+
+
Shares

बिहे नगरी पिता बनेका तुषार, भन्छन्, ‘छोराको आगमनपछि बदलियो सबैथोक’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता तुषार कपुरले सन् २०१६ मा सरोगेसी र आईभीएफमार्फत छोरा लक्ष्यका पिता बनेर एक्लै हुर्काउँदै आएका छन् ।
  • विवाह नगरी पिता बन्ने निर्णय समाजको दबाबमा होइन, व्यक्तिगत चाहनाअनुसार गरेको उनले विभिन्न अन्तर्वार्तामा बताएका छन् ।
  • तुषारले छोराको हेरचाहलाई जीवनको सबैभन्दा ठूलो प्राथमिकता मान्दै सन् २०२२ मा ‘ब्याचलर ड्याड’ पुस्तक पनि प्रकाशित गरेका छन् ।

काठमाडौं । बलिउड अभिनेता तुषार कपुर आज आफ्नो ५०औँ जन्मदिन मनाउँदैछन् । अभिनेता जितेन्द्र र शोभा कपुरका छोरा तुषारलाई धेरैले ‘गोलमाल’ सिरिजका कलाकारका रूपमा चिन्छन् ।

तर उनको परिचय अभिनयमा मात्र सीमित छैन । विवाह नगरी सरोगेसीमार्फत पिता बनेका उनले एक्लै छोराको जिम्मेवारी सम्हाल्ने निर्णय गरेर पनि धेरैको ध्यान खिचेका थिए ।

तुषारको जीवनमा सन् २०१६ मा एउटा ठूलो परिवर्तन आयो । उनी सरोगेसी र इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामार्फत छोरा लक्ष्यका पिता बने ।

त्यतिबेला उनी ३९ वर्षका थिए । विवाह नगरी पिता बन्ने उनको निर्णयले बलिउडदेखि सामाजिक वृत्तसम्म चर्चा पाएको थियो ।

घरमा सहयोगी हुँदाहुँदै छोराको सबै काम आफैँ

तुषारको घरमा छोराको हेरचाह गर्ने सहयोगी थिएनन् भन्ने होइन । तर लक्ष्यको स्याहारमा उनी अरूको भर पर्न चाहँदैनथे ।

छोराका लागि कपडा छान्नेदेखि न्याप्पी फेर्ने, नुहाइदिने र दूध खुवाएपछि डकार गराउनेसम्मका काम उनले आफैँ गरे ।

सन् २०१७ मा ‘हिन्दुस्तान टाइम्स’सँगको कुराकानीमा उनले आफूले आमाले गर्ने भनिएका धेरै जिम्मेवारी पनि सहजै सम्हाल्न सिकेको बताएका थिए ।

छोराको रातिको बानीबारे पनि उनले रमाइलो कुरा सुनाएका थिए । लक्ष्य राति अनावश्यक रूपमा नरोई भोक लागेका बेला मात्र उठ्ने गर्थे ।

दूध खाएपछि फेरि सुत्थे । यसले आफूलाई केही सहज भएको तुषारको भनाइ थियो ।

लक्ष्य जन्मिएपछि तुषारको दैनिकी नै बदलियो । पहिले जस्तो रातिसम्म बाहिर बस्ने र ढिलो घर फर्किने बानी उनले छाडे ।

छोरासँग पर्याप्त समय बिताउन उनले आफ्नो काम र व्यक्तिगत समयसमेत मिलाउन थाले ।

छोरा सुत्नुअघि घर पुग्ने र बिहान उठेपछि पनि उसैसँग समय बिताउने उनको प्रयास हुन्थ्यो । छोराको हेरचाहका लागि उनले राति अबेरसम्म बाहिर जाने बानीसमेत छाडेका थिए ।

त्यतिबेला उनले छोरालाई फिल्मको सुटिङ सेटमा समेत लैजाने गरेका थिए । घरमा परिवारका सदस्य र सहयोगी भए पनि लक्ष्यसँग सकेसम्म आफैँ समय बिताउन चाहन्थे ।

‘मिड-डे’सँगको कुराकानीमा उनले छोराको खानपानदेखि दिसा गर्ने समयसम्म आफूलाई थाहा हुने र उसको दैनिकीअनुसार आफ्नो समय मिलाउने गरेको बताएका थिए ।

विवाह नगरी पिता बन्ने निर्णय कसरी गरे ?

तुषारले विवाह नगरी पिता बन्ने निर्णय एकैपटक गरेका थिएनन् । उनी केही समयदेखि पिता बन्ने सोचमा थिए ।

तर विवाहको प्रतीक्षा गरेर सन्तान जन्माउने इच्छा पछाडि सार्न चाहेनन् ।

उनले ‘द इन्डियन एक्सप्रेस’सँगको कुराकानीमा आफूले समाजको दबाबमा जीवनका निर्णय लिन नचाहेको बताएका थिए । विवाह गर्नु वा नगर्नु आफ्नो व्यक्तिगत निर्णय भएको उनको धारणा थियो ।

उनको पिता बन्ने निर्णयमा निर्देशक प्रकाश झाको एउटा भेट पनि महत्त्वपूर्ण बन्यो ।

तिरुपति जाने क्रममा प्रकाश झासँग भएको कुराकानीले उनलाई विवाह नगरी पनि पिता बन्न सकिने विकल्पबारे सोच्न प्रेरित गरेको थियो ।

त्यसपछि उनले चिकित्सकसँग परामर्श गरेर सरोगेसीको प्रक्रिया अघि बढाएका थिए ।

छोरालाई धर्मपुत्रका रूपमा नभई जैविक सन्तानका रूपमा हुर्काउन चाहेकाले सरोगेसी रोजेको उनले सन् २०२० मा करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट वुमन वान्ट’मा बताएका थिए ।

छोरा नै जीवनको सबैभन्दा ठूलो प्राथमिकता

तुषारका लागि लक्ष्यको आगमनपछि जीवनको प्राथमिकता बदलियो । उनले छोराको हुर्काइलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएका छन् ।

उनले सन् २०२१ मा ‘हिन्दुस्तान टाइम्स’सँगको कुराकानीमा अभिभावकत्व भनेको बच्चाको न्याप्पी फेर्ने वा खाना खुवाउने काममा मात्र सीमित नहुने बताएका थिए ।

बच्चाको जीवनका हरेक चरणमा साथ दिनु, उसको विकासमा सहभागी हुनु र निःसर्त माया दिनु नै अभिभावकत्व भएको उनको धारणा थियो ।

तुषारले आफ्नो अनुभवलाई पुस्तकमा समेत उतारेका छन् । सन् २०२२ मा प्रकाशित उनको पुस्तक ‘ब्याचलर ड्याड’मा एकल पिता बनेपछिको अनुभव र छोराको हुर्काइका विभिन्न पक्ष समेटिएका छन् ।

अभिनय यात्राको कुरा गर्दा तुषारले सन् २००१ मा फिल्म ‘मुझे कुछ कहना है’बाट बलिउडमा डेब्यू गरेका थिए ।

पहिलो फिल्मबाटै उनले फिल्मफेयरको उत्कृष्ट नवअभिनेता अवार्ड जितेका थिए । ‘गोलमाल’, ‘द डर्टी पिक्चर’, ‘क्या सुपर कूल हैं हम’, ‘खाकी’ र ‘शूटआउट एट लोखंडवाला’ उनका चर्चित फिल्म हुन् ।

पछिल्लो समय तुषारले पिता बन्नुलाई आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै आएका छन् । उनका लागि फिल्मी पर्दामा पाएको सफलता एउटा पाटो हो भने छोरा लक्ष्यसँग बिताएको समय र उसको हुर्काइ अर्को महत्त्वपूर्ण संसार बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?