४ मंसिर, बाँके । चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको बताए ।
‘नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ’, उनले भने ।
रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पुर्याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताए ।
उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उनले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताए ।
उनले भने, ‘अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन ।’
उनले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताए ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवर्द्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताए ।
उनले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताए ।
४५ पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढन थालेको बताए ।
उनले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया 4