
काठमाडौं । २०८१ साल नेपाली संगीत क्षेत्रको लागि खास रह्यो । यसवर्ष घरेलु संगीत देशभित्र मात्र सीमित रहेन, बरु युट्युबको ‘ग्लोबल ट्रेन्डिङ’मा समेटिँदै विश्वब्यापी चर्चा बटुल्यो । युट्युब, स्पोटीफाई, आइट्युन्सजस्ता डिजिटल प्लाटफर्मको कारण नेपाली संगीत क्षेत्र पछिल्लो वर्षमा फैलिने क्रममा छ ।
डायस्पोरामा नेपाली समुदायको बाक्लो बसोबास वृद्धि हुने क्रममा रहेकाले नेपाली संगीतले त्यहाँ मौलाउने अवसर पाएको छ । नेपालमा गीत रिलिज हुँदा एकैदिनमा अन्य केही मुलुकको ट्रेन्डिङमा पर्न थालेको छ । युट्युबमात्र होइन स्पोटीफाईजस्ता अडियो प्लाटफर्ममा पनि नेपाली संगीतको लोभलाग्दो उपस्थिती देखिन थालेको छ ।
यसको बलियो उदाहरण हो २०८१ सालमा मात्रै ४ नेपाली गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्न सफल भए । अन्तर्राष्ट्रिय डिजिटल प्लाटफर्ममा यसअघि नेपाली संगीतको उपस्थिती यति प्रभावशालीरुपमा कहिल्यै भएको थिएन । ‘कश्मिर पछ्यौरी’देखि सुरु भएको नेपाली गीतको ग्लोबल ट्रेन्डिङको यात्रा ‘दुश्मन हेरेको हेर्यै’सम्म आइपुगेको छ ।
यस वर्ष युट्युबको ‘ग्लोबल टप १००’ सूचीमा चार नेपाली गीतले स्थान बनाए । यी गीतले नेपाली संगीत उद्योगको बढ्दो पहुँच र प्रभावलाई दर्शाउँछ । टिकटक, रिल्सजस्ता सामाजिक सञ्जाल, आकर्षक संगीत संयोजन, तथा मनछुने शब्दको ठूलो भूमिका यसपछाडि छ । यसवर्ष ग्लोबल ट्रेन्डिङमा समेटिएका ४ गीतको चर्चा यहाँ गरिन्छ ।
रुकुम मैकोट
एसडी योगीद्वारा संगीतबद्ध यो गीतले युट्युबको ग्लोबल ट्रेन्डिङमा झण्डै डेढमहिना स्ट्रिमिङ हुँदै अर्को रेकर्ड पनि रच्यो । फिल्म ‘खुस्मा’मा समावेश यो गीत युट्युबको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’ सूचीमा यो गीत ७३औं स्थानमा प्रवेश गरेको थियो । लोकलयको मिठास, वास्तविक प्रेमभाव झल्काउने शब्द र आकर्षक छायांकनले दर्शकको मन जित्यो । पश्चिम नेपालको सौन्दर्य, परम्परा र प्रेमकथालाई सजीव रूपमा प्रस्तुत गरिएको छ । यो गीतमाथि टिकटकमा लाखौं भिडियो बने । अहिलेसम्म यो गीतलाई अहिलेसम्म १२ करोडभन्दा धेरैपटक हेरिएको छ ।
कश्मीरे पछ्यौरी
यो गीत सम्भवतः ग्लोबल ट्रेन्डिङमा पहिलोपटक स्थान बनाउने नेपाली गीत हो । यो गीत रिलिज भएको आठ महिनापछि चर्चामा आएको थियो र युट्युबको ग्लोबल ट्रेन्डिङको ९९औं स्थानमा प्रवेश गरेको थियो । गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो । निश्चल दवाडीको शब्द र संगीत रहेको गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर सुन्न सकिन्छ । नेपाली लोकसंगीतमा आधारित गीतले नेपालका विभिन्न भागमा मात्र नभई अन्तर्राष्ट्रिय नेपाली समुदायमा समेत लोकप्रियता पायो । अहिलेसम्म यो गीतलाई ८ करोड ११ लाख पटक भन्दा धेरै पटक हेरिएको छ ।
बार्दली
सुशान्त केसीको ‘बार्दली’ यो वर्ष ग्लोबल ट्रेन्डिङमा प्रवेश गर्ने अर्को नेपाली गीत हो । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङको ९३औं स्थानमा पुगेको थियो । यसमा मधुर संगीत संयोजन र सुशान्तकै आफ्नो विशिष्ट गायन शैली छ । यो गीतमा आधुनिक प्रेम र समर्पणको भावलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियो पनि आकर्षक छ, जसमा सुशान्तसँगै इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ । अहिलेसम्म यो गीतलाई ७ करोड १० लाख पटक हेरिएको छ ।
दुश्मन हेरेको हेरै
३ महिनाअघि रिलिज भएको दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै’ यस वर्ष ग्लोबल ट्रेन्डिङमा प्रवेश गर्ने अर्को नेपाली गीत बन्यो । विश्वभरका १०० म्युजिक भिडियोको सूचीमा यो गीत ७७औं स्थानमा पुगेको थियो । उनले यस गीतमा आफ्नै शैलीको ऊर्जा भरेका छन् । ओठमा झुन्डिने शब्द, आकर्षक पर्फमेन्स र कलाकारको अभिनयले गीतलाई भाइरल बनाएको छ । यसको लोकप्रियता नेपालमा मात्र सीमित छैन । यो गीतमाथि हिन्दीमा पनि फ्यानले भिडियो बनाइरहेका छन् । अहिले मेला महोत्सवमा पनि यो गीतको क्रेज देखिन्छ । यो गीतले दुर्गेशको करिअरलाई नै उचाइमा पुर्यायो । दुर्गेश आफैँको शब्द र संगीत रहेको गीतमा आनन्द कार्की, दुर्गेश, एलिना चौहान, र समीक्षा अधिकारीको स्वर छ । यो गीतलाई अहिलेसम्म ५ करोड ६६ लाख पटक हेरिएको छ ।
यसवर्ष एकदेव लिम्बुको ‘झिम झिमाउने आँखाले’ पनि युट्युबको ‘ग्लोबल हन्ड्रेड चाट्र्स’को ९७ औं स्थानमा प्रवेश गर्न सफल रह्यो । यसबाहेक अन्य नेपाली गीतले पनि विभिन्न देशमा ट्रेन्डिङमा देखिए ।
प्रतिक्रिया 4