+
+
Shares

शिरिषा र सबिना : युट्युबमा सिलाइ बुनाइ सिक्दै सर्वोत्कृष्ट फेसन डिजाइनर बने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते ९:४३

सबिना राना मगर र शिरिषा राईको जोडी ‘सर्वोत्कृष्ट फेसन डिजाइनर’ घोषित भए । मुलुककै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले पहिलो पटक यो प्रतियोगिता गरेको थियो । ‘डिजाइनर अफ द इयर’ नामक उक्त प्रतियोगिताको यस संस्करणमा सबिना र शिरिषाको जोडीले शीर्ष उपाधी जितेका हुन् ।

उनीहरूले संयुक्त रुपमा ‘एस एन्ड एस क्रिएसन’ संस्था स्थापना गरेकी छिन् ।

अब के मिस नेपालका लागि उनीहरूले नै पहिरन डिजाइन गर्नेछन् ? यो प्रश्नभन्दा रोचक छ उनीहरू कसरी फेसन डिजाइनिङमा तानिए ? कुन मोडमा यी दुईको भेट भयो ?
प्रतियोगितामा कसरी सहभागी भए ?

हामीले पालैपालो उनीहरूको संघर्ष र सफलताका कथाहरू खोतल्यौं ।

सिलाइ बुनाईमा रुची

शिरिषा राई

मेरो घर इलाम । मलाई सानै उमेरदेखि सिलाइ बुनाइमा रुची थियो । तर, त्यो काम आउँदैनथ्यो । परिवारले पनि यस्तो कामभन्दा पढ्नु ठिक हो भन्थे । प्लस टु पछि फेसन डिजाइनिङ सिक्छु भन्दा पनि परिवारले दिनुभएन ।

घर–परिवारले नदिए पनि मैले घरमै कपडाहरू ल्याएर हातैले सिलाउन थालेँ । युट्युबमा भिडियो हेर्थे, कसरी सिलाउन वा डिजाइन गर्न सकिन्छ भनी ।

स्नातकपछि मेरो बिहे भयो । मैले आफ्नो रुचिको बारेमा श्रीमानलाई बताएँ । उनले ‘सिक्दा हुन्छ’ भनी साथ दिए । त्यसपछि मैले सिलाइ सिकेर ट्रेलरको काम गर्न थालें ।

मलाई टेलरिङको काम सिकाउने व्यक्ति मभन्दा सानो उमेरकी थिइन्, त्यसैले पनि म झन् धेरै प्रेरित भएँ । ३ महिनाको कोर्स मैले लगभग एक महिनामै सकाएँ । त्यसपछि परिवारबाटै ट्रेलर खोल्ने सल्लाह पाइयो। एउटा सानो ट्रेलर खोलेँ ।

सिलाइ बुनाइको काम गरिरहँदा फेसन डिजाइनर बन्ने रहर जाग्यो । मलाई थाहा थिएन, फेसन डिजाइनको पनि कोर्स गर्न पाइन्छ भनेर ।

पछि यसको छुटै पढाइ हुन्छ भन्ने थाहा पाएपछि सोसल मिडियामा फेसन डिजाइनरहरू फलो गर्न थालें ।

काठमाडौं आएपछि म सूर्यविनायकको ‘फिट फेसन एकेडेमी’मा भर्ना भएँ ।

फिट फेसन एकेडेमी सूर्यविनायकमा फेसन डिजाइनिङको कोर्स गर्न जाँदा पनि मलाई फेसन डिजाइनिङको बारेमा एकदमै राम्रो जानकारी थिएन । त्यहाँ फेसन सिक्दै गर्दा धेरै कुरा सिक्ने मौका पाए ।

म सोसल मिडियामा पनि फेसनबारे नै हेरिरहेको हुन्थेँ । त्यहाँ मैले एउटा कुड सेट देखेँ, निकै राम्रो । पछि थाहा भयो त्यो मैले डिजाइनिङ सिकिरहेको इन्टिच्यूटमा बनाइएको रहेछ । त्यो बनाउने चाहिँ सबिना मगर रहिछन् ।

खासमा म त्यहाँ छोटो अवधिको तालिम लिन गएकी थिएँ । तर त्यो कुडसेट देखेपछि मैले त्यहाँबाट ६ महिनाको कोर्स गर्ने निधो गरें ।

म नयाँ विधार्थी भएकाले मलाई त्यहाँ के-के हुन्छ जानकारी थिएन । एकदिन सरहरूले ब्याग बनाउन सिकाउने भन्नुभयो । कपडा कहाँबाट ल्याउने थाहा थिएन, मलाई ।
त्यसैले म अलमल्लमा परेको थिएँ । त्यहीबेला मलाई सबिनाले कपडा ल्याउन सहयोग गरिन् । त्यसपछिका दिनमा हामी मिल्ने साथी भयौँ । सबिनाले गर्दा नै मैले पनि डिजाइनर अफ द इयर जित्ने मौका पाएँ ।

फुपुले सिलाएको लुगा फिट भएन, आफैं डिजाइन सिक्न थालें

सबिना मगर

मेरो घर सिरहा हो । मेरो फुपूलाई सिलाइमा रुचि थियो । त्यसैले उहाँले सिलाइ सिकेर ट्रेलर खोल्नुभएको थियो । सानै देखि फुपूले लुगाहरू सिलाएको देखेर मलाई पनि सिलाइमा रुचि बढ्न थाल्यो ।

फुपूले सिलाएको लुगा लगाउँथे । तर, फुपूले सिलाएको लुगा शरीरमा राम्ररी फिट हुँदैन थियो । त्यसैले मलाई आफैँ सिलाएर लुगा लगाउन मन लाग्थ्यो । त्यसैले एसएलसी सकिनेबित्तिकै आफूलाई सिलाइ सिक्न मन लागेको कुरा आमालाई बताएँ । आमाले पनि सिलाइ सिक्न अनुमति दिनुभयो, त्यसपछि ६ महिना टेलरिङ सिकेर बिस्तारै घरमै लुगाहरू सिलाउन थालें ।

केही समयपछि म काठमाडौँ आएर एउटा बुटिकमा काम गर्न थालें । बुटिकमा काम गर्दा अझै राम्रो राम्रो कपडा सिलाउन सिकें । त्यसपछि आफैँलाई बुटिक खोल्न मन लाग्यो ।

थप फेसन डिजाइनिङ सिक्नका लागि फिट फेसन एकेडेमीमा जोडिएँ । आफूलाई राम्रो-राम्रो लुगा लगाउन मनपर्ने भएकाले नयाँ नयाँ डिजाइनमा लुगा डिजाइन गर्न मन लाग्थ्यो । त्यहाँ नै मेरो शिरिषासँग भेट भयो । मेरो कोर्स एक महिना मात्र बाँकी थियो त्यो बेला शिरिषासँग दोस्ती भयो ।

डिजाइनर अफ द इयरमा आउनु भन्दा अघि पनि म बानेश्वरमा एउटा बुटिकमा नै काम गर्थे । त्यहाँ मसँगै काम गर्ने एकजना भाइ आएआइफटीको विधार्थी थियो । उसले नै डिजाइनर अफ द विकमा भाग लिने सल्लाह दियो । तर, मेरो पढाइ खासै राम्रो नभएको र अंग्रेजी पनि कमजोर भएका कारण भाग लिन डराइरहेको थिएँ । तर साथीहरूले तपाईँको सिलाइ राम्रो छ भाग लिनुहोस् भनेर प्रोत्सान गरे, त्यसैले भाग लिएँ।

तर, त्यसमा भाग लिनका लागि तयारी नै पूरा भएको थिएन । त्यहाँ १० वटा स्केच र एउटा लुगा डिजाइन गर्नुपर्ने हुन्थ्यो । त्यसैले शिरिषा र मैले दुई जना मिलेर काम गर्ने निधो गरियो र मेहेनत गरेर काम गरेर जित्यौं पनि ।

अनि सुरु भयो एस एन्ड एस क्रिएसन

सबिना : सायद हिडन ट्रेजरले ‘डिजाइनर अफ द इयर’को आयोजना नगरेको भए हाम्रो यो संस्था जन्मिने नै थिएन । डिजाइनर अफ द इअरको अडिसन हुँदैछ भन्ने कुरा हामीलाई दुई तीन दिनअघि मात्र थाहा भयो । त्यसमा एक्लै–एक्लै भाग लिनुपर्छ भन्ने लागेको थियो । त्यही अनुरुप हामीले भाग लिएका थियौं ।

त्यहाँ भाग लिनका लागि १० वटा स्केच बनाउनुपर्ने रहेछ । अनि एउटा ड्रेस । यो कुराले शिरिषा अलमलमा थिइन् । म पनि ।

शिरिषा : म के गरौँ, के गरौँको अवस्थामा थिएँ । अडिसनको अघिल्लो दिन मलाई सबिनाले म्यासेज गरिन् । म्यासेजमा ‘सँगै जाने हो ?’ भनेर लेखिएको थियो । मलाई कसरी भाग लिने खास आइडिया थिएन ।

सबिनाले नै ग्रुपमा जान मिल्छ भनेपछि सँगै गयौँ । तर, ग्रुपको पनि नाम चाहिने रहेछ । हामीले पाँच मिनेटमै नाम जुरायौं, सबिना र शिरिषा नामको अघिल्लो अक्षर जोडेर एस एन्ड एस क्रिएसन राख्यौं ।

सबिना : नाम जुराएर सहकार्यमा काम गर्नका लागि फर्म भर्‍यौँ । दुई जना मिलेर १० वटा स्केच बनायौँ, ड्रेस पनि बनायौँ र अडिसन दियौँ । डिजाइनर अफ द इयरको अडिसनमा काठमाडौँ, पोखरा, बुटवल र चितवन जस्ता सहरहरूबाट डिजाइनरहरू सहभागी थिए ।

पहिलेदेखि नै स्थापित डिजाइनरहरू पनि सहभागी थिए । हामी भने एकदमै नयाँ भएकोले हामी छनोट हुँदैनौ कि भन्ने लागेको थियो ।

छनोट भएको थाहा भएपछि हौसला बढ्यो र अब त जित्नैपर्छ भनेर अघि बढ्यौँ । त्यहाँ ७ दिनको ट्रेनिङ भयो त्यसमा धेरै कुरा सिकेपछि झन् हौसला बढ्यो ।

शिरिषा : लुगा मात्र सिलाएर डिजाइनर नहुँदइदो रहेछ । कुनै पनि ड्रेस डिजाइन गर्दा के बाट प्रेरणा लिएको भन्ने कुरा पनि खुलाउनु पर्ने रहेछ र ड्रेसलाई नाम पनि दिनु पर्ने रहेछ, जसलाई ‘मुडबोर्ड’ भनिने रहेछ । त्यो कुरा हामीले त्यहीँ सिक्यौं ।

केही दिनपछि विशेष समारोहमा विजेताको नाम घोषणा हुने भयो । हामी त त्यहाँ अरू सहभागी भन्दा कमजोर जस्तो थियौं । अरू फेसन क्षेत्रमा चिनिएकाहरू प्रतिस्पर्धामा थिए । कतिले हामीलाई हियाएर बोलेको पनि सुनिन्थ्यो । तर जब विजेताको रुपमा हाम्रो एस एन्ड एस क्रिएसनको नाम उद्घोष भयो, हामी एकदमै खुसी भयौँ ।

कपडाको माध्यामबाट भाव पोख्नु फेसन डिजाइनिङ रहेछ

शिरिषा : मलाई श्रीमानले भनेका थिए ‘पहिले ट्रेलरिङ त्यसपछि बुटिक वर्क गरेर अनि मात्र डिजाइनर हुँदोरहेछ , त्यसैले यो प्रतियोगिता जितेपछि मात्र तिमीहरू डिजाइनर भयौँ।’

लुगा सिलाउन आएर मात्र डिजाइनर हुँइदैन रहेछ । त्यसका लागि लुगा डिजाइन गर्न पनि आउनुपर्ने रहेछ । कुनै पनि ड्रेस डिजाइन गर्दा केही कुराबाट प्रेरणा लिएर थिम अनुसार डिजाइन गर्नुपर्ने रहेछ । कपडाको माध्यमबाट भाव पोख्नु भनेको फेसन डिजाइन हो ।

सबिना : अडिसनमा छनोट भएदेखि नै प्रतियोगिता जित्नैपर्छ भन्ने अठोटका साथ हामी लागी परेका थियौँ । पाँच वटा ड्रेस डिजाइन गरेको मध्ये हाम्रो इभिनिङ गाउन र नेसनल ड्रेसलाई निर्णयकहरूले एकदमै मनपराउनु भएको थियो ।

हिमालय रानीको थिममा कस्ट्युम तयार पारेका थियौँ, जहाँ लालीगुराँस र डाँफेलाई चित्रण गरिएको थियो । जसमा प्वाँखको प्रयोग गर्नुपर्ने थियो त्यो पाइरहेको थिएन त्यसैले रिबनबाट प्वाँखको डिजाइन बनाएका थियौँ हामीले ।

शिरिषा : राम्री राम्री मिस नेपालहरूले हामीले डिजाइन गरेको ड्रेस लगाउनुहुन्छ भनेर हामीले कल्पना गरेको थिएनौँ । तर, मिस नेपाल अर्थ २०२३ रेना मजगैयाले हाम्रो गाउन लगाउनु भयो । त्यो गाउन उहाँलाई यति राम्रो देखियो कि लाग्यो त्यो ड्रेस उहाँकै लागि बनेको हो ।

पढाइ र फेसन डिजाइनिङ दुवैलाई सँगै अघि बढाउने हाम्रो योजना छ । सिकाइको दायरालाई बढाएर अन्तराष्ट्रिय स्तरमा आफूलाई स्थापित गराउने लक्ष्य राखेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?