९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गरेका छन् । शनिबार संस्थापन इतर समूहले पोखरामा गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सर्वोच्चले कांग्रेस फुटाएको टिप्पणी गर्दै अब पार्टी एकता गरेर जानु अपरिहार्य रहेको बताएका हुन् ।
‘गगन थापाजीको ग्रुप थिएन, तैपनि फुट्यो । यो आश्चर्यजनक कुरा हो । किन फुट्यो भन्दाखेरी यो सर्वोच्च अदालतले फुटायो,’ नेता कोइरालाले भने । यसलाई अर्कै दृष्टिकोणबाट हेरिनुपर्ने उनले बताए ।
‘म बीपी कोइरालाको पुत्र, बीपी कोइरालाले बनाएको पार्टी, कत्रो पीडा होला म मा,’ उनले भने, ‘यो यस्तो राम्रो, यत्रो सुन्दर पार्टी, यत्रो राम्रो विचार भएको, आज विभाजन भयो र चुनावमा हामीले परिणाम पनि भोग्यौं ।’
अब पार्टीलाई कसरी एक गर्ने भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । ‘धेरैजसो व्यक्तिले भने, तर स्पष्टताका साथ भनेनन् । कि हामीले वार्ता गर्नुपर्ने गगन जीसँग । त्यो पनि एउटा बाटो हो,’ उनले भने ।
कसैले १५ औं महाधिवेशन एकताको गर्ने प्रस्ताव गरेको पनि उनले बताए । उनले अगाडि भने, ‘हो, १५ औं महाधिवेशन गर्ने हो भने पहिले एउटा न्युट्रल समिति गठन गर्नुपर्यो ।’
त्यसका लागि दुई वटै पक्षको मुख्य मान्छे राखेर १५ औं महाधिवेशन गर्ने अर्को बाटो रहेको उनले बताए । यस्ता बाटा रहेपनि कुन बाटो उपयुक्त हो त्यो सोच्नुपर्ने बेला रहेको उनले बताए ।
‘पार्टी एकता गर्न के गर्नुपर्छ राय सुझाव आओस्, म त्यसमा सहभागी हुन चाहन्छु । मलाई केही चाहिन्न हेर्नुस् । पार्टी एक गर्नुपर्छ,’ नेता कोइरालाले भने ।
प्रतिक्रिया 4