 
																			१२ वैशाख, काठमाडौं । विसं २०७२ साल वैशाख १२ गते अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।
भूकम्पले काठमाडौंमा उपत्यकामा पनि व्यापक क्षति पुग्यो । निजी घरसँगै ऐतिहासिक सम्पदास्थल समेत ढले ।
भीमसेन थापाकालीन धरहरा पनि फेँदबाटै भाँचिएर ढल्यो । त्यहाँ च्यापिएर ६० जनाको ज्यान गयो ।

अहिले त्यही ठाउँमा धरहरा पुरानो स्वरुपमा नयाँ प्रविधिबाट पुनर्निर्माण गरी ठडाइएको छ । राणाकालीन सिंहदरबार, हनुमानढोका दरबार, रानीपोखरीदेखि दशरथ रंगशालासम्मका संरचना पुनर्निर्माण भएका छन् ।

आज त्यही पुनर्निर्मित धरहराको फेँदमा विनाशकारी गोरखा भूकम्पको स्मृतिमा एक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतले भूकम्पको त्रासदी स्मरण गर्दै प्राकृतिक विपद जुनसुकै बेला आउन सक्ने भएकाले सधैं सहकार्य हुनुपर्नेमा जोड दिए ।

‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि १०औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्छ।’
भूकम्पलगायत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
हेर्नुहोस् धरहराबाट अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमालले खिचेका तस्वीरहरू :
 
   
 


 
  
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4