+

जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

२०८३ मंसिर  २ गते ११:४४ २०८३ मंसिर २ गते ११:४४

वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।

Shares
जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा स्क्रब टाइफस पछिल्ला वर्षहरूमा जनस्वास्थ्य चुनौती बन्दै गएको छ र आर्थिक वर्ष २०७९/८० को ९ हजार २४३ बाट २०८१/८२ मा २५ हजार ४९४ पुगेको छ।

नेपालमा स्क्रब टाइफस पछिल्ला वर्षहरूमा जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा देखापर्दै गएको छ । विशेषगरी वर्षायाम र वर्षापछिको समयमा ज्वरोका बिरामी बढ्दै जाँदा स्क्रब टाइफसको जोखिम पनि उच्च हुने गरेको छ।

समयमै पहिचान र उपचार हुन नसके यसले गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ ।

स्क्रब टाइफस के हो ?

यो ओरिएन्टिया ‘सुत्सुगामुशी’ ब्याक्टेरियाबाट हुने रोग हो । संक्रमित लार्भा अवस्थाको माइटले मानिसलाई टोकेपछि यो सर्छ । यो नाङ्गो आँखाले देख्न नसकिने सानो हुन्छ, माइटहरू मुसा वा मुसा प्रजातिका जनावरमा बस्छन् । यो रोग मानिसबाट मानिसमा सर्दैन । खेतबारी, झाडी, र ओसिलो झारपातयुक्त ठाउँमा जोखिम बढी हुन्छ, त्यसैले खेतबारीमा काम गर्ने किसान, घाँस-दाउरा गर्ने, पशुपालक र वन क्षेत्रमा काम गर्ने मानिस बढी जोखिममा हुन्छन् ।

टोकेको सामान्यतया १ देखि ३ हप्तामा ज्वरो, टाउको दुख्ने र मांसपेशी दुख्ने, थकान, खोकी देखिन सक्छन् । टोकेको स्थानमा कालो पाप्रो सहितको घाउ देखिन सक्छ । यद्यपि, सबै संक्रमित व्यक्तिमा यस्ता लक्षण देखिँदैन । त्यसैले लक्षण नदेखिँदैमा स्क्रब टाइफसको संक्रमण छैन भन्न मिल्दैन ।

प्रायः काखी, जाँघ वा घाँटीजस्ता ठाउँमा हुन्छ । उपचार नभए निमोनिया, मिर्गौलासम्बन्धी समस्या, इन्सेफलाइटिस, मुटुसम्बन्धी जटिलता र बहुअङ्ग विफलता हुन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार उपचार नगरिएको स्क्रब टाइफसको मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्छ । केही अध्ययनमा यसको मृत्युदर ६ प्रतिशतदेखि ३५ प्रतिशतसम्म रहेको उल्लेख छ ।

नेपालको पछिल्लो तथ्यांक

स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदनअनुसार रिपोर्ट गरिएका बिरामी आर्थिक वर्ष २०७९/८० मा ९ हजार २४३, २०८०/८१ मा १६ हजार ५९७ र २०८१/८२ मा २५ हजार ४९४ पुगे, अर्थात् दुई वर्षमा करिब २.८ गुणा बढ्यो।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)को ३ नोभेम्बर २०२६ को विवरणअनुसार अनुसार, चालु वर्ष २०२६ को जनवरी १ देखि नोभेम्बर १ सम्म ७५ जिल्लामा १२ हजार २०७ जना स्क्रब टाइफसका बिरामी पत्ता लागेका छन् ।

प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा बढी ३ हजार ४७२ (२८.४ प्रतिशत), गण्डकीमा २,३१५ (१९.० प्रतिशत) र सुदूरपश्चिममा २,२६९ (१८.६ प्रतिशत) बिरामी छन् । जनसङ्ख्याको अनुपातमा भने गण्डकीमा प्रतिलाख ९५.९ को दरले सबैभन्दा उच्च सङ्क्रमण दर देखिएको छ । जिल्लातर्फ दाङ (७०३), स्याङ्जा (६४८) र सल्यान (५७५) शीर्ष स्थानमा छन् ।

एकीकृत नियन्त्रणमा चुनौती

स्क्रब टाइफसको निदानमा प्रमुख चुनौती यसको लक्षण अन्य सङ्क्रामक रोगहरू, जस्तै डेंगी, मलेरिया, टाइफाइड तथा लेप्टोस्पाइरोसिससँग मिल्दोजुल्दो हुनु हो । यसका अतिरिक्त, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको सीमित पहुँच, प्रयोगशाला परीक्षणको अभाव, रोगबारे पर्याप्त जनचेतना नहुनु पनि अर्को चुनौती हो ।

यस्तो अवस्थामा प्रारम्भिक लक्षण देखिए पनि स्वास्थ्य संस्थामा समयमै नपुग्ने प्रवृत्ति हुन्छ । यसले रोग पहिचान तथा उपचारमा थप कठिनाइ सिर्जना गर्छ । विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा खेतबारी र वनजङ्गलमा काम गर्ने व्यक्तिहरूमा रोगको जोखिमबारे पर्याप्त जानकारी नहुँदा समयमै परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने दर कम हुने गरेको छ ।

यसका साथै, स्क्रब टाइफसको जोखिम मानव स्वास्थ्यसँगै वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।

स्वास्थ्य प्रणालीको प्राथमिकता

स्क्रब टाइफसको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्रदेश सरकार तथा स्थानीय तहको सहकार्य र सहभागितामा विभिन्न प्रयासहरू भइरहेका छन् । तथापि, रोगको जोखिम न्यूनीकरण, समयमै पहिचान र उपचारको पहुँच विस्तार गर्न स्वास्थ्य प्रणालीले निम्न विषयलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

१. रोग निगरानी, प्रयोगशाला परीक्षण तथा अनुसन्धान सुदृढीकरण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा , प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जिल्लास्थित स्वास्थ्य कार्यालय तथा स्थानीय तहबीच समन्वय गरी रोगको नियमित निगरानी, प्रयोगशाला परीक्षण, बिरामीको भौगोलिक तथा समयगत विश्लेषण र जोखिम क्षेत्रको पहिचान गर्ने । सम्भावित प्रकोप वा बिरामीको समूहगत सङ्क्रमण देखिएका क्षेत्रमा तत्काल स्थलगत अनुसन्धान तथा आवश्यक प्रतिकार्य सञ्चालन गर्ने ।

२. निदान तथा उपचार सेवाको पहुँच विस्तार

ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक परीक्षण सुविधा, औषधि, दक्ष जनशक्ति तथा गम्भीर बिरामीका लागि प्रभावकारी प्रेषण सेवाको व्यवस्था सुनिश्चित गर्ने ।

३. स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि

स्क्रब टाइफसको शङ्का, पहिचान, परीक्षण, उपचार तथा जटिल अवस्थाको व्यवस्थापनसम्बन्धी स्वास्थ्यकर्मीलाई नियमित तालिम तथा अभिमुखीकरण प्रदान गर्ने ।

४. समुदायस्तरमा जनचेतना अभिवृद्धि

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा कृषि, पशुपालन र वनजङ्गलमा काम गर्ने समुदायलाई माइटको टोकाइबाट बच्ने उपाय, व्यक्तिगत सुरक्षा र रोगका लक्षणबारे जानकारी दिने । ज्वरो आएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउने व्यवहार प्रवर्द्धन गर्ने ।

५. एक स्वास्थ्य रणनीति अवलम्बन तथा बहुक्षेत्रीय समन्वय

स्क्रब टाइफसको जोखिम मानव स्वास्थ्यसँगै वातावरणीय अवस्था, वनस्पति, मुसाजस्ता प्राणी तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले एक स्वास्थ्य रणनीतिअनुरूप मानव स्वास्थ्य, वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई सुदृढ गर्ने ।

६.नीति, कार्यक्रम तथा स्रोत व्यवस्थापन

सङ्घ, प्रदेश र स्थानीय तहका वार्षिक स्वास्थ्य कार्यक्रमहरूमा स्क्रब टाइफसको रोकथाम, निगरानी, निदान तथा उपचारलाई प्राथमिकताका साथ समावेश गरी आवश्यक बजेट, जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्ने ।

यससँगै आम नागरिक स्वयं स्क्रब टाइफसको जोखिमप्रति अत्यन्तै सचेत र सावधान हुन आवश्यक छ । विशेषगरी खेतबारी, झाडी तथा वनजङ्गलमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा र जुत्ता लगाउने, झारपात तथा झाडीमा अनावश्यक बस्न वा सुत्नबाट बच्ने र घरवरपरको वातावरण सफा राख्ने कुरामा ध्यान दिनुपर्छ ।

काम सकेपछि शरीरमा माइट टाँसिएको हुन सक्ने भएकाले नुहाउने र शरीर तथा कपडाको सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ । विशेषगरी ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने वा टोकेको स्थानमा कालो पाप्रोसहितको घाउ देखिने लक्षणलाई बेवास्ता नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।

अन्ततः स्क्रब टाइफस नियन्त्रण सरकार र स्वास्थ्य प्रणालीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको सचेतना, व्यक्तिगत सुरक्षा, सामुदायिक सहभागिता तथा एक स्वास्थ्य रणनीति अनुरूपको बहुक्षेत्रीय समन्वय र सहकार्यसँग जोडिएको साझा जनस्वास्थ्य दायित्व हो ।

स्क्रब टाइफस
विकेश मल्ल
लेखक
विकेश मल्ल
जनस्वास्थ्यकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण

महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

कम्मर दुख्ने समस्या छ ? घरमै गर्नुहोस् यी ५ व्यायाम

कम्मर दुख्ने समस्या छ ? घरमै गर्नुहोस् यी ५ व्यायाम