+
+
Shares

सवारी कर घरपायक कार्यालयमै बुझाउन सक्ने व्यवस्था गर्न सिफारिस

एक प्रदेशमा दर्ता एवं नवीकरण भएका सवारीसाधन अन्य प्रदेशमा पनि निर्वाध आवागमन गर्न पाउने व्यवस्था रहेको भन्दै आयोगले कर संकलनमा समेत सोही अनुसार सहजीकरण गर्न भनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १८:१६

२ वैशाख, काठमाडौं । सवारी कर नेपालभित्र आफू बसेको घर नजिकैको कार्यालयबाट उठाउन मिल्ने व्यवस्था गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय विभाज्य कोषबाट प्रदेश सरकारले सम्बन्धित प्रदेशभित्रका स्थानीय सरकारबीच गर्ने सवारीसाधन कर बाँडफाँट हिस्साका सम्बन्धमा प्रदेश सरकारलाई गरिएको सिफारिसमा यस्तो सुझाव दिइएको हो ।

‘सवारी धनी आफूले तिर्नु बुझाउनुपर्ने सवारीसाधन कर नेपालभित्र जुन स्थानमा बसेको छ, सो नजिकै रहेको सवारीसाधन कर उठाउने कार्यालयबाट बुझाउन मिल्ने व्यवस्था मिलाउँदा करदातालाई सहज हुनेछ,’ आयोगले भनेको छ ।

एक प्रदेशमा दर्ता एवं नवीकरण भएका सवारीसाधन अन्य प्रदेशमा पनि निर्वाध आवागमन गर्न पाउने व्यवस्था रहेको भन्दै आयोगले कर संकलनमा समेत सोही अनुसार सहजीकरण गर्न भनेको हो ।

यसरी संकलन हुने कर प्रदेश–प्रदेशबीच समन्वयमा सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्न समेत भनिएको छ । यसमा प्रदेश सरकारले काम गर्नुपर्ने आयोगको सुझाव छ । सवारीसाधन कर विद्युतीय प्रणालीबाट संकलन गरी सेवाग्राहीलाई सहज बनाउन समेत आयोगले सुझाव दिएको छ ।

स्थानीय सरकारले पाउने रकम नरोक्नू

आयोगले प्रदेश सरकारहरूलाई स्थानीय तहले पाउने रकम नरोक्न समेत सचेत गराएको छ । प्रदेश सरकारले संकलन गरेको कुल सवारीसाधन करको ४० प्रतिशतले हुने रकम स्थानीय सरकारमा बाँडफाँट गर्नुपूर्व स्थानीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

त्यस्तो कोषमा जम्मा भएको रकमलाई आयोगले सिफारिस गरेको हिस्सा बमोजिम प्रदेश सरकारले स्थानीय सरकारको सञ्चित कोषमा मासिक हस्तान्तरण समेत गर्नुपर्छ । तर, अभ्यासमा भने कतिपय प्रदेश सरकारले कर बाँडफाँटको रकम मासिक स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी बाँडफाँट गरेको छैन ।

यस्तो व्यवहार कानुनी व्यवस्था विरुद्धमा हुने भन्दै आयोगले सचेत समेत गराएको छ । ‘सबै प्रदेश सरकारले स्थानीय सरकारलाई बाँडफाँट गर्नुपर्ने सवारीसाधन करको रकम मासिक रूपमा स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी अनिवार्य बाँडफाँट गर्नुपर्छ,’ आयोगले भनेको छ ।

त्यसैगरी प्रदेश सरकारले संकलन गरेको सवारीसाधन कर यथार्थमा आधारित रहेर कानुन बमोजिम प्रदेश विभाज्य कोष र त्यसपछि स्थानीय विभाज्य कोषमा स्वतः जम्मा हुने र मासिक सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा जम्मा हुने किसिमको विद्युतीय प्रणाली विकास र सञ्चालन गरिए सवारीसाधन करको बाँडफाँट थप प्रभावकारी हुने समेत आयोगको भनाइ छ ।

सवारीसाधन कर सेवा र पूर्वाधार सुधारमा खर्च गर

आयोगले सवारीसाधन करबापत उठेको रकम सेवा र पूर्वाधार सुधारमा खर्च गर्न समेत भनिएको छ । स्थानीय सरकारले सवारीसाधन कर बाँडफाँट भएको रकम सोही बमोजिम उद्देश्य हासिल हुने गरी विनियोजन एवं खर्च गर्न भनिएको हो ।

आयोगले प्रादेशिक तथा स्थानीय सडकको मर्मत सम्भार गर्नसमेत सुझाव दिएको छ । प्रादेशिक तथा स्थानीय सडकको सुरक्षा सम्बन्धी आवश्यक संकेत, चिह्न, सूचना लगायत पूर्वाधार स्थापना र मर्मतमा खर्च गर्नुपर्ने आयोगको सुझाव छ ।

सवारी चालक तथा सहचालक, यात्रु र आमनागरिकका बीचमा सडकको सुरक्षित उपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ ।

सवारीसाधन प्रयोगसँगै यसबाट वातावरणमा पर्ने असर न्यूनीकरण गर्ने काम खासगरी वनजंगल संरक्षण र प्रवद्र्धनका कार्यक्रममा खर्च गर्नसमेत आयोगले भनेको छ ।

प्रदेश र स्थानीय सरकारको सार्वजनिक यातायात प्रणाली व्यवस्थित बनाउन, बसपार्क, यात्रु प्रतिक्षालय तथा सार्वजनिक शौचालय निर्माण लगायत पूर्वाधारमा लगानी गर्न आयोगको सिफारिसमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?