+
+
Shares

गाउँमै विशेषज्ञ सेवा पुग्दा राहत

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ जेठ ९ गते ७:०७

९ जेठ, काठमाडौं । विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा अझै कायम छ । विशेषगरी महिलामा देखिने पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै परीक्षण नहुँदा धेरैले चुपचाप पीडा सहेर बस्नुपर्ने अवस्था छ ।

तर, शारदा नगरपालिका ८ मार्केमा सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरले भने गाउँमै विशेषज्ञ सेवा दिएपछि स्थानीय नागरिकलाई राहत मिलेको छ । गाउँमै पहिलोपटक यति ठूलो स्तरमा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा पुगेपछि स्थानीय महिलामा उत्साह देखिएको छ ।

बिहीबार बिहानैदेखि मार्के स्वास्थ्य चौकी परिसरमा सेवाग्राहीको भीड लागेको थियो । कोही पाठेघर सम्बन्धी समस्या लिएर आएका थिए भने कोही मधुमेह र उच्च रक्तचाप परीक्षणका लागि लाइनमा बसेका थिए । आर्थिक अभाव र विशेषज्ञ सेवा नहुँदा लामो समयदेखि उपचारबाट टाढिएका महिलाले गाउँमै निःशुल्क जाँच तथा परामर्श पाएपछि राहत महसुस गरेका छन् ।

स्थानीय सिर्जना बुढाथोकीले जिल्लामा सम्बन्धित विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता रहेको बताउँदै गाउँमै निःशुल्क सेवा पाउँदा धेरै सहज भएको बताइन्  । उनले आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाले समयमै उपचार नपाउँदा समस्या झन जटिल बन्दै जाने गरेको बताइन् ।

‘पाठेघर सम्बन्धी समस्याले लामो समयदेखि पीडित थियौँ । जिल्लामा यससम्बन्धी विशेषज्ञ डाक्टरको सेवा उपलब्ध थिएन । सामान्य जाँच तथा उपचारका लागि पनि काठमाडौं जानुपर्ने बाध्यता थियो । उपचारमा धेरै खर्च लाग्ने भएकाले सबैले सहजै सेवा लिन सक्ने अवस्था थिएन । अहिले गाउँमै निःशुल्क शिविर सञ्चालन हुँदा धेरै सहज भएको छ । समयमै जाँच र परामर्श पाउँदा महिलालाई ठूलो राहत मिलेको छ’, उनले भनिन् ।

शिविरमै भेटिएकी स्थानीय कल्पना थापा क्षेत्रीले ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य समस्यालाई लुकाएर बस्नुपर्ने अवस्था अझै रहेको बताउँदै यस्ता शिविर नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले गाउँमै विशेषज्ञ सेवा पुग्दा उपचारप्रति नागरिकको पहुँच बढेको बताइनं ।

‘उपचारका लागि टाढा जानुपर्ने बाध्यता अझै धेरै महिलामा छ । आर्थिक अभाव, यातायातको समस्या र जनचेतनाको कमीका कारण कतिपय महिलाले समयमै उपचार गर्न सकिरहेका छैनन् । केही महिनाको अन्तरालमा यस्ता शिविर सञ्चालन गरिदिए ग्रामीण क्षेत्रका नागरिकलाई धेरै सहज हुने थियो’, उनले भने ।

दुई दिनसम्म सञ्चालन गरिएको शिविरबाट ७ सय ६२ जनाले सेवा लिएका छन् । जसमध्ये ६ सय ६५ जना महिला र ९७ जना पुरुष रहेका छन् । महिलामध्ये ३ सय २६ जनाले गाइनो सेवा लिएका थिए भने २ सय ३ जनाको VIA विधिबाट पाठेघरको जाँच गरिएको थियो ।

जाँचका क्रममा १८ जनामा जटिल समस्या देखिएपछि थप उपचारका लागि रेफर गरिएको छ । त्यस्तै, VIA परीक्षण गराएकामध्ये १५ जनामा आङ खस्ने समस्या देखिएको र जसमध्ये ११ जनाले रिङ प्रेसरी राखेको आयोजकको भनाइ छ ।

दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले जिल्लामा महिला प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा अभाव रहेकाले रोग पहिचान तथा उपचारलाई गाउँस्तरसम्म पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।

‘महिला प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा जिल्लामै सञ्चालन नभएकाले विभिन्न वडाका नागरिकलाई लक्षित गरेर निःशुल्क शिविर आयोजना गरेका हौँ । आगामी दिनमा अन्य स्थानीय तहसँग पनि सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने योजना छ’, रेग्मीले भने ।

शारदा नगरपालिका, आइपास नेपाल, दलित विकास समाज सल्यान र स्वास्थ्य सेवा कार्यालय सल्यानको समन्वयमा सञ्चालन गरिएको शिविरमा प्रजनन स्वास्थ्य, पाठेघर जाँच, मधुमेह तथा उच्च रक्तचाप सम्बन्धी विशेषज्ञ परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो ।

नगर प्रमुख प्रकाश भण्डारीले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए । ‘नागरिकको सहजताका लागि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं’, उनले भने ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?