकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने खतिवडाको भनाइ छ ।

यस आयोजनाका लागि ३१ असार २०७८ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । २७ भदौ २०७८ मा विद्युत् खरिद–बिक्री सम्झौता भएको थियो ।

३ हजार ९ सय मिटर पाइपलाइन रहेको आयोजनाको ४ सय ४६ मिटर हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्युसेक छ । वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले वर्षको २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण छ । आयोजनाबाट सुक्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?