News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको साँगुरीगढी गाउँपालिकामा वर्षायाम सुरु भएसँगै पहिरोको उच्च जोखिमका कारण एक सय बीस परिवार प्रभावित भएका छन् ।
- गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।
- भूगोलविद्को अध्ययन र प्राविधिकको प्रतिवेदनअनुसार अव्यवस्थित सडक निर्माण र कमजोर भूबनोटका कारण उक्त क्षेत्रमा पहिरोको समस्या जटिल बन्दै गएको छ ।
१ भदौ, धनकुटा । वर्षा यामसँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको त्रासका कारण यस क्षेत्रका एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् ।
साँगुरीगढी गाउँपालिका-७ स्थित डढुवा गाउँ पहिरोको जोखिमको एउटा उदाहरण हो । करिब २७ परिवारको बसोबास रहेको यो गाउँको दुवैतर्फ पहिरो गएको छ । स्थानीयका अनुसार पूर्वतर्फको पहिरो २०५६ सालदेखि सुरु भएको हो । पहिरो बढ्दै गएपछि यसअघि नै ७ परिवार गाउँबाट विस्थापित भइसकेका छन् । पछिल्लो समय पूर्वतर्फको पहिरो केही नियन्त्रणमा आए पनि गाउँलेको जोखिम भने हटेको छैन ।
यस्तै २०७५ सालदेखि गाउँको पश्चिमतर्फ अर्को पहिरो सुरु भएपछि स्थानीयको चिन्ता थपिएको छ । पश्चिमतर्फको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही परिवार जुनसुकै बेला घर छाड्नुपर्ने अवस्थामा पुगेका छन् ।
भिरालो जमिन, गाउँको दुवैतर्फ रहेका खोल्सा तथा खोलाले जमिन कटान गर्दै लगेपछि पहिरो फैलिँदै गएको स्थानीय जिते राईले बताए ।
वर्षाको समयमा पानीको बहाव बढ्दा पहिरो अझ सक्रिय हुने भएकाले हरेक वर्ष वर्षायामलाई त्रासका रुपमा सामना गर्दै आएको राईको भनाइ छ । राईका अनुसार सुख्खा पहिरोको पनि जोखिम उस्तै रहेको छ । वर्षा नहुँदा पनि पहिरो गइरहने समस्या रहेको छ ।
डढुवा गाउँको अवस्था साँगुरीगढीका अन्य बस्तीको भन्दा फरक छैन । १० वटा वडा रहेको गाउँपालिकाका धेरै स्थान पहिरोको जोखिममा छन् ।
गाउँपालिकाका प्राविधिक दिपक राईका अनुसार तुलनात्मक रुपमा वडा नं. १, ५, ६, ७ र ८ मा पहिरोको समस्या बढी देखिएको छ ।
गाउँपालिकाले संकलन गरेको विवरण अनुसार अहिले गाउँपालिकाभरि करिब १ सय २० परिवार पहिरोको जोखिममा रहेका छन् । जसमा एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेका छन् ।
पहिरोले घर जोखिममा परेपछि विस्थापित भएका परिवारका लागि नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु चुनौतीपूर्ण छ । खेतीपातीमा निर्भर परिवारका लागि घरसँगै खेतबारीसमेत छाड्नुपर्ने अवस्था आउँदा उनीहरुको जीविकोपार्जनमा समेत असर पुग्ने गरेको छ ।
गाउँपालिकाले अति जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । तर भौगोलिक विकटता, सीमित स्रोतसाधन र उपयुक्त सुरक्षित स्थानको अभावका कारण जोखिममा रहेका सबै परिवारलाई तत्काल स्थानान्तरण गर्न सहज नभएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
पहिरोको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको अध्यक्ष राईको भनाइ छ । पहिरो तथा भूक्षय रोक्न जोखिमयुक्त क्षेत्रमा वृक्षरोपण गर्ने, पर्खाल लगाउने लगायतका काम भइरहेको गाउँपालिकाको भनाइ छ ।
गाउँपालिका अध्यक्ष राईका अनुसार जोखिमको वास्तविक अवस्था पहिचान गर्न भूगोलविद्सहितको टोलीमार्फत प्रभावित क्षेत्रको अध्ययन गराइएको छ । अध्ययनबाट प्राप्त विवरणका आधारमा जोखिम न्यूनीकरण र प्रभावित परिवारको सुरक्षाका लागि आवश्यक योजना बनाउने प्रयास भइरहेको छ ।
त्यसैगरी, पहिरोबाट अति प्रभावित परिवारलाई स्थानान्तरण गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । तर, प्रदेश संघीय सरकारको बेवास्ताका कारण ढिलाइ भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
कमजोर भूगोल र अव्यवस्थित सडक
साँगुरीगढीमा पहिरोको समस्या प्राकृतिक तथा मानवीय दुवै कारणसँग जोडिएको छ । कच्चा पहाड, भिरालो जमिन तथा खोलानालाको कटानका कारण यहाँको जमिन पहिरोको जोखिममा परेको हो । यस्तै पछिल्लो समय जथाभावी खनिएका सडकले पनि जोखिम थप बढाएको प्राविधिक राईको भनाइ छ ।
सडक निर्माणका क्रममा पहाड काट्दा जमिनको प्राकृतिक सन्तुलन बिग्रिने र वर्षाको पानीको निकास व्यवस्थित नहुँदा सडक आसपासका क्षेत्रमा भूक्षय तथा पहिरो जाने गरेको प्राविधिक राईले बताए ।
धनकुटाको दक्षिणी क्षेत्रमा पर्ने साँगुरीगढी गाउँपालिका महाभारत पर्वत शृंखलाको क्षेत्रमा अवस्थित रहेको छ ।
यहाँको भूबनोट जिल्लाका माथिल्ला पहाडी क्षेत्रको तुलनामा कमजोर रहेको प्राविधिक राईले बताए । प्राकृतिक रूपमा कमजोर भूभागमा अव्यवस्थित सडक निर्माण र पानीको उचित व्यवस्थापन नहुँदा पहिरोको समस्या थप जटिल बन्दै गएको प्राविधिक राई बताउँछन् ।

प्रतिक्रिया 4