+
+
Shares

बलिउडमा धम्कीको सिलसिला रोकिएन, अब सैफ अली खानलाई ज्यान मार्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
  • धम्कीमा बाबा सिद्दीकी हत्याकाण्डका फरार अभियुक्त जीशान अख्तरको नाम जोडिएको छ, तर त्यसको पुष्टि भएको छैन।
  • बलिउड कलाकारलाई निरन्तर धम्की आउन थालेपछि मुम्बईमा उनीहरूको सुरक्षाबारे प्रश्न उठेको छ।

बलिउडमा फिल्मी कलाकारलाई ज्यान मार्ने धम्की दिने सिलसिला अझै रोकिएको छैन ।

एकपछि अर्को कलाकारलाई निशाना बनाउँदै धम्की दिइरहेका बेला अब अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ ।

यसपटक धम्कीमा बाबा सिद्दीकी हत्याकाण्डका फरार अभियुक्त जीशान अख्तरको नाम जोडिएको छ ।

लगातार कलाकारहरूलाई धम्की आउन थालेपछि मुम्बईमा उनीहरूको सुरक्षा व्यवस्थालाई लिएर समेत प्रश्न उठ्न थालेको छ ।

यद्यपि, धम्की वास्तवमै जीशानले दिएको हो वा कसैले उनको नाम प्रयोग गरेर त्रास फैलाउन खोजेको हो भन्ने पुष्टि हुन बाँकी छ ।

प्रहरीका अनुसार घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको छ । धम्की पठाउन प्रयोग भएका डिजिटल माध्यम र अन्य प्रमाणको समेत परीक्षण भइरहेको छ ।

अहिलेसम्म सैफ अली खानले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

जीशान अख्तरको नाम जोडिनुको कारण सन् २०२४ अक्टोबर १२ मा भएको बाबा सिद्दीकी हत्याकाण्ड हो । महाराष्ट्रका पूर्वमन्त्री तथा नेता बाबा सिद्दीकीको गोली हानी हत्या गरिएको उक्त घटनामा जीशानको नाम जोडिएको थियो ।

उनको सम्बन्ध लरेन्स बिश्नोई समूहसँग रहेको बताइँदै आएको छ ।

मिडिया रिपोर्टका अनुसार पेशाले आईटी इन्जिनियर रहेका मिश्राले आफू लरेन्स बिश्नोई समूहसँग आबद्ध रहेको दाबी गर्दै कलाकारलाई धम्क्याउने र फिरौती माग्ने प्रयास गरेका थिए ।

उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर नक्कली आवाज तयार पारेको प्रहरीको आशंका थियो ।

इन्टरनेटबाट कलाकारका फोन नम्बर संकलन गरी धम्कीपूर्ण सन्देश पठाएको पनि बताइएको थियो । तर, प्रारम्भिक अनुसन्धानमा उनी कुनै आपराधिक समूहसँग आबद्ध रहेको ठोस प्रमाण फेला परेको थिएन ।

यसअघि अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार भएको थियो । फुटबल खेलेर फर्किने क्रममा भएको उक्त घटनामा उनी सुरक्षित रहेका थिए । सो घटनाको जिम्मेवारी बिश्नोई समूहले लिएको दाबी गरिएको थियो ।

त्यस्तै, अभिनेता अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरले समेत धम्की पाएको खबर सार्वजनिक भइसकेको छ । हालै यी कलाकारलाई धम्की दिइएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले बेंगलुरुबाट ३० वर्षीय वैभव मिश्रालाई पक्राउ गरेको थियो ।

यसअघि अभिनेता तुषार कपुरलाई पठाइएको एउटा अडियो सन्देशमा पाँच करोड रुपैयाँ फिरौती मागिएको खबरसमेत सार्वजनिक भएको थियो ।

एकपछि अर्को गर्दै बलिउड कलाकारलाई धम्की आउन थालेपछि मुम्बईमा उनीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ । सैफ अली खानलाई आएको पछिल्लो धम्कीको वास्तविकता भने प्रहरी अनुसन्धानपछि मात्रै खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?