+

पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?

२०८३ मंसिर  ४ गते १०:४९ २०८३ मंसिर ४ गते १०:४९
पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसीबीआईमा प्रकाशित अनुसन्धानअनुसार बाहिरबाट दुब्लो देखिए पनि शरीरमा बोसो बढी र मांसपेशी कम हुने अवस्थालाई थिन फ्याट ओबिसिटी भनिन्छ।
  • यो अवस्थाले पेट र भित्री अंग वरिपरि बोसो बढाएर रगतमा चिनी, कोलेस्टेरोल र रक्तचाप बढाउने तथा मधुमेहको जोखिम बढाउँछ ।

अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ ।  समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ।
यी समस्याको एउटा मुख्य कारकमध्ये  एक मोटोपन हो ।

मोटोपनको कुरा गर्दा सामान्यतया हाम्रो दिमागमा बढी तौल भएका वा शरीरमा धेरै बोसो देखिने व्यक्तिको तस्वीर आउँछ । तर भद्धा शरीर देखिनु मात्रै मोटोपन होइन भन्ने कुरा बुझ्न जरुरी छ ।

केही मानिस यस्ता पनि हुन्छन्, जो हेर्दा दुब्ला–पातला देखिन्छन् र उनीहरूको तौल पनि सामान्य हुन्छ । तर पनि शरीरमा बोसोको मात्रा भने बढी हुन सक्छ। यस्ता व्यक्तिलाई टाइप–२ मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिमसमेत हुन सक्छ ।

चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई ‘थिन फ्याट ओबिसिटी’ भनिन्छ। यस अवस्थामा व्यक्तिको बडी मास इन्डेक्स (बीएमआई) सामान्य देखिए पनि शरीरमा बोसोको मात्रा बढी र मांसपेशीको मात्रा कम हुन्छ । विशेषगरी पेट र शरीरका भित्री अंग वरिपरि जम्मा हुने बोसोले मेटाबोलिक स्वास्थ्यमा असर पार्न सक्छ।

नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) मा प्रकाशित अनुसन्धानले थिन फ्याट ओबिसिटीबारे के बताएको छ ?

के हो थिन फ्याट ओबेसिटी ?

थिन फ्याट ओबेसिटी यस्तो अवस्था हो, जसमा व्यक्ति बाहिरबाट दुब्लो देखिए पनि उसको शरीरमा बोसोको मात्रा बढी हुन्छ । त्यस्तै, मांसपेशीको विकास कम भएको हुन्छ । पेट र शरीरका भित्री अंग वरिपरि जम्मा हुने बोसोले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ।

नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) मा प्रकाशित अनुसन्धानअनुसार थिन फ्याट ओबिसिटी भएका व्यक्तिको बडी मास इन्डेक्स सामान्य हुन्छ, तर शरीरमा बोसोको मात्रा बढी हुन्छ । यस्तो अवस्थाले विभिन्न रोगको जोखिम बढाउनुका साथै मधुमेहजस्ता समस्या निम्त्याउन सक्छ।

दुब्ला–पातला मानिसलाई किन हुन्छ मधुमेहको जोखिम ?

धेरैलाई लाग्न सक्छ, आफ्नो तौल कम छ वा पेट बाहिर निस्किएको छैन भने मधुमेह हुने सम्भावना हुँदैन । तर वास्तविकता त्यस्तो होइन । किनभने शरीरमा बोसो कति धेरै छ भन्ने कुराले मात्रै होइन बोसो कुन ठाउँमा जम्मा भएको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।

यदि शरीरका भित्री अंग वरिपरि बोसो जम्मा भएको छ भने त्यसले मेटाबोलिक स्वास्थ्यमा असर पार्न सक्छ । यसका कारण रगतमा चिनीको मात्रा बढ्ने र मधुमेह हुने जोखिमसमेत बढ्न सक्छ।

थिन फ्याट ओबिसिटीका सुरुवाती लक्षण

आजकल धेरै मानिसको काम लामो समय एकै ठाउँ बसेर गर्नुपर्ने हुन्छ । कार्यालयमा घण्टौँसम्म बस्ने, कम हिँडडुल गर्ने र व्यायाम नगर्ने बानीले मांसपेशी कमजोर बनाउन सक्छ।

त्यस्तै, धेरै चिनी, मैदाबाट बनेका परिकार, तारेका तथा भुटेका खानेकुरा र प्रशोधित खाद्यपदार्थको सेवनले मेटाबोलिक स्वास्थ्यमा असर पार्न सक्छ । खानामा प्रोटिन र फाइबरको कमी हुँदा पनि शरीरको संरचना तथा मांसपेशीको विकास प्रभावित हुन सक्छ।

केही व्यक्तिको शरीरमा बोसो जम्मा हुने तरिका अरूको भन्दा फरक हुन सक्छ । यस्तो अवस्थामा तौल सामान्य भए पनि पेट र कम्मर वरिपरि बोसो बढी जम्मा भएको हुन सक्छ ।

पर्याप्त प्रोटिन नलिने र मांसपेशी बलियो बनाउने व्यायाम नगर्ने व्यक्तिको मांसपेशीको विकास प्रभावित हुन सक्छ । त्यस्तै, लगातार कम सुत्ने र तनावमा रहने बानीले भोक, हर्मोन र मेटाबोलिज्ममा असर पार्न सक्छ । यसले खानपानको बानीमा समेत परिवर्तन ल्याउन सक्छ।

थिन फ्याट ओबिसिटी भएको कसरी थाहा पाउने ?

थिन फ्याट ओबेसिटी छ कि छैन भनेर बाहिरबाट हेरेर मात्र थाहा पाउन सकिँदैन । कतिपय अवस्थामा व्यक्तिको तौल सामान्य हुन्छ र कुनै विशेष स्वास्थ्य समस्या पनि महसुस भएको हुँदैन। त्यसैले तौल र बीएमआईका आधारमा मात्र स्वास्थ्यको अवस्था मूल्याङ्कन गर्नु सही हुँदैन।

यसका सम्भावित संकेतहरू यस्ता हुन सक्छन् :

-पेट वरिपरि बोसो जम्मा हुनु।

-हातखुट्टा दुब्लो हुनु।

-कम्मर वरिपरि चिल्लो पदार्थ बढी हुनु।

-मांसपेशीको शक्ति कम हुनु।

-रगतमा चिनी र कोलेस्टेरोलको मात्रा बढ्नु।

-रक्तचाप उच्च हुनु।

थिन फ्याट ओबेसिटी पहिचान गर्न के परीक्षण गर्ने ?

-बडी मास इन्डेक्स (बीएमआई) नाप्ने

-कम्मरको घेराइ नाप्ने

–खाली पेटमा रगतमा चिनीको मात्रा परीक्षण गर्ने

–एचबीए१सी परीक्षण गर्ने ।

–शरीरमा बोसोको मात्रा विश्लेषण गर्ने परीक्षण

यी परीक्षण व्यक्तिको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार चिकित्सकले सिफारिस गर्छन् । सम्बन्धित प्रयोगशालामा गएर यी परीक्षण गराउन सकिन्छ।

थिन फ्याट ओबेसिटीबाट बच्न के गर्ने ?

तपाईं दुब्लो–पातलो हुनुहुन्छ भन्दैमा स्वस्थ रहनका लागि केही गर्नुपर्दैन भन्ने होइन । शरीरमा मांसपेशीलाई बलियो राख्नु र बोसोको मात्रा सन्तुलित बनाउनु उत्तिकै आवश्यक हुन्छ।

१. खानामा प्रोटिनको मात्रा बढाउने

२. मांसपेशी बलियो बनाउने व्यायाम गर्ने

३. लामो समयसम्म एउटै ठाउँमा नबस्ने

४. खानामा फाइबर समावेश गर्ने

५. पर्याप्त पानी पिउने

६. चिनी र अस्वस्थकर चिल्लो कम खाने

थिन फ्याट ओबिसिटी मोटोपन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय