२७ वैशाख, सल्यान । परदेशमा रहेका सल्यानीहरूको समूह सल्यानी समाज दक्षिण कोरियाले सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
सल्यानी समाज दक्षिण कोरियाको आयोजना, याक्सन कुमाख हस्पिटल प्रा.लि. को समन्वय तथा त्रिवेणी गाउँपालिका को सहकार्यमा शनिबार जिल्लाको त्रिवेणी गाउँपालिका १, काभ्रामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
त्रिवेणी गाउँपालिका १ र २ को मध्यस्थानमा रहेको काभ्रा स्वास्थ्य चौकी मा सञ्चालन गरिएको शिविरबाट वडा नं. १ र २ का २५० भन्दा बढी स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा सहभागी त्रिवेणी गाउँपालिका १ घोडामारेका ६३ वर्षीय युद्धबहादुर डाँगीले घर नजिकै निःशुल्क विशेषज्ञ सेवा पाउँदा खुसी लागेको बताए । पहिले यस्तै सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको र न्यून वर्गका नागरिकलाई झन् सास्ती हुने गरेको भन्दै उनले शिविरले सहज बनाएको बताए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
‘पहिले यहीँ सेवा लिनका लागि टाढा जानुपर्थ्यो। न्यून वर्गका नागरिकलाई झन समस्या हुन्थ्यो। अहिले घर नजिकै यस्तो शिविर आउँदा हामीलाई निकै सहज बनाएको छ’, उनले भने, ‘सबै निःशुल्क पायौं, अब यसलाई निरन्तरता दिए सहज हुन्थ्यो ।’
त्यस्तै, त्रिवेणी गाउँपालिका १ काभ्राकी देवी थापाले शिविरले आर्थिक भार कम गराएको बताउँदै घर नजिकै सञ्चालन भएको विशेषज्ञ शिविरले सबै नागरिकलाई सहज बनाएको बताइन् ।
‘महँगो भाडा तिरेर उपचार गर्न जानुपर्ने समस्या थियो। शिविरले निकै सहज बनायो। निःशुल्क चेकजाँचसँगै औषधि पनि निःशुल्क पायौं’, उनले भनिन्, ‘हाम्रो यस क्षेत्रका नागरिकहरुलाई निकै सहज बनायो ।’
शिविरमा डाक्टर पप्पु कुमार यादव ले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। शिविरमा सुगर, प्रेसर, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स, टाइफाइड, टाउको दुखाइ, निमोनिया, रुघाखोकी, ज्वरो, नाक, कान, घाँटी, हातखुट्टा दुख्ने तथा निन्द्रा नलाग्ने लगायतका समस्याको परामर्श तथा औषधि वितरण गरिएको थियो। साथै ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
सल्यानी समाज दक्षिण कोरियाले विगतमा विद्यालयहरूमा पोशाक वितरण तथा गम्भीर रोगले ग्रसित आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूको ज्यान बचाउने अभियान सञ्चालन गर्दै आएको अध्यक्ष टर सिङ पुनले बताए। उनका अनुसार स्वास्थ्य शिविर वार्षिक कार्यक्रमअन्तर्गत राखिएको हो। पहिलो चरणमा त्रिवेणीबाट सुरु गरिएको र आगामी दिनमा जिल्लाका अन्य क्षेत्रमा पनि सञ्चालन गरिने उनको भनाइ छ।
‘हामीले विगतदेखि नै विद्यालयमा पोशाक वितरण, गम्भीर रोग लागेका आर्थिक अवस्था कमजोर भएकाहरूको ज्यान बचाउने अभियान सञ्चालन गर्दै आएका छौं। सोही अभियानअन्तर्गत स्वास्थ्य शिविर पनि सुरु गरेका हौं’, उनले भने, ‘यसलाई जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन गर्ने योजनामा छौं ।’
प्रतिक्रिया 4