+
+
Shares

पार्टीको वृहत एकताका पक्षमा उभिन डा. शशांक कोइरालाको अपिल

‘मूल घर तहसनहस पारेर गरिने रूपान्तरणको अर्थ रहन्न’

‘कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्का ज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १६:२५

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टीको वृहत एकताका पक्षमा उभिन सम्पूर्ण नेताकार्यकर्तामा आह्वान गरेका छन् । पार्टीभित्रको विवादलाई लिएर बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले मूल घरलाई तहसनहस पारेर परिवारका सदस्यबीच वैमनश्यता बढाइ गरिएको रूपान्तरणको अर्थसमेत नरहेको बताएका छन् ।

नेता कोइरालाले कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताउँदै विज्ञप्तिमा लेखेका छन्, ‘लोकतन्त्रको जीवन्त अभ्यास गर्दै आएको ऐतिहासिक पार्टीको महत्व लोकतन्त्र र राष्ट्रियता दुवैका लागि हिजो थियो, आज छ र भोली पनि रहिरहनेछ ।’

इतिहासका कालखण्डमा अनेक आरोह–अवरोह बेहोर्दै आएको पार्टी यतिबेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको उनले बताएका छन् । ‘यस्तो बेलामा उत्पन्न आन्तरिक विवादले पार्टीमात्रै होइन सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढाएको छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘तसर्थ, यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य छ ।’

जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभिन्नता हुनु स्वभाविक मानिने बताउँदै उनले पटकपटक भएका आन्दोलन र विद्रोहपछि समयानुकुल रूपमा पार्टीका गतिविधि रूपान्तरित हुनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यद्यपी मूल घर नै तहसनहसको अवस्थामा पुग्दासमेत परिवारका सदस्यहरूबीच वैमनश्यता कायम राखेर रुपान्तरणको कुनै अर्थ हुँदैन ।’ पछिल्लो समय कांग्रेसमा रूपान्तरणको जरुरी रहेपनि ‘त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुग्यो हामी सबै जानकार छौं’ भन्दै उनले प्रश्न उठाएका छन् ।

‘कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्का ज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ,’ उनले भनेका छन् ।

अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्राय: रहेको उनले दाबी गरेका छन् । ‘तसर्थ यो बेला पार्टीमा बृहत एकता कायम गर्न, गराउन अत्यावश्यक भएको छ । त्यसका लागि म प्रयत्नशील छु,’ उनले भनेका छन् ।

यस्तै नेता कोइरालाले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको अर्थ नरहेको पनि उल्लेख गरेका छन् । क्रियाशील सदस्यतामा अद्यावधिकको नाममा हुने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुने देखिएको उनको दाबी छ ।

‘अझै पनि नेपाली काग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित भएको छैन भन्ने कुरामा म विश्वस्त छु र आम कांग्रेसजनलाई त्यो अनुभूत गराउँदै पार्टीको बृहत एकताका पक्षमा उभिन सबैलाई अपील गर्दछु,’ कोइरालाको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?