
२६ चैत,बुटवल । उद्घाटनको तीन वर्ष बित्न लाग्दासमेत गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित हुन नसकेपछि रुपन्देहीका होटेल तथा पर्यटन व्यवसायीहरु निराश र छटपटीमा छन् । कारण उनीहरुको लगानी हो । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेलसहित पर्यटन सम्बन्धित विभिन्न व्यवसायमा करिब एक खर्ब लगानी भएको छ । व्यवसायीहरुमा यसले प्रतिफल दिनुको साटो डुब्ने चिन्ता छ ।
मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिराले उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायी र निजी क्षेत्र उत्साहित भएर बैंकबाट ऋण लिएर व्यवसायमा थप लगानी गरे ।
तर उनीहरूको उत्साह एक महिना पनि टिकेन । एक महिना नबित्दै विदेशी एयरलाइन्सले ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोके ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागू गर्यो । त्यसपछि मार्च २९ अर्थात गत चैत १६ गतेसम्म विमानस्थलमा चहलपहल बढ्यो । एअरलाइन्सले उल्लेख्य यात्रु पाउन थाले । तर अप्रिल १ देखि फेरि अन्तर्राष्ट्रिय उडान रोकिएको पछि व्यवसायीहरु फेरि निराश छन् ।
अहिले नेपाल एयरलाइन्सले मात्रै साताको तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । विभिन्न बहानामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दाबी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ ।
निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘कुन अदृश्य शक्तिले लुम्बिनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ? त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल,उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा,उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेशप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा विमानस्थल सञ्चालनका लागि सरकारले तदारुकता देखाएको भनेपनि आवश्यक आधारभूत सरकारी कार्यालयहरु स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयहरुको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको भन्दै उनीहरुले विमानस्थलको दूरावस्था देखेर निजी क्षेत्र चिन्तित भएको उल्लेख गरेका छन् ।
विमानस्थल निर्माण सुरु भएसँगै उत्साहित भएर सरकारकै आह्वानमा पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा गरेको करिब एक खर्ब लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई पटक-पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् ।
नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेको सुनिएकाले त्यस्तो किन भएको हो र कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेश अधिकारीले सरकारले तत्काल अन्तर्राष्ट्रिय उडान नियमित नगरे प्रदेशभरका व्यवसायिक संस्थाहरु वैशाखदेखि चरणवद्ध संयुक्त आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गौतमबुद्ध विमानस्थलबाट उडान भएपनि १८ घण्टा सञ्चालनमा भएपछि भैरहवाबाट उडान बन्द हुनु संयोग मात्र नभएको चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बताए । ‘सरकार काठमाडौं केन्द्रित व्यवसायीको अनुचित दबाब र प्रभावमा परेर गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसकेको हो कि भन्ने गहिरो आशंका यहाँका व्यवसायीमा छ, यसलाई सरकारले स्पष्ट पार्नुपर्छ’, पोखरेलले भने ।
भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायी चन्द्र थापाले गुनासो गरे ।
टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतो छ कि भन्ने शंका लागेको थापाले गुनासो गरे ।
पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई-भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने बताउँछन् ।
ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्स, फ्लाई दुबई र थाइ एयर एसियाले ‘समर शेड्युल’ तय नगरेका कारण उडान बन्द भएको हो । जजिरा एयरलाइन्सले मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको उनले बताए ।
प्रतिक्रिया 4