
गत हप्ता म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर पुगेको थिएँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले त्रिवि परिसर चकमन्न थियो । त्रिवि उपकुलपतिको राजीनामा, कुलमान घिसिङको बहिर्गमन र भर्खरै मात्र राजवादीहरूले तीनकुनेमा गरेको विध्वंशको विषयमा चर्का-चर्का बहसहरू भइरहेका थिए क्याम्पसमा । र, त्यसमा थपिएको थियो भर्खरै सम्पन्न स्ववियु निर्वाचनको परिणाम ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा गर्न बाध्य बनाएका थिए भने कुलमानलाई पनि उनैको मन्त्रिपरिषद् निर्णयबाट बर्खास्त गरिएको थियो । विचार निर्माणको थलो रहेको त्रिविमा हुने बहसहरूले समकालीन समयका प्रमुख विषयहरूमा विविध कोणबाट विमर्श गर्ने हुँदा म बेला-बेला त्यहाँ पुग्ने गर्छु ।
यस पटक त्यहाँ पुग्दा विश्वविद्यालय घडी भवन अगाडिको चियापसलमा भएका चर्चाहरूमा दुई व्यक्तिसँगको कुराकानीले मलाई तरंगित बनायो । तीमध्ये एक जना राजनीतिशास्त्र विभागका प्राध्यापक थिए भने अर्का थिए भौतिकशास्त्र तेस्रो सेमेष्टरका विद्यार्थी ।
प्राध्यापकको प्रश्न थियो- विश्वविद्यालयमा अध्यापन हुने राजनीतिशास्त्रका सिद्धान्त र नेपालमा अभ्यास हुने राजनीति किन मिल्दैन ? कम्युनिष्टहरू कम्युनिष्ट जस्ता देखिंदैनन्, प्रजातन्त्रवादीहरू प्रजातन्त्रवादी जस्ता देखिंदैनन् । राजनीतिक दल आफैंले वकालत गर्ने सिद्धान्त र गर्ने व्यवहारमा अन्तर कसरी पर्यो ?
२२-२३ वर्ष हाराहारीका देखिने ती विद्यार्थीको प्रश्न भने अलिक भिन्न थियो । उनले भने-मेरा लागि माओवादी, राजावादी र कांग्रेस-एमालेमा कुनै भिन्नता छैन । यो देशमा हिजो राजावादीहरूले रगजग गर्थे आज कांग्रेस-कम्युनिष्टहरूले रजगज गर्छन् । हाम्रा लागि कसले सोच्छ ? त्यसैले सर म त आफ्नो पढाइ सकेर विदेश जाने सोचमा छु । विश्वविद्यालयमा विभिन्न साथीभाइसँग कुराकानी गरेर साँझमा म घर फर्किएँ ।
घर फर्केपछि धेरै बेरसम्म ती दुई सवालकै वरपर सोची बसें । सामान्य जस्ता लाग्ने यी दुई सवालले मलाई धेरै घचघच्यायो । आखिर हामीले ल्याएको गणतन्त्रले उनीहरूलाई किन छोएन ? रुयार्ड किल्लिङले लेखेको एउटा कथा छ– ‘द मेन हु उड वी किङ’ कथाको मूल पात्र हुन्- डेनियल ड्रावोट र पिची कार्नेहान ।
कथाको शुरुआत हुन्छ– तत्कालीन ब्रिटिश इन्डिया अर्थात् आजको भारतबाट । कथा १९औं शताब्दी अन्त्यतिरको हो । कथावाचक हुन् एक जना पत्रकार ।
पिची कार्नेहानले आफ्नो र डेनियल ड्रावोटको कथा पत्रकारलाई भनिरहेका हुन्छन् । त्यही भन्ने क्रममा कथा अघि बढ्दै र उनीहरूको जीवन दर्शन उद्घाटित हुँदै जान्छ ।
आफूलाई राजा ठान्ने मनोदशा र राजा भएरै छाड्ने चाहना पूरा गर्न कथाका दुई मूल पात्र भारत हुँदै अफगानिस्तानको काफिरिस्तान भन्ने दुर्गम इलाकामा पुग्छन् । त्यहाँ उनीहरूले आफूहरू अलेक्जेन्डर महानको सन्तान र ईश्वरको अवतार भएको दाबी गर्छन् । संयोगवश त्यस इलाकामा चलेका मिथकहरूमा अलेक्जेन्डर र ईश्वरका सन्तानबारे ठूलो महिमा स्थापित नै भइरहेको हुन्छ ।
मानिसहरूले तिनीहरूलाई ईश्वरकै अवतार ठानेर राजा मान्छन् । तर, त्यस इलाकामा रहेको मिथकहरूमा ईश्वरको शरीरमा रगत नहुने विश्वास हुन्छ । राजा भएपछि वर्षौंदेखि सुखसयलको जीवन बिताइरहेका उनीहरू त्यहीं विवाह पनि गर्छन् ।
तर, भइदिन्छ के भने एक दिन ड्रावोटलाई उनकी श्रीमतीले हातमा टोकिदिन्छिन् । जोडले टोकेपछि उनको हातबाट रगत आउन थाल्छ । त्यसपछि उनीहरू ईश्वर नभएर मानिस भएको गाउँभर हल्ला चल्न थाल्छ । इलाकाका सरदारहरूले ड्रावोटलाई मृत्युदण्डको सजाय दिन्छन् भने कार्नेहान असाध्यै कुटाइ खाएर भए पनि भागेर बाँच्न सफल हुन्छन् ।
कार्ल मार्क्सले आफ्नो प्रसिद्ध कृति लुई बोनापार्टको अठारौं ब्रुमरको शुरूमै लेखेका छन्– इतिहासमा हरेक घटना, पात्र र प्रवृत्ति पहिलो पटक दुःखान्तका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा देखापर्छन् । नेपालमा गद्दीच्युत पूर्व राजा ज्ञानेन्द्र शाह र उनका अनुचरहरू पनि किप्लिङको उपन्यासका पात्रहरू जस्तै पहिले दुःखान्त र पछि प्रहसनका रूपमा देखा परे जस्तै लाग्छन् ।
नेपालमा आफूलाई विष्णुको अवतार र पृथ्वीनारायणको सन्तान भन्ने राजतन्त्र उपन्यासको ड्रावोट जस्तै भ्रमको पर्दा उघारिएपछि सधैंका लागि अन्त्य भयो । तर, विविध कारणले जोगिन सफल ज्ञानेन्द्र भने उपन्यासका पात्र पिची कार्नेहान जस्तै फेरि आफ्नो कथा सुनाउन हामीसामु छन् ।
उनले फेरि राजा हुन चाहनु भनेको अर्को प्रहसन भन्दा कम पक्कै होइन । प्रारम्भमा उनलाई विश्वास गर्ने काफिरिस्तान आज भ्रममुक्त भइसकेको छ । अब उनीसामु प्रायश्चित तथा शान्तिपूर्ण जीवनयापनको विकल्प छैन ।
नेपालको संविधान २०७२ मूलतः सम्झौताको दस्तावेज हो । पहिलो संविधानसभालाई आफ्नो जिम्मा पूरा गर्न असहज बनाएपछि दोस्रो संविधानसभामा दलहरूको अंकगणित फेरियो । राज्यको स्वरूपको रूपमा रहेको राजतन्त्र, एकात्मक केन्द्रीकृत व्यवस्था, एकल धार्मिक राज्य तथा समुदायगत विभेद विरुद्धको आवाज किनारामा पार्न त सम्भव भएन ।
त्यसैले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता जस्ता व्यवस्था संविधानमा लेखिए । जनताका आधारभूत अधिकारहरू मौलिक हकमा समावेश भए । तर, शासकीय स्वरूपमा आधारभूत हेरफेर भएन । राज्यका प्रमुख निकायहरू सेना, अदालत र कर्मचारीतन्त्रमा खास बदलाव आउन सकेन । संविधान घोषणाको केही समयपछि बनेको वाम गठबन्धनले यी समस्यालाई केही हदसम्म हल गर्ने अपेक्षाका बाबजुद तत्कालीन सरकार संसद् विघटनतर्फ हौसियो ।
संविधानमा लिपिबद्ध निर्जीव अक्षरहरू आम जीवनमा परिवर्तनको उज्यालो बोकेर पुग्नै पाएनन् । व्यवस्थाको सकारात्मक अभ्यासलाई अवसर नै मिलेन । व्यवस्था परिवर्तनको मुख्य शक्ति माओवादी या त असाध्यै अल्पमत सहित सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा भयो या त सरकारमा कमजोर उपस्थितिमा रह्यो । फलतः न त संविधानको उचित कार्यान्वयन भयो न यसमा आवश्यक परिमार्जन नै हुनसक्यो ।
आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । यो व्यवस्था कसैले उपहारमा दिएर वा मनखुशी गरेर किस्तीमा सजाएर दिएको होइन । बितेको एक शताब्दी नेपाली नागरिकले विभिन्न स्वरूपका संघर्ष गरेर, आफ्नो जीवन अर्पण गरेर ल्याएको व्यवस्था हो यो । यसक्रममा आम नेपाली जनताले आफ्ना सन्तान गुमाएका छन्, धेरै अंगभंग भएका छन, कैयौं बेपत्ता छन्, यातना र दुःखको पहाड गौरीशंकर हिमाल जस्तै अग्लो छ ।
यी कैरनहरूले माथि राजनीतिक भाषामा आजका प्रश्नको जवाफ भन्ने प्रयास त गर्छन् तर विश्वविद्यालयमा भेटिएका प्राध्यापक र विद्यार्थीका गुनासोको उचित सम्बोधन गर्दैनन् । हामी बाँचेको समयको विरोधाभास भनेकै, हामी गणतन्त्रात्मक व्यवस्थामा छौं । संविधानमा धेरै अधिकार लेखिएका छन् । तर, त्यो संविधानले हरेक झुपडी र चुलोमा उज्यालो बनेर न्यानो दिन सकेको छैन ।
जसले यी परिवर्तनहरूलाई ठोस आकार दिन साँच्चै पहलकदमी लिए, ती राजनीतिक शक्ति र त्यसको नेतृत्व अहिले सडकमा छ । जसले यो परिवर्तनलाई सकेसम्म रोक्न खोज्यो र नसक्दा यसमा लतारिएर आइपुग्यो नयाँ व्यवस्थाको चालक शक्तिका रूपमा गद्दीमा उही आसीन छ । यहाँनेर एउटा टर्किस उखान याद आउँछ- जोकरहरू दरबार पस्दैमा राजा हुँदैनन्, बरु दरबार सर्कसमा परिणत हुन्छ ।
यहींनेर आइपुग्छ माओवादी आन्दोलन र यसको उपादेयता । चैत १५ कै घटनाले आधुनिक नेपालको इतिहासमा माओवादी आन्दोलन र यसका नेता प्रचण्डको सान्दर्भिकतालाई फेरि एकपटक बृहत्तर क्यानभासमा देखाइदिएको छ ।
तत्कालीन समयमा संसद्वादी दलहरूलाई चिथोरेर, कोपरेर, निचोरेर दास बनाइरहेको राजतन्त्र रूपी बाघलाई नेपालको जनयुद्धले नै ठेगान लगाइदिएपछि मरेको बाघको जुँगा उखेलेर आफूलाई बहादुर दाबी गरिरहेका संसद्वादीहरूका अघिल्तिर चैत १५ मा जब त्यो बाघले फेरि घ्वाँर्रर गरेर चलमलायो त्यसपछि फेरि भृकुटीमण्डपमा माओवादीले नै चुनौती र हाँक दिनुपर्यो ।
अहिले नेपाली राजनीतिका जोकरहरू सत्ताको मञ्चमा बसेर गणतन्त्रलाई नै सर्कस बनाइरहेका छन् । तर, गणतन्त्रलाई सर्कस बन्ने छुट छैन । यही मेसोमा गणतन्त्रलाई असफल प्रयोगको रूपमा देखाउने प्रत्येक षडयन्त्रलाई नेपाली जनताले चिन्नु, चिर्नु र पाखा लगाउनुपरेको छ । चौतर्फी फैलाइएको निराशालाई चिर्न संविधानलाई कागजको खोस्टोमा सीमित नराखी आम मानिसको दैनिकीसम्म पुग्ने जीवन्त दस्तावेज बनाउनै पर्नेछ ।
संविधानलाई जोगाउनु, त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउनु र त्यसका सीमाहरूलाई भत्काउँदै फेरि पूर्ण कार्यान्वयनमा लैजानु छ । परिवर्तनको सपना देखाएको राजनीतिक शक्तिले नै परिवर्तनका आकांक्षाहरू पूरा गर्न सक्छ भन्ने जून जत्तिकै छर्लङ्ग छ ।
आउनुस् हामी एक पटक राजनीतिक जोकरहरू र कागजी बाघका विरुद्ध उठौं । आउनुस् हामी एक पटक यो व्यवस्थाका पक्षमा उभिऊँ । आउनुस् हामी एक पटक आफ्ना सन्ततिको भविष्यका पक्षमा मुट्ठी उचालौं । किन भने हामीले हाम्रै बारे बोलेनौं भने हाम्रा लागि बोलिदिने कोही हुनेछैन ।
प्रतिक्रिया 4