+
+
Shares

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब कुनै साथ, सहयोग र सल्लाह नदिने र 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् ।
  • पाँचथरमा बोल्दै उनले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाउँदै राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए ।
  • आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै सामुदायिक क्याम्पसलाई आंगिकमा रूपान्तरण र उच्च शिक्षामा राज्यको लगानी बढाउनुपर्ने बताएका छन् ।

३० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् ।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमूखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको भन्दै उनले राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए ।

‘यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ । तर, न्यायलयमाथि हस्तक्षेप बढायो, प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो । यो गलत छ,’ उनले भने, ‘अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ ।’

आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरे । यसैगरी, उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने उनको भनाइ छ ।

उच्च शिक्षाका लागि पहाडी जिल्लाबाट विद्यार्थी सहरतर्फ जाने क्रम बढ्दा गाउँ रित्तिँदै गएको भन्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?