News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको मेचिनगर नगरपालिका वडा नं.६ मा बुधबार बिहान गौरी गाईको भाले गौरको एक घरमा छट्पटाउँदै मृत्यु भयो।
- डिभिजन वन कार्यालय झापाका अनुसार गौरको मृत्यु हृदयघातबाट भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।
- वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले गौरको मृत्यु क्याप्चर मायोप्याथीका कारण भएको हुन सक्ने बताउनुभयो।
७ जेठ, चितवन । झापाको मेचिनगर नगरपालिका वडा नं.६ मा बुधबार बिहानै गौरी गाईको भाले गौरको एक घरमा छट्पटाउँदै मृत्यु भयो ।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो र गौरको मृत्युको बारेमा धेरैले जिज्ञासा पनि राखेका छन् ।
डिभिजन वन कार्यालय झापाका अनुसार झापामा जंगली हात्तीको आतंक हुने गरेको भए पनि गौर भने कहिलेकाँही मात्रै देखिन्छन् ।
मंगलबार साँझ हात्ती गस्ती टोलीले एक जोडी गौर मेचिनगरतिर रहेको रिर्पोट दिएका थिए । बुधबार बिहानै एक घरको आँगनमा गौर छट्पटाइरहेको भिडियोहरू देखिएपछि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
घरमा राखिएको सीसीटीभी फुटेजमा गौरले एक व्यक्तिलाई लेखेटिरहेको र गौर अचानक चिप्लिएर लडेको देखिएको छ । ती व्यक्ति भने सुरक्षित छन् ।
बिहानै ६.४० बजेतिर आँगनमा लडेको गौर करिब डेढ घण्टापछि मरेको थियो । गौर जहाँ चिप्लिएर लड्यो सोही ठाँउमा नै मरेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले जानकारी दिए ।
उनका अनुसार गौरको पोष्टमार्टम गरेर खाडल खनेर गाडिएको छ । पोष्टमार्टम रिर्पोटमा गौरको मृत्यु हृदयघातबाट भएको देखिएको छ । ‘कसैले आक्रमण गरेर वा विषादी खुवाएर वा अन्य कुनै कारणबाट गौर मरेको देखिएन’, वन अधिकृत पाठकले भने, ‘हर्टअट्याक भएर मरेको देखिन्छ ।’
पशुमा पनि हुन सक्छ हृदयघात ?
चितवन राष्ट्रिय निकुञ्जमा लामो समयसम्म वरिष्ठ पशु चिकित्सकको रुपमा कार्यरत रहेका डा. विजय श्रेष्ठले गौरको मृत्युको कारण क्याप्चर मायोप्याथीका कारण भएको हुन सक्ने बताउँछन् ।
गौरको मृत्युको अवस्थाको भिडियो हेरेपछि अनलाइनखबरसँग कुराकानी गर्दै डा. श्रेष्ठले क्याप्चर मायोप्याथी एक घातक अवस्था भएको बताए ।
जंगली जनावरहरूले अत्यधिक तनाव वा लामो समयसम्म शारीरिक परिश्रमको कारणले गर्दा मांसपेशी र अंगहरूमा गम्भीर क्षति भोग्ने उनी बताउँछन् । ‘गौरको हकमा पनि त्यस्तै देखिन्छ, कसैले लेखेटेको वा आक्रमण गरेको वा आफैं गएर कुनै बस्तुसँग ठोक्किएको अवस्थामा यस्ता जंगली जनाबरहरुमा क्याप्चर मायोप्याथी देखिन्छ’, डा श्रेष्ठ भन्छन्, ‘मेटाबोलिक एसिडोसिस, मांसपेशी फाइबर ब्रेकडाउन, मिर्गौला विफलता वा मुटुले नै काम गर्न छाड्छ र अन्ततः मृत्यु हुन्छ ।’
उनले विषेश गरी जंगली जनावरहरु गौर, लघुना, मृग, विषेश गरी खुर भएका स्तनधारी जंगली जनाबरहरू, चराहरुमा यस्तो समस्या देखिने बताए ।
घरपालुवा जनाबरमा भने यस्तो समस्या निकै कम हुन्छ । उनीहरु बाहिरी वातावरण र अवस्थाका बारेमा जानकार हुन्छन् । तर, जंगली जनावरहरूले अप्रत्याशित अवस्था, वातावरण र जोखिम देख्दा क्याप्चर मायोप्याथी हुने डा.श्रेष्ठको भनाइ छ ।
एक पटक मांसपेशी नेक्रोसिस वा अंग क्षतिको संकेत देखा पर्दा, बाँच्ने दर अत्यन्त कम हुने डाक्टर श्रेष्ठ बताउँछन् । अत्यधिक चिन्ता, काँप्ने, र छिटो सास फेर्ने घाँटी झुकाउनु (टोर्टिकोलिस) मांसपेशी काँप्ने, कठोरता वा उभिन असमर्थता हाइपरथर्मिया (शरीरको तापक्रम बढेको) गाढा रातो वा खैरो पिसाब फेर्छन् र केही घण्टामा नै मर्ने लक्षण देखिने डा. श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया 4